भर्खरै

विद्युत् खेर जान नदिन प्राधिकरणले बढायो नयाँ खिम्ती सबस्टेसनको क्षमता

  • प्रकाशित मिति : बुध, असोज १०, २०८०
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं, १० असोज । नेपाल विद्युत प्राधिकरणले रामेछापको मन्थली नगरपालिका–१३ साँखे स्थित २२० केभी नयाँ खिम्ती सबस्टेसनको क्षमता वृद्धि गरेको छ ।
 
तामाकोशी, खिम्ती र लिखू नदी जलाधार क्षेत्रमा निर्माण भएका र हुने जलविद्युत् आयोजनाहरुबाट उत्पादित विद्युत् १३२ केभी प्रसारण लाइन हुँदै नयाँ खिम्तीमा समाहित हुँदा सबस्टेसनको क्षमताले नधान्ने अवस्था आएपछि सो सबस्टेसनको क्षमता वृद्धि गरेको हो ।
 
२२०/१३२ केभी सबस्टेसनमा जम्मा १०० एमभिए क्षमताको पावर ट्रान्सफर्मर मात्र रहेकोमा २०० एमभिएको अटो ट्रान्सफर्मर थप गरिएको छ । थप गरिएको ट्रान्सफर्मरलाई मंगलबार चार्ज गरी सञ्चालनमा ल्याइएको छ । योसँगै २००/१३२ केभी सबस्टेसनको क्षमता अभिबृद्धि भई ३०० एमभिए पुगेको छ । 
 
१३२ केभी प्रसारण लाइनबाट आएको विद्युतलाई नयाँ खिम्तीमा राखिएका ट्रान्सफर्मरबाट २२० केभीमा बढाएर खिम्ती–ढल्केबर २२० केभी प्रसारण लाइनमार्फत ढल्केबरतर्फ प्रवाह गरिने छ ।
 
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नयाँ खिम्ती सबस्टेसनमा राखिएका नयाँ ट्रान्सफर्मर  सञ्चालनमा आएसँगै लिखु नदी करिडोरमा सञ्चालित जलविद्युत् आयोजनाहरुले बेहोरिरहेको विद्युत् प्रवाहको समस्या समाधान भएको बताउनुभयो । कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, ‘नयाँ ट्रान्सफर्मर सञ्चालनमा आएसँगै सबै समस्या समाधान भएका छन्, पूर्वाधार अभावमा विद्युत् प्रवाह हुन नसक्ने अवस्थाको अन्त्य भएको छ, नयाँ आयोजनाहरु आउँदा पनि समस्या पर्दैन, अब भारतर्फ विद्युत् निर्यातको परिमाणसमेत बढ्ने छ ।’
 
 
नयाँ खिम्तीको सबस्टेसनको क्षमताले नधानेपछि लिखू करिडोरमा निर्माण भएका केही जलविद्युत् आयोजनाहरुको विद्युत् अल्पकालिन योजना अन्तर्गत जोड्ने व्यवस्था गरिएको थियो ।
 
२२० केभीको नयाँ खिम्ती सबस्टेसन माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले निर्माण गरेको थियो । उक्त आयोजनाले १०० एमभिएको मात्र पावर ट्रान्सफर्मर राखेको थियो । स्थानीय रुपमा विद्युत आपूर्तिका लागि निर्माण गरिएको १३२/३३/११ केभीको सबस्टेसन गत असारबाट सञ्चालित छ । नयाँ खिम्तीमा १३२/३३ केभीको सबस्टेसन पूर्वाधार निर्माण आर्थिक वर्ष २०७६/७७मा सुरु गरिएको थियो । सबस्टेसनको लागत करिब ८० करोड रुपैयाँ रहेको छ ।

प्रतिक्रिया