लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटक मर्कामा

  • प्रकाशित मिति : शुक्र, चैत १६, २०८०
  • - विद्युत संसार
title

सल्लेरी, (सोलुखुम्बु), १५ चैत । प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित हुँदा सगरमाथा क्षेत्र भ्रमणमा निस्किएका पर्यटकहरु मर्कामा परेका छन् । पछिल्लो दुई दिनयता मौसममा आएको परिवर्तनले तेन्जिङ हिलारी विमानस्थल लुक्लामा उडान प्रभावित हुँदा पर्यटकहरु समस्यामा परेका हुन् । 
 
पर्यटकीय याम भएका खुम्बु भ्रमणमा आउने अधिकांश पर्यटक जहाजमार्फत लुक्ला हुँदै उकालो लाग्ने गर्छन् । तर मौसम प्रतिकूल हुँदा तालिका अनुसार जहाज उडान हुन नसक्दा रामेछापको मन्थलीमा नै पर्यटक रोकिएको पर्यटन व्यवसायी फूर्वा शेर्पाले बताउनुभयो । 
 
नेपाल नागरिक उड्ययन प्राधिकरण लुक्लाका प्रमुख उमेश पन्थीका अनुसार आज काठमाडौँ र मन्थलीबाट लुक्लामा ४०  उडान तालिका भए पनि मौसमका कारण अधिकांश रद्द भएको छ । “मन्थलीबाट बिहान पर्यटक लिएर लुक्ला आएको चार वटा विमान मौसमका कारण लुक्लामा नै रोकिएको प्रमुख पन्थीको भनाइ छ । बिहान मौसम अलिक खुलेकाले विमान आयो तर फर्किन सकेन, भिजिभिलिटी नपुगेकाले जहाज यही रोकिएको छ ।”, उहाँले भन्नुभयो, “बुधबार पनि मौसमले साथ नदिँदा लुक्लाको अधिकांश उडान स्थगित गरिएको नेपाल नागरिक उड्ययन प्राधिकरण लुक्लाले जनाएको छ । सगरमाथा क्षेत्रबाट काठमाडौँ फर्किन चहाने १०० जना भन्दाबढी पर्यटकहरु अहिले लुक्लामा रोकिएको तारा एयरलाइन्स लुक्लाका प्रमुख अमृत मगरले बताउनुभयो ।
 
 मौसम तत्काल खुल्ने सम्भावना नभएपछि कतिपय पर्यटक हिँडेर थामडाँडा पुगेरर त्यहाँबाट गाडीमार्फत सल्लेरी हुँदै काठमाडौँ फर्किएका छन् । रामेछापको मन्थलीमा दुईभन्दा धेरै पर्यटकहरु लुक्ला जानका लागि मौसम अनुकुलताको पर्खाइमा रहेको स्थानीयवासी जगत थापाले बताउनुभयो । उहाँका अनुसार काठमाडौँबाट सगरमाथा क्षेत्र भ्रमणमा निस्किएका स्वदेशी तथा विदेशी पर्यटक उडान प्रभावित हुँदा मन्थलीमै रोकिएका पुगेका हुन् । ‘भिजिबिलिटी’ कमजोर हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फको उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाल बताउनुभयो । 
 
उहाँका अनुसार एयर चाइनाको जहाज ‘डाइभर्ट’ भएको छ भने अन्य जहाज आकाशमा फन्को लगाउने (होल्ड) भएका छन् । 

प्रतिक्रिया