भर्खरै

काठमाडौँमा यस वर्षकै कम तापक्रम रेकर्ड

  • प्रकाशित मिति : सोम, माघ ८, २०८०
  • - विद्युत संसार
title

काठमाडौँ, ८ माघ । काठमाडौँमा यस वर्षकै सबैभन्दा कम तापक्रम रेकर्ड गरिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीले आज काठमाडौँमा यस वर्षकै कम तापक्रम (तीन दशमलव दुई) रेकर्ड गरिएको बताउनुभयो । 
 
यसअघि गएको डिसेम्बर ५ तारिखमा न्यूनतम तापक्रम तीन दशमलव पाँच डिग्री रेकर्ड गरिएको थियो । उक्त रेकर्ड ब्रेक गर्दै आज शुन्य दशमलव दुई डिग्रीले झरेको हो । आज काठमाडौँ उपत्यकामा पारदर्शिता पनि घटेको छ । उहाँका अनुसार आज बढी चिसो अनुभव भएको छ । 
 
बिहानका समयमा चाहिँ हुस्सु जस्तो देखिएको छ । उहाँले परदर्शिता तीन हजार मिटर रहेको बताउनुभयो । यसअघि चार हजार मिटरमाथि नै हुने गरेकामा आज भने पारदर्शिता पनि घटेको हो । त्यसका कारण काठमाडौँमा आज बिहानदेखि कतिबेला घाम लाग्ने र कतिबेला नलाग्ने भइरहेको छ । चन्द्रागिरिलगायत उपत्यकाको उच्च क्षेत्रतर्फको बस्तीमा अझै कम घाम लागेको छ । लागेको घाम पनि न्यानो खालको छैन ।
 
तराईमा बाक्लो हुस्सु र कुहिरो 
 
महाशाखाले चिसो बढिरहेको बताएको छ । तराईका भूभागमा हुस्सु र कुहिरोले कुनै दिन खुल्ने कुनै दिन बेलुकासम्म नै हुस्सु कुहिरो लागिरहने गरेको पनि उहाँले बताउनुभयो । त्यसका कारण बढी चिसो महसुस हुने गरेको छ ।  
 
आइतबार रेकर्ड गरिएको तथ्याङ्कअनुसार जुम्लामा माइनस पाँच दशमलव छ डिग्री, जोमसोम माइनस पाँच डिग्री र दोलखाको जिरी मा एक डिग्री तापक्रम रेकर्ड गरिएको छ । आगामी २४ घण्टामा कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ । 
 
तराईका अधिकांश स्थानमा हुस्सु÷कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्नसक्ने भएकाले त्यसबाट हुनसक्ने असरका साथै चिसोबाटसमेत बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउ विभागले सबैमा अनुरोध गरेको छ ।

प्रतिक्रिया