भर्खरै

समयसापेक्ष शिक्षा नीति परिमार्जन हुनुपर्दछः मन्त्री आले

  • प्रकाशित मिति : मंगल, पौष ३, २०८०
  • - विद्युत संसार संवाददाता / गोविन्द पौडेल
title

तनहुँ, ३ पुस । गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री जितप्रकाश आलेले पुरानै ढाँचामा चलेका सामुदायिक विद्यालयले विद्यार्थी आकर्षित गर्न नसकेको बताउदै समयसापेक्ष शिक्षा नीति परिमार्जन हुनुपर्ने धारणा राख्नुभएको छ । 
 
तनहुँको व्यास नगरपालिका वडा नं ९ गजौडे झिनुवाटर स्थित माहेन्द्री माध्यमिक विद्यालयको आइतबार ५०औँ वार्षिकोत्सव तथा स्वर्ण महोत्सव प्रारम्भ समारोहमा उहाँले यस्तो बताउनुभएको हो । 
 
विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा मन्त्री आलेले देशभरका समुदायिक विद्यालयको अवस्था कमजोर बन्दै गइरहेको वर्तमान अवस्था प्रति चिन्ता व्यक्त गर्दै उहाँले अब समयको माग अनुसार नै शैक्षिक तथा भौतिक पूर्वाधार बनाउनुपर्ने भनाई राख्नुभएको थियो । 
 
साथै प्रदेश सरकारले स्रोत, साधनको अधिकतम परिचालन गरि जनताका आवश्यकता पूर्तिका लागि योजना ल्याएको उहाँले बताउनुभयो । “बिगतका बजेटमा भएका फजुल खर्च कटौती गरि अहिलेको बजेट प्रतिफल र उत्पादकत्व वृद्धि गराउने क्षेत्रमा बढी परिचालन गरेका छौँ, आगामी बजेटमा यसलाई अझै व्यवस्थित बनाउदै लग्नेछौँ” उहाँले भन्नुभयो ।
 
 योजना बैंक बनाएर संघ, प्रदेश र स्थानीय तहले सम्पन्न गर्ने योजना नदोहोरिने गरि काम गर्ने तयारी भइरहेको पनि उहाँले जानकारी दिनुभयो । विद्यालयको शैक्षिक तथा भौतिक गुणस्तर वृद्धि गराउने काममा रचनात्मक सहयोग गर्ने प्रतिवद्धता समेत उहाँले व्यक्त गर्नुभयो । 
 
सोही अवसरमा गण्डकी प्रदेश सभाकी पूर्व सदस्य सरिता गुरुङले माहेन्द्रीमा शिक्षाको गुणस्तर अभिवृद्धी गर्न र सकारात्मक शैक्षिक वातावरण बनाउन सबैको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । साथै आफु यसै विद्यालयको पूर्व विद्यार्थी भएकाले पनि यसको सुधार र बिकासमा सधैं तत्पर रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । 
 
कार्यक्रममा संविधान सभा सदस्य रामचन्द्र पोख्रेलले माहेन्द्री मावि कलेस्ती उपत्यकाकै अग्रणी शैक्षिक संस्था भएकाले पनि यसको भौतिक संरचनासँगै शैक्षिक गुणस्तरका लागि सबैको एकता आवश्यक रहेको बताउनुभयो । व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले भौतिक सुधारमा उल्लेखनीय काम भए पनि शैक्षिक गुणस्तर हासिल गर्न सक्नु विद्यालयको प्रमुख चुनौतिको रुपमा देखिएको बताउनुभयो ।  शैक्षिक सुधारका लागि विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी, अभिभावकको उत्तिकै लगन र परिश्रम आवश्यक पर्ने भन्दै यसका लागि सबैले समन्वय र सहकार्य गर्न उहाँको अनुरोध थियो । 
 
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणदत्त पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडाध्यक्ष सुरेश थापा, जिल्ला शिक्षा तथा समन्वय ईकाइ प्रमुख  उद्धवराज कट्टेल, वरिष्ठ इन्जिनियर हरिदत्त पौडेल, पूर्व शिक्षक एवम् व्यवस्थापन समितिका पूर्व अध्यक्ष रुपबहादुर अधिकारी, विद्यालय व्यवस्थापन समितिका सदस्य राजु आचार्य, राजापानी दिगो बिकास समाजका अध्यक्ष भक्तबहादुर गोदार, विद्यार्थी समृद्धि आचार्य लगायतले अभिभावकको विश्वास जित्ने गरि शैक्षिक गुणस्तर अभिवृद्धि गरि त्यस ठाउँका बालबालिका त्यही विद्यालयमा पढाउने वातावरण बनाउन स्कुल सफल हुनुपर्ने धारणा राख्नुभएको थियो । अभिभावकले अन्यत्र विद्यार्थी पठाउने समस्या अन्त्यका लागि सबैको पहल र समन्वय आवश्यक रहेको उहाँहरुको भनाइ थियो । 
 
कार्यक्रममा विद्यालयका प्राधानाध्यापक शिवशंकर आचार्यले विद्यालयको भौतिक तथा शैक्षिक प्रगति विवरण प्रस्तुत गर्नु भएको थियो भने शिक्षक तथा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक प्रस्तुती राखेका थिए । सोही अवसरमा विभिन्न कक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने, जेहेनदार तथा विपन्न बालबालिकालाई विभिन्न शीर्षकमा स्थापित छात्रवृत्ति अक्षषकोषको छात्रवृत्ति समेत वितरण गरिएको थियो । सोही अवसरमा विद्यालयमा अक्षयकोष स्थापना गरि सहयोग गर्ने तथा अन्य विभिन्न क्षेत्रबाट सहयोग गर्ने व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको विद्यालयले जनाएको छ । 
 
विद्यालयको ५०औँ वार्षिकोत्सव तथा स्वर्ण महोत्सव प्रारम्भ समारोह आइतबार विभिन्न कार्यक्रम गरि मनाइएको छ । विद्यालयले यो पुरै वर्षलाई स्वर्ण जयन्तीको रुपमा विभिन्न कार्यक्रम गरि मनाउने भएको छ । आइतबार प्रारम्भ भएको स्वर्ण जयन्तीको कार्यक्रम ०८१ पुस १ गते विशेष समारोह गरि सम्पन्न गरिने विद्यालयले जनाएको छ ।
 

स्वर्ण जयन्ती स्तम्भ शिलान्यास

विद्यालयको ५०औँ वाषिकोत्सव तथा स्वर्ण महोत्सव प्रारम्भको अवसरमा मन्त्री आलेले स्वर्ण जयन्ती स्तम्भ शिलायन्स गर्नुभएको छ । विद्यालयमा विभिन्न समयमा अध्ययन गरेका विद्यार्थीहरुबाट आर्थिक संकलन गरि स्वर्ण जयन्ती स्तम्भ निर्माण गर्न लागिएको पूर्व विद्यार्थी समाज माहेन्द्री माविका अध्यक्ष उद्धवराज कट्टेलले जानकारी दिनुभयो । सरस्वती माताको मूर्ति सहित आकर्षक ढंगको स्मारक निर्माण गरिने बताइएको छ । 
 
 
समाजले विद्यालयको मुल प्रवेशद्धार निर्माणका लागि पनि सहयोग गर्नेछ । विद्यालयको प्रवेशद्धार साघुरो र जिर्ण भएकाले यसको पुननिर्माणका लागि पुर्व विद्यार्थी समाजले सहयोग गर्ने बताइएको छ । साथै प्रवेशद्धारको बाटोमा टायल लगाउने वा ढलान गर्ने काम पनि समाजले गर्नेछ । 
 
 विद्यालयको इतिहास झल्किने गरि प्रकाशन गर्न लागिएको स्वर्ण महोत्सव स्मारिकाको सम्पुर्ण प्रकाशन खर्च पनि पुर्व विद्यार्थी समाजले गर्ने तय भएको अध्यक्ष कट्टेलले बताउनुभयो । त्यस्तैगरि स्वर्ण महोत्सवको सन्दर्भमा आयोजना हुने अतिरिक्त क्रियाकलापको पुरस्कार, मेडल र प्रमाणपत्र पनि समाजले सहयोग गर्ने बताइएको छ । 
 
पुर्व विद्यार्थी समाजको जिम्मा पाएको सम्पुर्ण कार्य सम्पन्न गर्न करिब १० देखि १२ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको समितिका उपाध्यक्ष एवम् अर्थ संकलन समितिका संयोजक भक्तबहादुर गोदारले जानकारी दिनुभयो । अहिले समाजको नाममा ग्लोबल आइएमइ बैंकमा खाता सञ्चालन गरि अर्थ संकलन भइरहेको उनले बताए । उहाँका अनुसार हालसम्म ८ लाख ८५हजार ७सय ८५ रुपैयाँ संकलन भइसकेको छ भने रकम संकलन गर्ने क्रम अझै जारी रहेको छ । 
 
पहिलो चरणमा पुर्व विद्यार्थी समाजले स्वर्ण महोत्सवका लागि सहयोग गरेपनि यसपछीका वर्षमा सम्पुर्ण सहयोग विद्यालयको शैक्षिक गुणस्तर उकास्ने काममा केन्द्रित हुने अध्यक्ष कट्टेलले बताउनुभयो । 
विद्यालयले स्वर्ण महोत्सवका लागि १सय १ जना स्वर्ण महोत्सव मूल समारोह समिति गठन गरिसकेको विद्यालयका प्राधनाध्यापक शिवशंकर आचार्यले बताउनुभयो । विद्यालयका पुर्व प्रअ रामचन्द्र न्यौपानेको संयोजकत्वमा विद्यालयको अभिलेख संकलन कार्य सुरु भइसकेको छ भने अन्य तयारी पनि क्रमश भइरहेको प्रअ आचार्यले जानकारी दिनुभयो । स्वर्ण महोत्सव विद्यालयको ठुलो उत्सव भएकाले यसलाई सफल पार्न सबैले आफ्नो ठाउँबाट सहयोग गर्न पनि उहाँको अनुरोध थियो ।
 
 

प्रतिक्रिया