भर्खरै

काठमाडौँ उपत्यकामा तीन हजार बढी सिसी क्यामरा जडान

  • प्रकाशित मिति : बिही, पौष ५, २०८०
  • - विद्युत संसार
title

काठमाडौँ, ५ पुस । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) दीपक थापाले काठमाडौँ उपत्यका भित्रको अपराध नियन्त्रणका लागि सिसी क्यामरा जडानलाई प्राथमिकतामा राखिएको बताउनुभएको छ ।
 
टोखा नगरपालिका–९ नयाँबसपार्क क्षेत्रमा बन्न लागेको सामुदायिक सेवा केन्द्र र प्रहरी प्रभाग गोँगबुको भवनको हिजो शिलान्यास गर्दै उहाँले समाजभित्र देखिने विकृति, विसङ्गति अन्त्यका लागि प्रहरीले विभिन्न स्थानीय तहको सहकार्यमा सिसी क्यामरा जडानको कामलाई प्राथमिकतामा राखेको बताउनुभयो ।
 
“काठमाडौँ र ललितपपुर महानगरपालिका एवं बूढानीलकण्ठ नगरपालिकासँग मिलेर सिसी क्यामरा जडानको कामलाई उच्च प्राथमिकता दिएका छौँ, टोखा नगरपालिकासँग पनि सहकार्य गरेर बसपार्क क्षेत्रको अपराध न्यूनीकरण गर्न सकिन्छ”, उहाँले भन्नुभयो ।
 
एआइजी थापाले हालसम्म काठमाडौँ उपत्यकाभित्र तीन हजार चार सय ८५ सिसी क्यामरा जडान भएको बताउनुभयो । उहाँले काठमाडौँ महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाको सहकार्यमा थप पाँच सय सिसी क्यामरा जडान गरी तीन हजार नौ सय ५६ सिसी क्यामरा जडानको कामलाई अगाडि बढाइएको उल्लेख गर्नुभयो । उहाँले नयाँबसपार्क क्षेत्र वरपर हुने विकृति, विसङ्गति अन्त्यका लागि प्रहरी सधैँ तत्पर रहेको बताउनुभयो । 
 
टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले सामुदायिक सेवाकेन्द्र र प्रहरी प्रभाग गोँगबुको भवन निर्माणका लागि आवश्यक पर्ने जग्गा प्राप्तिका लागि नगरपालिकाले निर्णय गरिसकेको बताउनुभयो ।
 
टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसीले प्रहरीको उपस्थिति जहाँ हुन्छ त्यहाँको अपराध न्यूनीकरण हुने भएकाले टोखामा प्रहरीको उपस्थिति गराउनका लागि नगरपालिकाले जग्गा उपलब्ध गराएको बताउनुभयो ।
 
नौ आना जग्गामा रु चार करोड ५० लाखको लगानीमा बन्न लागेको उक्त भवन साढे चार तल्लाको हुने सामुदायिक सेवाकेन्द्र गोँगबुका अध्यक्ष केदारनाथ पाठकले जानकारी दिनुभयो । उक्त भवन सामुदायिक सेवा केन्द्रबाट गठन भएको निर्माण समितिले एक वर्ष लगाएर निर्माण गर्नेछ ।

प्रतिक्रिया