भर्खरै

महाकाली करिडोर: सुदूर समृद्धिको मेरुदण्ड

  • प्रकाशित मिति : सोम, माघ ८, २०८०
  • - रासस
title
दोधारा चाँदनी (कञ्चनपुर), ८ माघ । कञ्चनपुरको बह्मदेवबाट दार्चुलाको तिङ्कर जोड्ने महाकाली करिडोरको कामले गति लिएको छ । नेपाल, भारत र चीनसँगकोे त्रिदेशीय नाका तिङ्करसम्म व्यापार विस्तारका लागि अघि बढाइएको महाकाली करिडोर सडक कञ्चनपुरको ब्रह्मदेवदेखि डडेल्धुराको परशुरामसम्म ट्र्याक खुलेको छ । 
 
विसं २०६६ देखि सुरु भएको करिडोरको वन क्षेत्रमा पर्ने रुख कटानको आदेशपछि निर्माणले गति लिएको हो । कञ्चनपुरको ब्रह्मदेवबाट डडेल्धुरा, बैतडी र दार्चुलाको तिङ्करसम्म सडक खुलाउने उक्त योजनाअन्तर्गत चार सय १३ किलोमिटर सडक निर्माण भइरहेको महाकाली करिडोर दार्चुला तिङ्कर सडक योजना कार्यालयका प्रमुख लक्ष्मणदत्त जोशीले जानकारी दिनुभयो । जसमध्ये तीन सय ३४ किलोमिटर सडक महाकाली लोकमार्ग आयोजना कार्यालय र ७९ किलोमिटर सडक नेपाली सेनाले निर्माण गरिरहेको उहाँले बताउनुभयो ।
 
जोशीका अनुसार कञ्चनपुरको ब्रह्मदेवदेखि डडेल्धुराको परशुरामसम्मको ११ किलोमिटर सडकको ट्र्याक खुलेर सञ्चालनमा आइसकेको छ । करिडोरको जिरो प्वाइन्टअन्तर्गत कञ्चनपुरको ब्रह्मदेवदेखि डडेल्धुराको जोगबुढासम्म ट्र्याक खोल्ने काम सकिएसँगै महाकाली करिडोरले कञ्चनपुर र डडेलधुरा जोडेको छ ।
 
“डडेलधुरातर्फ कञ्चनपुरको सिमानादेखि जोगबुडासम्म २७ किमि ट्र्याक यसअघि नै खुलिसकेको थियो ”, योजना प्रमुख जोशीले भन्नुभयो, “ब्रह्मदेवदेखि दार्चुलाको तुसारपानीसम्म तीन सय ३४ किमि करिडोर सडकको ट्र्याक खोल्ने काम महाकाली करिडोर सडक योजनाले गरिरहेको छ  । हालसम्म दुई सय ४२ किमि ट्र्याक खुलेको छ ।” उहाँले डडेलधुरामा ३१, बैतडीमा ३४ र दार्चुलामा २७ गरी अझै ९२ किमि ट्र्याक खोल्न बाँकी रहेको जानकारी दिनुभयो ।
 
जोशीका अनुसार डडेल्धुराको सिमलतालदेखि भागेश्वर गाउँपालिका हुँदै सुर्नयासम्म, बैतडीको शिवनाथ र पञ्चेश्वर क्षेत्र तथा दार्चुलाको लेकम र मालिकार्जुन गाउँपालिका क्षेत्रमा ट्र्याक खोल्न बाँकी रहेको छ । “योजनाले छवटा प्याकेजमा गरी डडेल्धुरा र दार्चुलामा ३७ किमिमा सडक कालोपत्रको काम गरिरहेको छ”, उहाँले भन्नुभयो, “डडेल्धुराको परशुराम नगरपालिकाको साँदनी क्षेत्रमा चालु आर्थिक वर्षभित्रै कामसक्ने गरी तीन वटा प्याकेजमा पाँच किमि सडक कालोपत्रको काम भइरहेको छ ।” 
 
करिडोरअन्तर्गत दार्चुलाको महाकाली नगरपालिका क्षेत्रमा १२ किलोमिटर र खलङ्गादेखि तुसारपानी खण्डमा १०÷१० किमि गरी दुई प्याकेजमा सडक कालोपत्रको काम भइरहेको जोशीले जानकारी दिनुभयो । चालु आवमा योजनाका लागि रू २९ करोड ६५ लाख बजेट आएको उहाँले बताउनुभयो ।
 
 योजनाले थप २५ करोड बजेट माग गरेको छ । यसैगरी रू एक अर्ब १८ करोडको योजनासहित स्रोत सुनिश्चितताका लागि पनि विभागमा फाइल पठाइएको योजना प्रमख जोशीको भनाइ थियो । उक्त फाइल स्वीकृत भए करिडोरअन्तर्गत ब्रह्मदेवसम्म १० किमि सडक थप गरेर स्तरोन्नतिसँगै अन्य क्षेत्रमा सडक स्तरोन्नतिको काम गरिने उहाँले बताउनुभयो ।  यसअन्तर्गत कञ्चनपुरमा ११, डडेल्धुरामा ५८, बैतडीमा एक सय ४४ र दार्चुलामा दुई सय गरी जम्मा चार सय १३ किमि सडक निर्माण गरिनेछ । 
 
