भर्खरै

ठमेलका चोकमा सिसी क्यामरा जडान

  • प्रकाशित मिति : बिही, मंसिर २१, २०८०
  • - विद्युत संसार
title

काठमाडौँ, २१ मङ्सिर । राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलका चोकमा सिसि क्यामरा जडान सुरु गरिएको छ । 
 
ठमेल पर्यटन विकास परिषद्को पहल तथा काठमाडौँ महानगरपालिका र काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीको सहयोगमा ठमेलका प्रत्येक चोकमा सिसी क्यामरा जडान गरिएको हो ।
 
परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेल क्षेत्रको शान्तिसुरक्षा बलियो बनाइ यस क्षेत्रलाई सफा, सुन्दर, सुरक्षित र व्यवस्थित बनाउनका लागि सिसी क्यामरा जडान सुरु गरिएको जानकारी दिनुभयो ।
 
अध्यक्ष शर्माले ठमेलभित्रको लैनचौर मार्ग, क्षेत्रपाटी मार्ग, नर्सिङ चोक मार्ग, भगवती बहाल मार्ग, चाक्सीबारी मार्ग, सातघुम्ती मार्ग, जेपी लाइन मार्ग र पर्यटन मार्गभित्र ८० सिसी क्यामरा जडान गरिएको बताउनुभयो । “चार ठूला क्यामरासहित एक सय १२ सिसी क्यामरा जडान गर्नेगरी काम भइरहेको छ, हाल ८० क्यामरा जडान गर्ने कार्य सम्पन्न भएको छ”, अध्यक्ष शर्माले भन्नुभयो ।
 
ठमेल क्षेत्रभित्र सिसी क्यामरा जडान गर्न यसअघि काठमाडौँ महानगर प्रहरी, काठमाडौँ उपत्यका प्रहरी कार्यालय र ठमेल पर्यटन विकास परिषद्का प्रतिनिधिले ठमेल क्षेत्रभित्र आवश्यक पर्ने सिसी क्यामराको अध्ययन गरेको थियो ।
 
परिषद्का उपाध्यक्ष सहदेव धमलाले ठमेल क्षेत्रमा हुने आपराधिक क्रियाकलापलाई नियन्त्रणका लागि सिसि क्यामराले सहयोग पुग्ने बताउनुभयो । विसं २०४७ मा ठमेल क्षेत्रको विकासका लागि स्थापना भएको परिषद्मा ठमेलभित्रका दुई हजारभन्दा बढी घरधनी तथा व्यवसायी आबद्ध छन् । उक्त परिषद्ले ठमेल क्षेत्रको विकासका क्षेत्रमा काम गर्दै आइरहेको छ ।
 
यस्तै परिषद्ले ठमेलभित्रका प्रत्येक गल्लीलाई कालोपत्र गर्नका लागि सम्बन्धित निकायसँग पहलकदमी लिँदै आएको छ भने प्रत्येक बिजुलीका खम्बामा सडक बत्ती जडानको कामलाई समेत अगाडि सारेको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार