भर्खरै

भोजपुरको खोक्सिक र बाउराङमा विद्युत् सेवा विस्तार

  • प्रकाशित मिति : मंगल, मंसिर १२, २०८०
  • - विद्युत संसार
title

भोजपुर, १२ मङ्सिर । भौगोलिकरूपमा विकट मानिने रामप्रसादराई गाउँपालिकाको खोक्सिक र बाउराङ गाउँमा बिजुली बत्ती बलेको छ । रामप्रसादराई–८ मा पर्ने यी स्थानमा वडा कार्यालयले विद्युत् विस्तार गरेको हो ।
 
विद्युत् विस्तार भएपछि वर्षौँदेखि विद्युत् उपयोग गर्न नपाएका स्थानीयलाई सहज भएको छ । कुटानी पिसानीलगायतसँगै दैनिक कामकाजमा सहज भएको स्थानीयवासी दिलकुमार योगीले बताउनुभयो । यहाँका स्थानीयलाई अहिले विभिन्न विद्युतीय उपकारण जोडेर आफ्ना काम गर्न सक्ने वातावरण बनेको उहाँको भनाइ छ । 
 
“विद्युत् बल्न थालेपछि दैनिक जीवन सहज बनेको छ”, उहाँले भन्नुभयो, “पारि भोजपुर सदरमुकाम झलमल्ल हुँदा हाम्रो ठाउँ अँध्यारो हुन्थ्यो । वडाको पहलमा हाम्रो ठाउँमा विद्युत् बल्यो धेरै खुसी लागेको छ ।”
 
विद्युतले जीवन गुजारा गर्न सहजता थपिएको स्थानीयवासी रुपमान श्रेष्ठले बताउनुभयो । विद्युत् विस्तार भएपछि दैनिक काममा सहजतासँगै सूचनाको पहुँचमा जोडिन सहज भएको उहाँको भनाइ छ । विद्युत् विस्तारपछि नेट, इन्टरनेट, टेलिभिजन प्रयोग गर्दै आफ्नै घरमा बसेर देश–विदेशको जानकारी लिने गरेको उहाँले बताउनुभयो । 
 
“लामो समयदेखि हामीले धेरै दुःख भोग्दै आएका थियौँ”, उहाँले भन्नुभयो, “विद्युत् विस्तारपछि इन्टरनेटसँगै रेडियो, टिभीको माध्यमबाट देश–विदेशका सूचना थाहा पाउन सहज भएको छ । वडा कार्यालयको पहलमा भएको कामले हामी धेरै खुसी छाँै ।”
 
भौगोलिकरूपमा विकट रहेका यी स्थानमा लामो समयको मेहनतपछि विद्युत् विस्तार गर्न सफल भएको वडाध्यक्ष बाचकुमार राईले बताउनुभयो । वडाको कुनै पनि ठाउँमा विद्युत् नपुगेको अवस्थामा वडा केन्द्रसम्म विद्युत् विस्तार गर्न सफल भएको उहाँको भनाइ छ ।
 
“हाम्रो वडा भौगोलिकरूपमा निकै विकट छ”, वडाध्यक्ष राईले भन्नुभयो, “विद्युत् नहँुदा स्थानीयलाई धेरै नै समस्या छ । अहिले हामीले पहिलो प्राथमिकतामा राखेर विद्युत्को काम अघि बढाएका छौँ । अथक प्रयासपछि दुई स्थानका स्थानीय अहिले विद्युत्को पहँुचमा जोडिएका छन् ।”
 
सीमित स्रोतसाधनको अधिकतम् उपयोग गर्दै जनतालाई दिएको बचन पूरा गरिरहेको वडाध्यक्ष राईको भनाइ छ । यहाँका सबै घरपरिवारमा आगामी वर्षभित्र विद्युत् विस्तार गरिसक्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । विद्युत् विस्तारका लागि वडाले रु १२ लाख बजेट विनियोजन गरेर तार खरिद गर्ने तयारी गरेको वडाध्यक्ष राईले बताउनुभयो । 
 
“जनतालाई दिएको बचनअनुसारको काम अघि बढाएको छु”, उहाँले भन्नुभयो, “कतिपय काम वडाको एक्लो प्रयासले मात्र गर्न पनि सम्भव छैन । बजेट सीमित छ । तर पनि वडाको बजेटसँगै स्थानीयसँग आफैँ श्रमदानमा जोडिएर हालसम्म ४०  प्रतिशत बढी जनतालाई विद्युत् बाल्ने वातावरण तयार गरेका छौँ । आगामी वर्षभित्र सबै क्षेत्रमा विद्युत् पुर्याउने मेरो लक्ष्य छ ।”
 
अहिले बाक्चखा र भञ्याङमा विद्युत् विस्तारको काम भइरहेको वडाध्यक्ष राईको भनाइ छ । आगामी माघसम्ममा यहाँका एक सय ५० घरपरिवारमा विद्युत् विस्तार गरिसक्ने अध्यक्ष राईले जानकारी दिनुभयो । यो वडामा जम्मा  तीन सय ५६ घरपरिवार रहेका छन् । 
 
वडा कार्यालयले सडक, कृषि खानेपानी, रोजगारीको क्षेत्रमा  पनि प्राथमिकताका साथ काम गरिरहेको वडाध्यक्ष राईले बताउनुभयो । किसानलाई कृषिमा आत्मनिर्भर बनाउन आवश्यक तालिमसँगै पाँच सय दन्तेओखरको बिरुवा वितरण गरेको उहाँको भनाइ छ ।
 
पन्ध्र जनालाई हाउसवायरिङ र २५ महिलालाई सिलाइकटाइसम्बन्धी तालिम दिइएको छ । किसानलाई व्यावसायिक तरकारी खेती तथा बाख्रापालनसम्बन्धी तालिम दिएको वडा कार्यालयले जनाएको छ । तालिम पाएसँगै किसान व्यावसायिक तरकारी खेतीमा लागेको उहाँको भनाइ छ । स्थानीयको आवश्यकताका आधारमा विभिन्न सीपमूलक तालिम सञ्चालन गरिएको वडा कार्यालयले जनाएको छ ।

प्रतिक्रिया