भर्खरै

बङ्गलादेशसँग विद्युत् व्यापारको नजिक पुगेका छौँ: प्रधानमन्त्री दाहाल

  • प्रकाशित मिति : बुध, फागुन ३०, २०८०
  • - विद्युत संसार संवाददाता
title

काठमाडौँ, ३० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालबाट बङ्गलादेशमा ४० मेगावाटसम्म विद्युत् निर्यात गर्न त्रिदेशीय विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर हुने बताउनुभएको छ ।
 
प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिनुअघि सम्बोधन गर्दै भारतसँग मात्रै नभएर बङ्गलादेशसँग पनि विद्युत् व्यापारको नजिक पुगेको बताउनुभयो । “चीनतिर पनि विद्युत् व्यापारको ढोका खुल्दै छ,” प्रधानमन्त्री दाहालले भन्नुभयो, “यो पनि सानो उपलब्धि होइन । तर, यो सम्भावना हासिल गर्न हामीले विद्युत् पूर्वाधारमा निकै धेरै काम गर्नुछ ।”
 
जलवायु न्याय र समानताको अवधारणामा नेपालले अब आफूलाई विश्वमञ्चको केन्द्रमा ल्याएको उल्लेख गर्दै उहाँले संयुक्तराष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण र युएईको दुबईमा सम्पन्न ‘कोप–२८’ मा नेपालको प्रस्तुतिबाट नेपालले नयाँ सन्देश प्रवाह गरेको समेत स्मरण गर्नुभयो ।
 
“हामीले सन्देश दियौँ, अब जलवायु सङ्कटबाट प्रभावित पर्वतीय मुलुकहरूको आवाजलाई नेपालले नेतृत्व गर्नेछ,” प्रधानमन्त्री दाहालले भन्नुभयो, “सरकारका उपलब्धिहरूको सूची सानो छैन तर देशका आवश्यकता र सम्भावना हासिल गर्न यति उपलब्धि पर्याप्त थिएनन् ।”
 
राष्ट्रिय समस्याहरूको समाधानका लागि सबै एक ठाउँमा उभिनुपर्छ: प्रधानमन्त्री
 
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय समस्याहरूको समाधानका लागि सबै एक ठाउँमा उभिनुपर्ने बताउनुभएको छ । 
 
विश्वासको मत लिनुअघि प्रधानमन्त्री दाहालले प्रतिनिधिसभालाई आज सम्बोधन गर्दै राष्ट्रका सम्भावना हासिल गर्न राष्ट्रिय एकता कायम गर्नुपर्नेमा जोड दिनुभयो । “यावत् आक्षेपकै बीचमा पनि म फेरि दोहोर्‍याउँछु, प्रधानमन्त्रीका रुपमा म निषेध, अपमान र प्रतिशोध होइन, सहमति, सहकार्य र आपसी विश्वासकै लागि प्रतिबद्ध छु,” प्रधानमन्त्री दाहालले भन्नुभयो, “अहिलेको शतिm विन्यासमा हामी सबैको स्वामित्व र अपनत्व छ । राष्ट्रपति हुनुहुन्छ, नेपाली कांग्रेसको पृष्ठभूमिबाट, उपराष्ट्रपति जनता समाजवादी पार्टीबाट, सभामुख नेकपा (एमाले)को पृष्ठभूमिबाट, राष्ट्रियसभा अध्यक्ष  माओवादी केन्द्रको पृष्ठभूमिबाट, उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीको पृष्ठभूमिबाट, सबैको सम्मानपूर्ण यो प्रतिनिधित्वमा मेरो निर्णायक भूमिका छ र त्यसमा मलाई गर्व छ ।” 
 
संसद् व्यक्तिगत आरोप र प्रत्यारोप गर्ने थलो होइन : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री दाहालले आरोप र प्रत्यारोपका लागि सार्वभौम संसद् उपयुक्त थलो नभएको बताउनुभएको छ ।
 
विश्वासको मत लिनुअघि प्रधानमन्त्री दाहालले संसद्मा निजी र व्यक्तिगत आक्षेप लगाउन नहुने बताउनुभएको होे ।
 
“सरकार पुनर्गठन एउटा राजनीतिक प्रक्रिया मात्रै भए पनि कांग्रेसका केही साथीले यसको अराजनीतिक व्याख्या गर्नुभयो र ममाथि निजी आक्षेप र आक्रमण गर्नुभयो,” प्रधानमन्त्री दाहालले भन्नुभयो, “म आक्षेपहरूको प्रतिवाद गर्न चाहन्नथेँ तर निजी आरोप र प्रत्यारोपका लागि यो सार्वभौम संसद् उपयुक्त ठाउँ होइन भन्ने मेरो मान्यता थियो र छ ।”
 
संसदीय रेकर्डमै रहेका आरोपको प्रतिवाद नगर्दा इतिहासमा गलत सन्देश जाने भएकाले आफूले आफ्नो पक्षका केही कुरा राख्न चाहेको बताउँदै प्रधानमन्त्री दाहालले कांग्रेसले कुनै बेला संसद्मा उभिएर राजनेता घोषणा गरेको स्मरण गर्नुभयो ।

प्रतिक्रिया