महाकाली करिडोर निर्माण भए कञ्चनपुरदेखि दार्चुलासम्म महाकाली किनारैकिनार छोटो दूरीमा यात्रा गर्न सकिने यहाँका स्थानीयवासीको अपेक्षा छ । करिडोरले महाकाली किनारका बस्तीलाई सडक सञ्जालमा जोड्ने र लामो दुरीको यात्रा गर्नुपर्ने बाध्यता हट्ने यहाँका स्थानीय रमेशसिंह नायकले बताउनुभयो । “करिडोर सञ्चालनमा आइदिए हामीलाई धेरै फाइदा हुन्थ्यो”, उहाँले भन्नुभयो, “हामीहरुले आठरआठ घण्टा लगाएर जानुपर्ने ठाउँमा दुई घण्टामै पुग्छौँ ।” उहाँले महाकाली करिडोर सञ्चालनमा आए सुदूर पहाडका जनताको आर्थिक अवस्थामासमेत सुधार आउने बताउनुभयो ।
 
“करिडोर बन्छ भनेको पनि १२ वर्ष भइसकेको छ, अहिलेसम्म बनेको छैन । सरकारले छिटो काम सम्पन्न गरे सुदूरपहाडका जनतालाई व्यापारको ढोका खुल्ने थियो”, नायकले भन्नुभयो । ब्रह्मदेवदेखि महाकाली किनार हुँदै डडेल्धुरा, बैतडी र दार्चुला जिल्लाको टिङ्कर नाकासम्म यातायातको सहज पहुँच विस्तार गरी सुदूरपश्चिम प्रदेश तथा मुलकको विकासमा कोशेढुङ्गा सावित हुने अपेक्षा यहाँका स्थानीयवासीको छ । 
 
करिडोर बनेपछि ब्रह्मदेव, डडेल्धुराको जोगबुढा, बैतडीको पन्चेश्वर, चमेलिया, दार्चुलाको लाली, उकू, खलङ्गा, धारी, हिकिला, हुती, धौलाकोट र सुन्सेरा हुँदै तिङ्कर नाकासम्म सडक निर्माण गरी उक्त क्षेत्रको आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटकीय तथा शैक्षिक विकासमा योगदान पु¥याउने छ । 
 
“महाकाली करिडोर बने मात्रै सुदूरको विकासको ढोका खुल्छ”, होटेल व्यवसायी सङ्घ कञ्चनपुरका अध्यक्ष जदशीशचन्द्र भट्टले भन्नुभयो, “यसले धार्मिक पर्यटनलाई समेत फाइदा पुग्छ । अर्को तर्फ उत्तरतर्फ चीनसँग पनि व्यापारको ढोका खुल्छ ।” 
 
करिडोरअन्तर्गत महेन्द्रनगरमा सिद्धवैजनाथ, डडेल्धुरामा परशुरामधाम, बैतडीमा त्रिपुरासुन्दरी, मेलौली भगवती र निङ्लाशैनी जस्ता प्रसिद्ध धार्मीकस्थल छन । त्यसैगरी दार्चुलामा राष्ट्रकै चौथो धामकारुपमा परिचित मालिकार्जुनधामलगायत प्रसिद्ध धार्मीकस्थल रहेकाले करिडोरले धार्मिक पर्यटनमासमेत टेवा पुग्ने स्थानीयवासी कैलाश पाण्डेयले बताउनुभयो । 
 
“भारतको पूर्णगिरि दर्शन गरेपछि महेन्द्रनगरमा रहेको सिद्धवैजनाथ दर्शन गर्नुपर्ने अनिवार्य छ”, पाण्डेयले भन्नुभयो, “ती दर्शनार्थीहरु करिडोर सञ्चालनमा आए डडेल्धुराको परशुरामधाम पुग्न सक्छन् ।” उहाँले अझै यहाँका प्रसिद्ध धामहरुमा भारतीय धार्मिक पर्यटन आउने गरेको बताउँदै यहाँ धार्मिक पर्यटनको ठूलो सम्भावना रहेको उल्लेख गर्नुभयो ।
 
उक्त करिडोरलाई समुन्नतिको मार्गका रुपमा लिनुपर्ने नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताउनुभयो । “करिडोर बनेपछि यहाँको जुडीबुटीदेखि, फलफूल र उत्पादन खपत गर्न सहज हुन्छ”, उहाँले भन्नुभयो, “यसलाई त्रिदेशीयसँगै आर्थिक नाकाका रूपमा विकास गर्न सकिन्छ ।” 
 
गत निवार्चनका बेलामा नेता लेखकले महाकाली करिडोरलाई त्रिदेशीय नाकाका रुपमा विकास गर्ने एजेन्डा बनाउनुभएको थियो । “करिडोरअन्तर्गत रुख कटानको समस्या हटेर निर्माण अघि बढेको छ”, उहाँले भन्नुभयो, “बजेट अभाव र अन्य प्रक्रियागत समस्याले अब करिडोरको काम रोकिदैन ।” करिडोरलाई धार्मिक पर्यटनसँग पनि जोड्न सके यहाँका आर्थिक गतिविधि बढ्ने उहाँको भनाइ थियो ।
 
सुदूरपश्चिम प्रदेशका कन्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुला जिल्ला जोड्दै नेपाल र चीनको ताक्लाकोटको सिमामा रहेको पिल्लर नं १ सम्म निर्माण हुने यस सडक योजनाबाट उक्त क्षेत्रमा बसोबास गर्ने करिब एक करोड जनता प्रत्यक्ष लाभान्वित हुने सरकारको अपेक्षा छ । त्रिदेशीय नाका भएकाले व्यापारिक महत्त्व धेरै रहेको र धार्मिक हिसाबले कैलाश मानसरोवर भ्रमणको लागि छोटो बाटोको रुपमा प्रयोग हुनेछ । निमार्ण सम्पन्नपछि यहाँको आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटकीय तथा शैक्षिक विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago