चार दिनदेखि कुश्माबजार अन्धकार

  • प्रकाशित मिति : बिही, चैत ८, २०८०
  • - रासस
title

पर्वत, ८ चैत । पर्वत सदरमुकाम कुश्माबजार चार दिनदेखि अन्धकार बनेको छ । लामो समयदेखि विद्युतको बक्यौता रकम नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रले चार दिनअघि सडक बत्तीको लाइन काटिदिएपछि बजार क्षेत्रसँगै केही सरकारी निकायसमेत अन्धकार बनेका हुन् ।
 
वितरण केन्द्रले कुश्मा नगरपालिकाअन्तर्गतका सबै सडकबत्ती गत सोमबार काटिदिएको हो । नगरपालिकाले विसं २०७५ देखि सडकबत्ती, नगरपालिकाअन्तर्गत रहेको प्रहरी बिट, स्वास्थ्य एकाइलगायत ठाउँको महसुल नबुझाएपछि लाइन नै काट्नुपरेको वितरण केन्द्रले जनाएको छ ।
 
नगरपालिका ग्राहक भएर जोडिएका सडकबत्तीलगायतको महसुल रकम पटकपटक माग गर्दा पनि भुक्तानी नपाएपछि लाइन काट्नुपर्ने बाध्यता भएको नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रका लेखा प्रमुख गोविन्द सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिकाले रू ७४ लाख २० हजार रकम प्राधिकरणलाई बुझाउन बाँकी छ ।
 
बक्यौता रकम बुझाउन पटक–पटक ताकेता गरे पनि भुक्तानी नभएपछि अन्तिम विकल्पका रूपमा बिजुली काटिएको सुवेदीले बताउनुभयो । “महसुल नबुझाएसम्म काटिएका बत्ती जोड्न सकिने अवस्था छैन”, उहाँले भन्नुभयो, “अब प्रत्येक सडकबत्ती र नगरको स्वामित्वमा रहेका कार्यालयमा मिटरबक्स राखेर मात्र विद्युत् लाइन जडान गर्नेछौँ ।”
 
कुश्मा नगरपालिका र विद्युत् प्राधिकरणबीच पाँच वर्षअघि सडकबत्ती राख्ने सम्झौता भएको थियो । सम्झौताअनुसार सडकबत्तीबापतको रकम नगरपालिकाले भुक्तानी गर्ने उल्लेख गरिएको छ । कुश्मा–४, ५, ६, ७, ८ र ९ तथा वडा नं २ का केही भागका करिब एक सय ५० भन्दा बढी ठाउँमा सडकबत्ती विस्तार गरिएको थियो । 
 
गत असोज १० गते सम्पन्न दशौँ नगरसभाले विद्युत् महसुल भुक्तानीका लागि रू ६५ लाख विनियोजन गरेको भए पनि प्रमुख प्रशासकीय अधिृकत र लेखा शाखाले भुक्तानी नदिएको वितरण केन्द्रको आरोप छ । प्राधिकरणले लाइन काटेका सडकबत्ती बक्यौता रकम भुक्तानी र नयाँ सम्झौता भएपछि पुनः जडान गरिने लेखा प्रमुख सुवेदीले जानकारी दिनुभयो । 
 
रातमा सडकबत्ती नबल्दा बजार क्षेत्रमा चोरी डकैतीलगायत आपराधिक गतिविधि बढ्ने खतरा भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । विशेषगरी बैंक तथा वित्तीय संस्था, सुनचाँदी पसललगायतमा चोरीडकैती तथा अन्य आपराधिक गतिविधि बढ्ने भएकाले बजारको सुरक्षाका लागि सडकबत्ती अत्यावश्यक भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खुमलाल भुसालले बताउनुभयो । उहाँले काटिएको विद्युत् लाइन पुनः जडान गर्नेबारेमा समन्वय भइरहेको बताउनुभयो । 
 
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु तिवारीले बजेट अभाव भएकाले महसुल भुक्तानी रोकिएको बताउनुभयो । उहाँले अहिले आधा रकम भुक्तानी गरिने र आधा रकम अर्को आर्थिक वर्षमा भुक्तानी गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।
 
बजेट व्यवस्थापन गर्ने समयसम्म विद्युत् नकाट्न अनुरोध गरेको भए पनि वितरण केन्द्रले काटिदिएको भन्दै रकम भुक्तानी र नयाँ सम्झौताका लागि पहल भइरहेको प्रमुख प्रशासकीय अधिकृत तिवारीले दाबी गर्नुभयो ।

प्रतिक्रिया