भर्खरै

काठमाडौँ–पोखरा र काठमाडौँ–सुनौली पर्यटक बससेवा

  • प्रकाशित मिति : मंगल, पौष १७, २०८०
  • - विद्युत संसार
title

काठमाडौँ, १७ पुस । अङ्ग्रेजी नयाँ वर्ष सन् २०२४ को सुरुआतसँगै काठमाडौँ–पोखरा र काठमाडौँ–सुनौली पर्यटक बससेवा सुरु भएको छ । नेपालको आन्तरिक तथा बाह्य पर्यटकलाई प्रवद्र्धन गर्ने उद्देश्यले विभिन्न चार कम्पनीले सोफासहितको ६  नयाँ बस सञ्चालनमा ल्याई यात्रुलाई सेवा प्रदान गरेका हुन् ।
 
बाबा एडभेन्चर टुर्स एन्ड ट्राभल्स, रेम्बो एडभेन्चर टुर्स एन्ड ट्राभल्स, यती एडभेन्चर टुर्स एन्ड ट्राभल्स, ब्ल्यू लाइन ट्राभल एन्ड टुर्सले काठमाडौँदेखि पोखरा र काठमाडौँदेखि सुनौली जाने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी बस सञ्चालनमा ल्याएका हुन् ।
 
यती एडभेन्चर टुर्स एन्ड ट्राभल्सका सञ्चालक कृष्ण आचार्यले अङ्ग्रेजी नयाँ वर्षलाई लक्षित गरी काठमाडौँदेखि पोखरा र सुनौली आठवटा पर्यटक बसले सेवा प्रदान गरेको बताउनुभयो । टुरिष्ट बस एसोसिएसन अफ नेपालका अध्यक्ष रहनुभएका आचार्यले नेपालको पर्यटक बसमा पछिल्लो समय ठूलो लगानी भए पनि बाटो बिग्रिएका कारण समस्या भएको उल्लेख गर्नुभयो ।
 
रेम्बो एडभेन्चर टुर्स एन्ड ट्राभलको सञ्चालक शिशिर खनाल पर्यटकलाई गुणस्तरीय सेवा प्रदान गर्नका लागि सोफासहितको नयाँ बस सञ्चालनमा ल्याइएको बताउनुभयो । उहाँले आफ्नो कम्पनीले रु दुई करोड ५० लाखमा दुईवटा बस खरिद गरी पर्यटकलाई सेवा प्रदान गरेको उल्लेख गर्नुभयो । रेम्बो, ब्ल्यू र यतीले भित्र्याएका बसहरुले काठमाडौँ–पोखरा पर्यटकलाई सेवा प्रदान गर्नेछन् ।
 
यसअघि काठमाडौँदेखि पोखरा र काठमाडौँदेखि चितवन पर्यटक बसमार्फत आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी सेवा प्रदान गर्दै आइरहेको बाबा एडभेन्चरले सुनौलीका यात्रुलाई लक्षित गरी काठमाडौँ सुनौली बससेवा सञ्चालन गरेको छ ।
 
बाबा एडभेन्चरका सञ्चालक एवं टुरिष्ट बस एसासिएसनका पूर्वअध्यक्ष प्रल्हाद लोहनीले भारतीय पर्यटकलाई लक्षित गरी नयाँ वर्षदेखि बाबा एडभेन्चरले दुईवटा बस सञ्चालन गरेको जानकारी दिनुभयो ।
 
नेपालमा पर्यटक बसमा ठूलो लगानी भए पनि पर्यटक बसका लागि छुट्टै बसपार्क नहुँदा व्यवसायीलाई समस्या परेको छ । हाल काठमाडौँ महानगरपालिका–१६ स्थित सोह्रखुट्टे सडकबाट पर्यटक बस देशका विभिन्न भागमा ओहोरदोहोर गर्दै आएका छन् ।
 
टुरिष्ट बस एसोसिएसन अफ नेपालका महासचिव मिलन नेपालले पर्यटक बसका लागि बसपार्क नहुँदा समस्या परेको बताउनुभयो । हाल काठमाडौँ सोह्रखुट्टे सडक हुँदै दैनिक एक सयभन्दा बढी पर्यटक बस देशका विभिन्न भागमा ओहोरदोहोर गर्दै आएका छन् ।

प्रतिक्रिया