भर्खरै

विज्ञापनमा विदेशी कलाकारलाई प्रयोग गर्न नपाइने

  • प्रकाशित मिति : सोम, माघ १५, २०८०
  • - विद्युत संसार
title

काठमाडौँ, १५ माघ । विज्ञापन बोर्डले सार्वजनिकस्थानमा राखिने होडिङबोर्ड र सञ्चारमाध्यममा प्रकाशन तथा प्रसारण हुने विज्ञापनमा विदेशी कलाकारलाई प्रयोग गर्न नपाइने जनाएको छ । 
 
बोर्डले आज आयोजना गरेको ‘विज्ञापनमा कलाकारहरुको भूमिका’ विषयक छलफल कार्यक्रममा बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँले विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ जारी भएपछि यस क्षेत्रलाई नियमन र व्यवस्थित गरिएको बताउनुभयो । उहाँले विज्ञापनमा स्वदेशी कलाकारलाई प्रोत्साहन दिन त्यस्तो प्रबन्ध गरिएको भन्दै सार्वजनिकस्थानमा राखिने होडिङबोर्ड तथा सञ्चारमाध्यममा प्रकाशन, प्रसारण हुने विज्ञापनमा विदेशी कलाकारलाई प्रयोग गर्न नपाइने जानकारी दिनुभयो ।
 
ऐनको कार्यान्वयनका क्रममा विज्ञापन नियमन गर्ने नियमावली (पहिलो संशोधन, २०८०) र विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारणसम्बन्धी आचारसंहिता, २०७९ जारी भई कार्यान्वयना ल्याइएका भन्दै अध्यक्ष हुमागाईँले सोको पालनामा सहयोग गर्न कलाकार र सञ्चारमाध्यमलाई आग्रह गर्नुभयो ।
 
विज्ञापनमा अभिनय गर्दा लैङ्गिक र उपभोक्तामैत्री हुनुपर्ने, अश्लिल र हिंसालाई प्रोत्सहान गर्ने तथा अफवाह फैलाउने खालका हुन नहुने, राष्ट्रियता एवं राष्ट्रिय स्वाधीनतामा खलल पु¥याउन नहुने तथा कानुनतः निषेध गरिएका वस्तु र सेवाको प्रवद्र्धन गर्न नहुने आचारसंहितामा उल्लेख छ । 
 
ती व्यवस्था पालना नभएमा कानुनी कारबाही हुने भएकाले त्यसप्रति सजग रहन अध्यक्ष हुमागाईँले आग्रह गर्नुभयो । उहाँले सरकारले ल्याउने सामाजिक सञ्जाल व्यवस्थापन ऐनमा पनि यस विषयमा उपयुक्त व्यवस्था गराउन आग्रह गरिएको जानकारी दिनुभयो ।
     
नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष भुवा केसीले जानेर वन नजानेर कानुन विपरीत हुने विज्ञापनमा अभिनय गर्दा कलाकारले समस्या खेप्नु परेको उल्लेख गर्दै होर्डिङबोर्ड र अन्य विज्ञापनमा नेपाली कलाकारको सहभागिता अनिवार्य गराउनुपर्ने बताउनुभयो । 
 
नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाले विद्यमान ऐन, कानुन र आचारसंहिताको पालनासहित मौलिक र सिर्जनात्मक भई व्यावसायिकतालाई प्रोत्साहन गर्ने गरी विज्ञापनमा कलाकारले अभिनय गर्नुपर्ने बताउनुभयो । 
 
कार्यक्रममा कलाकार मदनदास श्रेष्ठ, गौरी मल्ल, दीपाश्री निरौला, धीरेन शाक्य, रवीन्द्र खड्कालगायत सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया