भर्खरै

पाथीभरामा केबलकार निर्माण गर्न सहजीकरण समिति

  • प्रकाशित मिति : बिही, माघ ४, २०८०
  • - विद्युत संसार
title
ताप्लेजुङ, ४ माघ । ताप्लेजुङ जिल्लाको प्रसिद्ध शक्तिपीठ पाथीभरामा निर्माण हुन लागेको केबलकारको कामलाई अघि बढाउन आवश्यक सहजीकरण गर्ने उद्देश्यले जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा एक समिति गठन गरिएको छ ।
 
पाथीभरा क्षेत्र विकास समितिको बुधबार बसेको बैठकले निर्माणको कामलाई अघि बढाउन र निर्माणप्रति असहमत पक्षसँग आवश्यक वार्ता गरी निष्कर्षमा पुग्नका लागि सो समिति गठन गरेको हो ।
 
सो बैठकमा पाथीभरामा केबलकार निर्माण गर्ने भन्नेबारेमा वर्षौंदेखि चर्चा भए पनि काम सुरु हुन नसकेकाले त्यसमा आवश्यक सहजीकरण गरी निर्माण प्रक्रिया अघि बढाउनका लागि उक्त निर्णय गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । 
 
बैठकले जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामाको संयोजकत्वमा आवश्यक तयारीका साथै असहमत पक्षसँग वार्ताका लागि नौ सदस्यीय वार्ता टोली गठन गरेको हो ।
 
सो समितिका सदस्यमा फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेन, पाथीभरा याङवरक गाउँपालिका अध्यक्ष केशरकुमार मेन्याङ्बो, सिरीजङ्घा र फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष लालकृष्ण चौहान र राजन लिम्बू ९मुक्ति०, प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेल, पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबे, ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण थापा र केबलकार निर्माण कम्पनीका प्रतिनिधि रुद्र पौडेल रहनुभएको छ ।
 
पाथीभरामा केबलकार निर्माण हुँदा जैविक विविधता, यहाँको मौलिकता र प्राकृतिक सौन्दर्यमा असर पुग्ने भन्दै यहाँका केही स्थानीयले केबलकार निर्माणमा असहमति जनाएकाले ताप्लेजुङजस्तो पर्यटकीय सम्भावना बोकेको जिल्ला र प्रसिद्ध शक्तिपीठ पाथीभरामा पर्यटकीय पूर्वाधार निर्माणको कार्यलाई रोक्न नहुने भन्दै विरोधमा रहेको पक्षसँग वार्ता गरेर सर्वपक्षीय सहमति जुटाई निर्माण सुरु गर्न वार्ता समिति गठन भएको हो ।
 
केबलकार निर्माण पक्षले भने संरचना निर्माण अघिका सबै प्रक्रिया पूरा गरी निर्माण थाल्ने योजनामा रहेको र यहाँका कुनै पनि मौलिकतामा निर्माणका कामले असर नपर्ने गरी निर्माण गरिने भन्दै यसका लागि आवश्यक वातावरण तयार गर्न सरोकारवाला निकायसँग आग्रह गर्दै आएको छ ।
 
सो बैठकमा पाथीभरा मुकुम्लुङ केबलकार निर्माण कम्पनीका प्रतिनिधि रुद्र पौडेलले पाथीभरामा केबलकार निर्माणका लागि कानुनीलगायतका आवश्यक पक्रिया पूरा भएकाले निर्माण सुरु गर्ने वातावरण बनाउन स्थानीय स्तरबाटै सहयोग हुनुपर्ने बताउनुभयो । यता जिल्लाका सबै राजनीतिक दलहरुसहित सरोकारवालाले केबलकार निर्माण गरी जिल्लालाई समृद्ध बनाउनपर्नेमा जोड दिँदै आएका छन् ।
 
पाथीभरामा केबलकार निर्माण भए मन्दिरको दर्शनका लागि भक्तजनलाई सहज हुने साथै जिल्लाको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने र जिल्लाको आम्दानीमा समेत वृद्धि हुने भन्दै यहाँका अधिकांश स्थानीयले लामो समयदेखि केबलकार निर्माणको चर्चा मात्र भएकाले अब काम नै सुरु गर्न माग गर्दै आएका छन् ।
 
पाथीभरा क्षेत्रमा प्राकृतिक सम्पदाको कम क्षति र मौलिकतालाई जोगाउँदै स्थनीय आम सर्वसाधारणले लाभ लिनसक्ने गरी केबलकार निर्माण गर्न मुख्य राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिले जोड दिँदै आएका छन् । बुधबारको बैठकमा पनि सबैले यही धारणा राखेका थिए । कम्पनीले पनि स्थानीयको शेयरसमेत रहने गरी स्थानीय साझेदारी मोडलमा केबलकार निर्माण गर्ने जनाउँदै आएको छ ।
 
यसैबीच बैठकमा पाथीभरामा सङ्कलन भएको सुनचाँदी साथै तामा र घण्टी व्यवस्थापन गर्नुका साथै आवश्यक अन्य व्यवस्थापनको पनि निर्णय भएको छ । बैठकले पाथीभरामा सङ्कलन भएको सुनचाँदी प्रचलित मूल्यमा आवश्यक प्रक्रिया पूरा गरी बिक्री गर्ने र पाथीभरा पदमार्गमा स्थान यकिन गरी तामाको प्रवेशद्वार निर्माण गर्ने निर्णय पनि भएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिनुभयो । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago