भर्खरै

सिँचाइको विद्युत् महसुल नगरपालिकाले बेहोर्ने, किसानमा छायो खुसीयाली

  • प्रकाशित मिति : आइत, पौष १, २०८०
  • - विद्युत संसार
title

गोलबजार (सिराह), १ पुस । सिँचाइका लागि प्रयोग हुने विद्युत्को महसु स्थानीय तहले बेहोर्ने भएपछि यहाँका किसान खुसी भएका छन् । यहाँको खडक नगरपालिकाले किसानले खेती सिँचाइका लागि प्रयोग हुने विद्युत् महसुल बेहोर्ने निर्णय गरेपछि किसान खुसी भएको नगरप्रमुख जयप्रकाश चौधरीको भनाइ छ । 
 
चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअनुरूप कृषि सिँचाइ मिटरको बिल नगरपालिकाले भुक्तानी गर्न लागिएको उहाँको भनाइ छ । नगरप्रमुख चौधरीले किसानलाई प्रोत्साहन गर्न तथा कृषि क्षेत्रमा आधुनिकीकरण गर्ने उद्देश्यले ‘कृषि मिटरको विद्युत् महसुल भुक्तानी गर्ने कार्यक्रम’ अन्तर्गत उक्त निर्णय गरिएको बताउनुभयो । 
 
“अहिलेसम्म कृषि सिँचाइको विद्युत् महसुल आफैले तिर्दै आएका थियौँ”, वडा नं १० फूलबरीयाका किसान अशोक यादवले भन्नुभयो, “अब नगरपालिकाले नै महसुल तिरिदिने भएपछि खेतीको लागत कम हुनेछ ।”
 
वडा नं १ सिस्वाका किसान मञ्जिलादेवी मण्डलले नगरपालिकाको उक्त निर्णयले आफूहरुलाई सहज भएको बताउनुभयो । “समयमै वर्षा नहुँदा सिँचाइका लागि डिजेलपम्प चलाउँदा खर्च बढी हुन्थ्यो”, उहाँले भन्नुभयो, “सिँचाइका लागि विद्युत् निःशुल्क उपभोग गर्न पाउने भएपछि खर्च कम हुनेभएका छ ।”
खडक नगरपालिकाले सुरु गरको ‘कृषि मिटरको विद्युत् महसुल भुक्तानी गर्ने कार्यक्रम’ स्थानीय सरकारले सञ्चालन गरेको योजनामध्ये नमुना भएको वडा नं ११ का सूर्यनारायण रामको भनाइ छ । 
 
खडक नगरकार्यपालिकाको गत मङ्सिर २६ गतेको बैठकले नगरपालिकाभित्रका सम्पूर्ण सडक बत्ती तथा कृषि सिँचाइ मिटरको बिल आगामी माघदेखि नगरपालिकाले भुक्तानी गर्ने निर्णय गरेको थियो ।
 
पुस मसान्तसम्मको महसुल किसान आफैँले भुक्तानी गर्ने र आगामी माघदेखिको महसुल नगरपालिकाले तिर्ने निर्णय भएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चन्द्रप्रसाद चौधरीले जानकारी दिनुभयो । “सिँचाइमा दिइने अनुदानले उत्पादन बढ्ने र किसानको आर्थिक अवस्थामा पनि सुधार आउने विश्वास लिएका छौँ”, उहाँले भन्नुभयो, “कृषि क्षेत्रको विकास र विस्तारका लागि नगरपालिकाले ठोस् योजनासहित अघि बढेको छ ।” 

प्रतिक्रिया