भर्खरै

प्रतिनिधिसभा बैठक: उपभोक्ता बजार नियमन र अनुगमनको माग

  • प्रकाशित मिति : आइत, असोज २१, २०८०
  • - विद्युत संसार
title

काठमाडौँ, २१ असोज । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले चाडबाडको समयमा भएको मूल्यवृद्धि, कालोबजारी, कृत्रिम अभाव, न्यून गुणस्तरलगायतका विषय सम्बोधन गर्नका लागि संसद्मार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 
 
उपभोक्ता बजार अनुगमन, सवारी टिकटको सहज व्यवस्थापन, दैनिक उपभोग्य वस्तुको पर्याप्त आपूर्ति, शान्ति सुरक्षा कायम गर्नेलगायतका विषयमा सांसदहरुले बोल्नुभएको हो । 
 
त्यस्तै, प्यालेस्टाइनको लडाकू समूह हमासले इजरायलमा गरेको आक्रमणमा परेका नेपालीको उद्धार र स्वास्थ्योउपचारमा पनि गम्भीर हुन उहाँहरुले सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद बिजुला रायमाझीले आम उपभोक्ताले चर्को महँगी, कालोबजारी र गुणस्तरहीन वस्तुको समस्या भोग्नु परेको, यातायात सुविधा सहज हुन नसकेको, सडक छेउका होटलमा अखाद्य सामग्री बिक्री वितरण भइरहेको विषय उठाउनुभयो ।
 
सांसद बिनिता कुमारी सिंहले खाद्यजन्य वस्तुमा प्रयोग हुने हानिकारक विषादी भइरहेको विषय उठाउनुभयो । फलफूल, तरकारीमा र खाद्य सामग्रीमा विषादी परीक्षण बढाउनुपर्ने उहाँको भनाइ छ  । सांसद शान्ति विकले चरम मूल्यवृद्धि जनताले धान्न नसक्ने अवस्थामा पुगेको बताउनुभयो । आर्थिक मन्दिका कारण बजार माग घटेको तर मूल्यवृद्धि भएको उहाँको भनाइ छ । त्यस्तै, अहिले किसानले दूधको मूल्य नपाएको पनि उहाँले संसद्मा उठाउनुभयो ।
 
सांसद शान्ति श्रेष्ठले दसैँ, तिहारलगायत चाडबाड मान्न घर जानका लागि महँगो सवारी टिकट काट्नुपर्ने अवस्थाको अन्त्य गरिनुपर्ने माग गर्नुभयो । त्यस्तै, धेरै यात्रु बोक्ने सवारी साधनलाई कारबाही र सडकको अवस्था सुधार गर्न पनि सम्बन्धित निकायको ध्यानाकर्षण गर्नुभयो । 
 
सांसद सीता मिजारले बजारमा कृत्रिम अभाव, कालोबजारी, एकाधिकार, सवारी टिकट अभावको समस्यालगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद बिना लामाले देशका दुर्गम स्थानमा खाद्य आपूर्ति सहज बनाउन संसद्मार्फत् सरकारको ध्यानाकर्षण गर्नुभयो ।
 
सांसद सूर्यमान तामाङ दोङले चाडपर्वका बेला नागरिक झन् सास्तीमा परेको बताउनुभयो । ठेकेदारको कमजोरीले देशका विभिन्न स्थानमा सडक अलपत्र परकोे र निर्माण व्यवसायीले पाउनुपर्ने भुक्तानी पाउन नसकेको विषय पनि उहाँले संसद्मा उठाउनुभयो । 
 
सांसद शिशिर खनालले इजरायलमा भएको आक्रमण र त्यहाँ रहेको नेपालीको अवस्थाको विषय उठाउनुहुँदै तत्काल अवस्थाको यकिन जानकारी लिनुपर्ने र उद्धार थाल्नुपर्ने बताउनुभयो । सांसद हितराज पाण्डेलले पनि इजरायलमा भइरहेको युद्धमा परी घाइते भएका नेपालीको उद्धारमा राज्यले गम्भीरता देखाउनुपर्ने बताउनुभयो ।
 
 सांसद ज्ञानबहादुर शाहीले विदेशमा अलपत्र परेका नागरिकलाई उद्धार गर्नका लागि सरकारले गम्भीर पहल गर्नुपर्ने बताउनुभयो । सांसद ज्ञानु बस्नेत सुवेदीले पनि इजरायलमा रहेका नेपालीको उद्धारका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद बिना जैसवालले मिटरब्याज पीडितको समस्या अझै समाधान नभएको विषय संसद्मा उठाउनुभयो । सरकारले मिटरब्याज पीडितका समस्या समाधान सम्बन्धमा अध्यादेश ल्याएको भए पनि त्यो पीडितका पक्षमा देखिन नसकेको उहाँको भनाइ छ । 
 
सांसद शेरबहादुर कुँवरले गत मङ्गलबार बझाङ केन्द्रबिन्दु भएर छ दशमलव तीन रेक्टरस्केलको भूकम्पबाट पीडित परिवारलाई राहत तथा पुनःस्थापनाको काम तत्काल अघि बढाउन सरकारको ध्यानाकर्षण गर्नुभयो ।
 
सांसद शोभा ज्ञवालीले संसद्को प्रभावकारिता देखिन नसकेको बताउनुभयो । संसद्मा सांसदले प्रश्न गर्ने र मन्त्रीले जवाफ दिने तर संसद्मा उठेका विषयको प्रभावकारिता देखिन नसकेको उहाँको भनाइ छ । त्यस्तै, सदनमा पटक–पटक एउटै विषय दोहो¥याउनु परेको अवस्था रहेको ज्ञवालीले उल्लेख गर्नुभयो ।
 
सांसद सराज अहमत फारुकीले नेपालको जनशक्ति विदेशिने क्रम बढेको बताउनुहुँदै स्वदेशमै रोजगारीको सिर्जना गर्न सरकारको ध्यानाकर्षण गर्नुभयो । त्यस्तै, पछिल्लो समय विभिन्न धार्मिक हिंसा बढेको विषयमा सरकार गम्भीर हुनुपर्ने बताउनुभयो । सांसद शङ्कर भण्डारीले आर्थिक सुशासनको विषय उठाउनुभयो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बेनामे उजुरी पर्ने गरेका कारण विकासको प्रक्रिया अस्तव्यस्त हुन पुगेको बताउनुभयो ।
 
 जुनसुकै विषयमा बिना तथ्य बेनामे उजुरी पर्दा समस्या देखिएको उहाँको भनाइ छ । सांसद सरिता भुसालले मदरसा शिक्षालाई राज्यको मूलधारमा ल्याउनुपर्ने बताउनुभयो । सरकारले तोकेको धानको समर्थन मूल्य किसानले नपाएको विषय उठाउनुहुँदै सांसद शान्ति चौधरीले सरकारले नै तत्काल किसानको धान खरिद गर्नुपर्ने बताउनुभयो ।
   
  सांसद सुनिता बरालले नेपालमा आउने पर्यटकमध्ये धेरैजसो पोखरा घुम्न आउने गरेको र त्यहाँ जानका लागि सहज यातायात सुविधा नरहेको विषय उठाउनुभयो । त्यस्तै, हवाई टिकटको मूल्य बढेको विषयमा पनि उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।
 
सांसद सूर्यकुमारी श्रेष्ठले नेपालको जनशक्ति विदेशिनुमा कृषि क्षेत्रमा सुधार हुन नसक्नु मुख्य कारण रहेको बताउनुभयो । बङ्गलादेशले कृषि क्रान्तिमार्फत् आर्थिक समृद्धि हासिल गरिरहेको उल्लेख गर्नुहुँदै उहाँले नेपालले पनि कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर युवाशक्ति विदेश जानबाट रोक्नुपर्ने बताउनुभयो ।  
   
  सांसद सोनु मुर्मुले इञ्जिनियरिङ अध्ययन संस्थानले शूल्क बढाएको विषय संसद्मा उठाउनुभयो ।  सांसद हरि ढकालले भूमिहीन र सुकुम्बासीका समस्याका विषय संसद्मा उठाउनुभयो । अहिले भ्रष्टाचार र घुसखोरीका घटना स्थानीय तहमा बढी देखिरहेको बताउनुहुँदै सांसद हेमराज राईले नागरिकले सुविधा पाउन सकस हुने गरेको उल्लेख गर्नुभयो ।
     
सांसद हृदयराम थानीले सुर्खेत विमानस्थलको धावनमार्ग विस्तार आवश्यक रहेको विषय संसद्मा उठाउनुभयो । सांसद विद्या भट्टराईले वीर अस्पतालका दुई सय ३० जना डाक्टरलाई हटाउने निर्णय फिर्ता लिन संसद्मार्फत् सरकारको ध्यानाकर्षण गर्नुभयो । कोभिड(१९ महामारीका समयमा नियुक्त गरिएका ५० जना डाक्टर, एक सय ६२ नर्स, ११ प्रयोगशाला प्राविधिक र सात जना रेडियोलोजिस्टलाई असोज २१ गतेबाट काममा नआउनु भनेर निर्देशन दिएको विषय उहाँले उठाउनुभयो । आर्थिक अवस्थालाई देखाएर वीर अस्पतालको स्वास्थ्य सेवा नै खल्बलिने गरी सरकारले यस्तो निर्णय लिन नहुने उहाँको भनाइ छ ।

प्रतिक्रिया