‘नेपाल इभी तथा नेपाल पावर लाइट एउण्ड इलेक्ट्रोनिक प्रदर्शनी’मेला आजदेखि सुरु

  • प्रकाशित मिति : शुक्र, भदौ १५, २०८०
  • - भीमलाल श्रेष्ठ
title

काठमाडौँ, १५ भदौ । भृकुटीमण्डप काठमाडौंमा आजदेखि तीन दिन सम्म चल्ने नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक, नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एन्ड होम अपलायनसेस तथा नेपाल ईभी अन्तराष्ट्रिय प्रदर्शनी सुरु भएको छ ।
 
विद्युतीय सवारी तथा सामग्रीका बारेमा जानकारी गराउने उद्देश्यका साथ सुरु भएको मेला ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मेलाको शुभारम्भ गर्नुभएको हो ।
 
मेलाको शुभारम्भ गर्नुहुँदै मन्त्री बस्नेतले ऊर्जामा आत्मनिर्भर हुँदै गएकाले विद्युतीय सवारी साधन र उपकरणको  प्रयोगलाई बढावा दिने उद्देश्यका साथ सरकारले आफ्ना नीति तथा कार्यक्रम अगाडि बढाएको जानकारी दिनुभयो ।
 
 
ऊर्जा क्षेत्रको समयानुकूल विकासका लागि सरकारले हालैमात्र नयाँ विद्युत् विधेयक तय गरेको र सङ्घीय संसद्मा पेस हुने चरणमा रहेको मन्त्री बस्नेतको भनाइ छ । विद्युतीय सवारीसाधनको प्रवद्र्धनका लागि देशभर नै चार्जिङ स्टेशनको निर्माणलाई अभियानका रुपमा अगाडि बढाउने लक्ष्यका साथ काम भइरहेको उहाँको भनाइ छ । 
 
प्रदर्शनीमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, यहाँस्थित भारतीय दूतावासका प्रतिनिधि लगायतको उपस्थिति थियो । आजदेखि तीन दिनसम्म चल्ने नेपाल पावर, लाइट एन्ड इलेक्ट्रिक, नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एन्ड होम अपलायन्सेस तथा नेपाल इभी अन्तर्राष्ट्रिय प्रदर्शनीमा विद्युतीय सामग्रीका बारेमा जानकारी लिन सकिने आयोजकलो जनाएको छ । 
 
 
आयोजकका अनुसार आफ्नै मुलुकमा बढ्दो उत्पादित जल विद्युतको विभिन्न विद्युतीय माध्यमहरूबाट उपभोग बढाई देशलाई आर्थिक रुपमा सबलीकरण गर्दै लान एवं ऊर्जा तथा विद्युतीय व्यवसायीहरूको समग्र विकास तथा व्यापार प्रवर्द्धनमा अत्यधिक टेवा पुर्‍याउने उद्देश्यका साथ यस प्रर्दशनीको आयोजना गरिएको हो । उक्त प्रर्दशनीमा स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढि कम्पनीहरूको स्टल रहेका छन् । 
 
 
तीनदिने उक्त प्रदर्शनी मिडिया स्पेस सोलुसन्स, फ्युचरेक्स ट्रेड फेर एन्ड इभेन्ट्स, एक्जिविसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्रालि तथा इलेक्ट्रिक भेइकल म्यानुफ्याक्चरर एन्ड इम्पोर्टर्स एशोसिएसन अफ नेपालको संयुक्त आयोजना रहेको छ । 
 
 
प्रदर्शनीमा विद्युतीय कार, विद्युतीय स्कुटर, मोटरसाइकल, विद्युतीय साइकल तथा रिक्सा, चार्जिङ स्टेसन, ब्याट्री, ट्रान्समिसन तथा डिस्ट्रिब्युसन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ सामग्री, वायर, केबल एवं कन्डक्टर, अत्याधुनिक प्रकारका स्विच, एलिडी लाइटिङ, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणहरू, कार्यालय प्रविधि तथा अन्य विद्युतीय सामग्रीका कम्पनीको सहभागिता रहेको उद्घाटनका क्रममा जानकारी दिइयो । प्रदर्शनीको सहयोगी संस्थामा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, नेपाल विद्युत् प्राधिकरणलगायत रहेका छन् । 

प्रतिक्रिया