ऊर्जा मन्त्रालयमा नेता बस्नेतको पुनरागमन: बिदाइ र स्वागत एकैदिन

  • प्रकाशित मिति : बिही, फागुन २४, २०८०
  • - विद्युत संसार
title

काठमाडौँ, २४ फागुन । बुधबार अपराह्न १ः१५ बजे ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको सभाकक्ष भरिभराउ थियो । राजनीतिक समीकरणमा आएको बदलावसँगै ऊर्जा मन्त्रालय कुन पार्टीले लिने भन्ने निश्चित भएको थिएन । मन्त्रिपरिषद् विस्तार हुने सूचना सार्वजनिक भए पनि यसअघि मन्त्री बन्नुभएका शक्तिबहादुर बस्नेत पुनः ऊर्जा मन्त्रालयमा  नआउने अनुमान गरिएको थियो ।
 
सोही आधारमा ऊर्जा मन्त्रालयले पूर्वमन्त्री शक्तिबहादुर बस्नेतको बिदाइ समारोह राखेको थियो । बिदाइ समारोहमा मन्त्रालय र मातहतका निकायका अलावा, जल तथा ऊर्जा आयोगका सचिवलगायत कर्मचारी उपस्थित थिए । जल तथा ऊर्जा आयोगका सचिव सरिता दुवाडीले ऊर्जामन्त्री बस्नेतको कार्यकालमा ऊर्जा क्षेत्रले उल्लेखनीय प्रगति गरेको बताउनुभयो । ऊर्जा सचिव गोपालप्रसाद सिग्देल, जलस्रोत तथा सिँचाइ सचिव सुशीलचन्द्र तिवारीले पनि बस्नेतको राजनीतिक जीवनको सफलताको कामना गर्नुभयो ।
 
ऊर्जा क्षेत्रमा पछिल्लो एक वर्षको अवधिमा उल्लेखनीय प्रगति भएको बताउँदै मन्त्रालय र मातहतका पदाधिकारीले मन्त्री बस्नेतको भावपूर्ण बिदाइ गरेका थिए । मन्त्रीका रुपमा एक वर्षको अवधि आफ्ना लागि पनि महत्वपूर्ण रहेको र एउटा महत्वपूर्ण सिकाइ भएको उहाँले बताउनुभएको थियो । उहाँले एक वर्षको बीचमा रणनीतिक महत्वका काम भएको स्पष्ट पार्दै आगामी दिनमा आउने मन्त्रीले पनि आफ्नै पदचापमा काम गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले अप्रत्यक्ष रुपमा पुनः आफू नै यस मन्त्रालय सम्हाल्न आउने विश्वास व्यक्त गर्नुभएको थियो । नभन्दै त्यस्तै भयो । 
 
आज अपराह्न १ः१५ बजे मन्त्री बस्नेतलाई खादा, माला पहिराएर बिदाइ गरेका मन्त्रालयका कर्मचारीले पुनः राति ८ः३० बजे मन्त्री बस्नेतको स्वागत गरे र सफल कार्यकालको शुभकामना दिए । नवनियुक्त ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले पदबहाली गर्दै मन्त्रालयका सबै कर्मचारीसँग मिलेर मुलुक र जनताको हितका लागि काम गर्ने बताउनुभयो । 
 
सरकारको नेतृत्वकर्ता दल नेकपा ९माओवादी केन्द्र० का उपमहासचिव बस्नेतलाई ऊर्जामन्त्रालयका सचिवद्वय सिग्देल र जलस्रोत तथा सिँचाइ सचिव तिवारी, जल तथा ऊर्जा आयोगका सचिव सरिता दुवाडीलगायतले मन्त्रालयमा स्वागत गर्नुभएको थियो ।
 
साँझ स्वागत समारोहमा सचिव सिग्देलले आफ्नो जीवनमा पहिलोपटक एकै दिन बिदाइ र स्वागत गर्न पाउने बिरलै अवसर पाएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो मेरा लागि जीवनकै महत्वपूर्ण अवसर हो । यसले हामीलाई थप जिम्मेवार बनेर काम गर्नका लागि पनि सहयोग गर्नेछ ।”
 
उपमहासचिव बस्नेत लगातार तीन पटक जाजरकोटबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुनुहुन्छ । ऊर्जामन्त्री बस्नेतले जाजरकोटको ग्रामीण वर्ग सङ्घर्षबाट राजनीति सुरु गर्नुभएको हो । विसं २०२८ वैशाख १ गते बुबा डण्डवीर बस्नेत र आमा धर्मकुमारी बस्नेतका कान्छा सुपुत्रको रुपमा जन्मनुभएका बस्नेतको परिवार नै माओवादी जनयुद्धमा संलग्न भएको थियो ।
बस्नेतको राजनीतिक जीवन भने ०४६÷४७ बाट मात्र सुरु भएको हो । तत्कालीन नेकपा माओवादीमा ०५५ मा वैकल्पिक केन्द्रीय सदस्य ०५७ मा पूर्ण केन्द्रीय सदस्य र ०५७ मा पूर्ण केन्द्रीय सदस्य हुनुभएको हो । जनपरिचालनमा उनी निपूर्ण मानिनुभएका बस्नेत तीन पटक जाजरकोटबाट प्रत्यष निर्वाचित हुनुभएको छ ।
 
विसं २०५९ पार्टी पोलिटव्यूरो सदस्य हुन भएका बस्नेतले जनयुद्धकालमा भेरी कर्णाली, थारुवान्जस्ता क्षेत्रीय ब्यूरो इञ्चार्जको भूमिका निर्वाह गर्नुभएको थियो  । जनआन्दोलनको समयमा तत्कालीन जनमुक्ति सेना नेपालको डिभिजन कमिसार भएर गण्डक अभियानमा सहभागी हुनभएको थियो ।
 
माओवादीभित्र सुरेश सिंहको नामले समेत परिचित बस्नेत बस्नेतले २०६८ सालमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भएर जाजरकोट जिल्लाको पहिलो मन्त्रीका रुपमा आफूलाई उभ्याउनुभएको थियो । विसं २०७१ पार्टी स्थायी समितिमा निर्वाचित बस्नेत पार्टीभित्र पनि निकै प्रभावशाली युवा नेताका रुपमा रहँदै आउनुभएको छ ।
 
जाजरकोट खलङ्गा–९ कालेगाउँ गरिब किसान घरपरिवारमा जन्म लिएका शक्ति बस्नेत २०४७ सालमा भेरी ज्ञानोदय क्याम्पसको स्ववियू सभापतिमा निर्वाचित हुनुभएको थियो ।  उहाँले भेरी ज्ञानोदय क्याम्पसवाट स्नातक गर्नुभएको छ । यस्तै उहाँ हाल राजनीतिक शास्त्र विभागको  एफफिल÷पिएचडीको शोधार्थी हुनुहुन्छ । मन्त्रीको व्यस्त समयलाई छुट्याएर भए पनि उहाँले अध्ययनलाई समेत जारी राख्नुभएको छ ।
 
ग्रामीण वर्ग सङ्घर्षलाई उठान गरी सशस्त्र वर्ग सङ्घर्षको माध्यमवाट नयाँ जनवादी राज्य सत्ता स्थापना  गर्ने मार्ग दर्शनवाट अभिप्रेरित नेता बस्नेत २०४६ सालको जनआन्दोलनमा सहभागी भएर तत्कालीन नेकपा एकता केन्द्र ९मसाल०मा आबद्ध हुनुभएको थियो ।
 
नेता बस्नेत २०४८ सालमा तत्कालीन एकता केन्द्र ९मसाल० राप्ती क्षेत्रीय समन्वय समिति सदस्यको जिम्मेवारीमा हुनुहुन्थ्यो । यसअघि गृहमन्त्री, वन तथा वातावारणमन्त्रीको रुपमा उहाँले देश सेवा गर्नुभएको हो । ऊर्जामन्त्रीका रुपमा उहाँले पछिल्लो एक वर्षमा सक्रियतापूर्वक काम गर्नुभयो । भारतसँग दीर्घकालीन ऊर्जा व्यापार सम्झौता, रणनीतिक महत्वका ठूला आयोजनाको सुरुवात, एक हजार दुई सय मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजना, माथिल्लो अरुणजस्ता आयोजनाको काम अघि बढाउन अद्यापि उहाँ क्रियाशील हुनुहुन्छ । 
 
कार्यसम्पादनका हिसाबले उत्कृष्ट देखिएको भन्दै प्रधानमन्त्री प्रचण्डले पछिल्लोपटक मन्त्रिपरिषद् विस्तार गर्दा मन्त्री बस्नेतले पुनः ऊर्जा मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । गृह मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नेतृत्व सम्हाल्नु भएका उहाँ पाँचौँ पटक ऊर्जा मन्त्रालयको नेतृत्वमा हुनुहुन्छ ।
 
दुई महत्वपूर्ण प्रस्तावमा हस्ताक्षर

पदवहालीलगत्तै मन्त्री बस्नेतले ‘नयाँ राष्ट्रिय ऊर्जा तथा विद्युत् विकास नीति’ तर्जुमा गर्न एक कार्यदल गठन गर्नेसम्बन्धी प्रस्तावमा हस्ताक्षर गर्नुभएको छ । सो कार्यदलमा ऊर्जा सचिव गोपालप्रसाद सिग्देल संयोजक, सहसचिव नवीनराज सिंह, सहसचिव कलानिधि पौड्याल र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सदस्य रहनुभएको छ ।
 
यस्तै, जनरल नेटवर्क एक्सेस फ्रेमवर्कको गाइडलाइन तयार पार्ने निर्देशिकामा पनि मन्त्री बस्नेतले हस्ताक्षर गर्नुभएको छ । त्यसले प्रसारण शुल्क निर्धारण तथा प्रसारण लाइनको सञ्चालनलगायतका विषय समेटिएको छ । विद्युत् नियमन आयोग ऐनमा भएको व्यवस्थाअनुसार विस्तृत जनरल नेटवर्क एक्सेसको निर्देशिका तयार हुनेछ । 

प्रतिक्रिया