नेपालमा भोलिदेखि चट्याङ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन, विभिन्न देशका विज्ञसहितको सहभागिता हुने

  • प्रकाशित मिति : मंगल, असोज १६, २०८०
  • - विद्युत संसार
title

काठमाडौँ, १६ असोज । नेपालमा चट्याङ र यसको रोकथामका विषयमा भोलिदेखि तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । ललितपुरमा हुने सम्मेलनमा नेपाललगायत विभिन्न देशका विज्ञसहित एक सय जनाको सहभागिता रहने छ । सम्मेलनमा ४४ जनाले शोधपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको चट्याङविद् प्राडा श्रीराम शर्माले जानकारी दिनुभयो ।
 
सम्मेलनमा भारत, अमेरिका, ब्राजिल, फ्रान्स, स्वीडेन, इजरायल, अष्ट्रेलिया, बङ्गलादेश, पाकिस्तानलगायतका देशबाट विज्ञको सहभागिता रहने उहाँको भनाइ छ । यही असोज १९ गतेसम्म चल्ने सम्मेलनमा विश्वमा चट्याङको अवस्था, रोकथामका लागि गरिएका प्रयास र नीति निर्माताले सम्बोधन गर्नुपर्ने विषय बारेमा छलफल हुने छ ।
 
मुख्य गरी यस सम्मेलनले नीति निर्माणका सहयोग गर्ने गरी रणनीति तय गर्ने चट्याङविद् डा शर्माको भनाइ छ । उहाँका अनुसार प्रस्तुत हुने ४४ शोधपत्रमध्ये २८ वटा नेपालकै रहने छ । नेपालमा चट्याङ्सम्बन्धी सूचना प्रणालीहरु छैनन् भने रोकथामका लागि खास काम पनि हुन सकेको छैन । अनुसन्धान भएका मुलुकमध्ये नेपाल चट्याङको चौथो उच्च जोखिममा  पर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया