भर्खरै

संरक्षण अभावमा जीर्ण बन्दै गर्भा दरबार

  • प्रकाशित मिति : मंगल, मंसिर १२, २०८०
  • - विद्युत संसार
title

गोदावरी (कैलाली), १२ मङ्सिर । चुरे गाउँपालिका–४ खैरालामा रहेको गर्भा दरबार संरक्षण अभावमा जीर्ण बन्दै गएको छ । विसं १९८४ मा खड्कशमशेर जङ्गबहादुर राणाले निर्माण गर्नुभएको ऐतिहासिक राणाकालीन दरबारको संरक्षण अभावमा जीर्ण बन्दै गएको हो ।
 
सरोकारवाला निकायको बेवास्ताका कारण ऐतिहासिक महत्व र पर्यटकीय सम्भावना बोकेको राणाकालीन ऐतिहासिक दरबार खण्डहरमा परिणत हुँदै गएकोमा स्थानीयले चिन्ता प्रकट गरेकाछन् । स्थानीय कृष्णबहादुर मल्लले दरबार संरक्षणमा कसैबाट पहल भएको देखिँदैन । स्थानीयबाट दरबारको संरक्षणमा ध्यान दिन सरोकारवाला निकायसँग आग्रह गर्दै आए पनि सुनुवाइ नभएको उहाँको भनाइ छ । 
 
दरबार जीर्ण हुँदै जाँदा भवनमा पानी चुहिएर पर्खाल भत्किसकेको छ । दरबारका कलाकृति जडित भित्ता २०५५ सालदेखि भत्किन सुरू भएको उहाँको भनाइ छ । राणाकालमा निकै चहलपहल हुँदै आएको गर्भा दरबारमा त्यो चहलपहल २०३२ सालसम्म मात्रै रह्यो । हावापानी, मौसम र भौगोलिकरूपमा उपयुक्त भएकाले राणाहरुले गर्भालाई रोजेको हुनसक्ने बुझाइ स्थानीयको छ । मास पिसेर त्यसबाट चुना लगाई निर्माण गरिएको गर्भा दरबारमा ८३ झ्याल र ५३ ढोका छन् । १० रोपनी क्षेत्रफलमा फैलिएको सो दरबार तीन खण्ड र तीन तले छ ।
 
दरबारभित्र सुरुङसमेत बनाइएको छ । सुरुङ अहिले पुरिएको छ । राणाहरु खैरालाको दरबारबाट डोटी बर्छेनको च्यूरी, मान्नाकापडीको भट्टेबाटा, गड्सेराको उदैनी, तेलेको जल्फुमा बास बस्दै डोटीको सिलगढी पुग्ने गरेको बताइन्छ ।
 
ऐतिहासिक महत्व बोकेको दरबारको मर्मतसम्भारमा सरकारी निकाय र राजनीतिक दलको ध्यान पुग्न सकेको छैन । चुरे गाउँपालिकाले गर्भा दरबारलाई ऐतिहासिक पर्यटकीय क्षेत्रका रूपमा राखेको गाउँपालिका अध्यक्ष चक्रबहादुर बोगटीले बताउनुभयो । दरबार संरक्षणका लागि पालिकासँग पर्याप्त बजेट नहुँदा प्रदेश र केन्द्र सरकारसँग बजेट माग गरिँदै आएको उहाँको भनाइ छ ।
 
प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री दीर्घ सोडारीले दरबार संरक्षणका लागि सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷७६ मा रु ६० लाख आव २०७६/७७ मा रु ५० लाख बजेट विनियोजन गरे पनि प्राविधिक कठिनाइका कारण बजेट कार्यान्वन हुन नसकेको बताउनुभयो । उहाँले सो दरबार पुरातत्व विभाग अन्तर्गत पर्ने भएकाले आफू मन्त्री हुँदा दरबार संरक्षणका लागि विभागको टोली ल्याएर संरक्षणका लागि स्थलगत अवलोकन गराएको बताउनुभयो ।

प्रतिक्रिया