भर्खरै

मार्कीचोक–नयाँ भरतपुर प्रसारण लाइन निर्माण शीघ्र सम्पन्न गर्न ताकेता

  • प्रकाशित मिति : सोम, चैत १९, २०८०
  • - विद्युत संसार
title
काठमाडौँ, २० चैत । नेपाल विद्युत् प्राधिकरणले मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत तनहुँको आँबुखैरनी गाउँपालिकाको मार्कीचोकबाट चितवनको भरतपुर महानगरपालिका आँपटारीसम्मको लाइन निर्माण छिट्टो सम्पन्न गर्न ताकेता गरेको छ ।
 
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र उपकार्यकारी निर्देशक प्रदीपकुमार थिके सम्मिलित टोलीले प्रसारण लाइन र सबस्टेसन निर्माणको अनुगमन गरी वर्षायामको विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाहका लागि मार्कीचोक(नयाँ भरतपुर प्रसारण लाइन महत्वपूर्ण रहेकाले निर्माणलाई तीव्रता दिन आग्रह गरेको हो ।  
 
टोलीले आयोजना व्यवस्थापन र निर्माण व्यवसायीसँग छलफल गरी निर्माणको अवस्था, बेहोरिरहेका समस्या, निर्माण सम्पन्न हुन समयतालिकालगायतका विषयमा जानकारी लिएको थियो । आयोजनाकातर्फबाट वन क्षेत्रको जग्गा प्रयोग र रुख कटान स्वीकृतिका रहेको कानूनी लामो प्रक्रिया, निर्माण व्यवसायीको कमजोर कार्यसम्पादनका कारण निर्माण प्रभावित भइरहेको जानकारी गराइएको थियो । 
 
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले मार्कीचोक(नयाँ भरतपुर खण्ड आगामी असारभित्रमा निर्माण सम्पन्न गर्न नसकिएमा झण्डै तीन सय मेगावाट विद्युत् प्रवाह गर्न नसकी खेर फाल्नुपर्ने अवस्था आउन सक्ने बताउनुभयो । 
 
“हाल चालू रहेको मस्र्याङ्दी भरतपुर र दमौली(भरतपुर १३२ केभी प्रसारण लाइन सिङ्गल सर्किट मात्र छन्, जसबाट करिब ८०र८० मेगावाट मात्र विद्युत् प्रवाह गर्न सकिन्छ, मार्कीचोकबाट विद्युत् काठमाडौँ ल्याउन त सकिन्छ तर प्रसारण लाइनको क्षमताले नथान्ने हुँदा काठमाडौँबाट हेटौँडातर्फ थप विद्युत् पठाउन पनि सकिँदैन, यसबाट भारतर्फको विद्युत् निर्यात पनि प्रभावित हुनेछ”, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो । 
 
त्रिशूली करिडोरबाट माथिल्लो त्रिशूली ३ ए, रसुवागढी, साञ्जेनलगायतका जलविद्युत् आयोजनाहरुको विद्युत् काठमाडौँ आउँछ, मार्कीचोक–नयाँ भरतपुर प्रसारण लाइन निर्माण सम्पन्न भएमा मात्र उक्त विद्युत्लाई भरतपुरबाट हेटौँडातर्फ र बुटवलतर्फ प्रवाह गर्न सकिने प्राधिकरणले जनाएको छ । त्यसो हुन नसक्दा विद्युत् कतै प्रवाह गर्न नसकी अवरोध आउन सक्ने अवस्था देखिएको छ । 
 
घिसिङले चितवनका प्रमुख जिल्ला अधिकारी र डिभिजन वन कार्यालयका प्रमुखलाई फोन गरी वन क्षेत्रको जग्गा प्रयोग र रुख कटानमा स्वीकृति प्रक्रियामा सहजीकरण गरिदिएर महत्वपूर्ण प्रसारण लाइनको निर्माण जतिसक्दो छिट्टो सम्पन्न गर्न आवश्यक सहयोग गरिदिन आग्रह गर्नुभयो ।
 
आयोजनाअन्तर्गत लमजुङको उदीपुरबाट गोरखा, तनहुँ हुँदै नयाँ भरतपुरसम्मको प्रसारण लाइन निर्माणका लागि ६९ दशमलव ६९ हेक्टर राष्ट्रिय वन प्रयोग र त्यहाँ रहेका १० हजार दुई सय २५ रुख कटान गर्नु पर्नेछ । मन्त्रिपरिषद्को गत २५ माघको बैठकले वन क्षेत्रको जग्गा प्रयोग र रुख कटानका लागि स्वीकृति दिएको थियो । 
 
वन क्षेत्रको जग्गा प्रयोग गरेबापत सोही बराबरको जग्गा उपलब्ध गराउनु पर्ने वन नियमावली, २०७९ मा भएको व्यवस्था बमोजिम आयोजनाले गत फागुन १३ गते निजी जग्गा खरिदका लागि सार्वजनिक सूचना जारी गरेको थियो । 
 
नियमावलीमा भएको व्यवस्था बमोजिम सम्बन्धित जिल्लाभित्र सम्भव भएसम्म आयोजनास्थल नजिक पर्ने राष्ट्रिय वन क्षेत्रसँग जोडिएको र समान भौगोलिक परिस्थितिकीय क्षेत्रमा पर्ने तथा वन विकास गर्न सकिने भू–बनोट भएको निजी जग्गा बिक्रीका लागि प्रस्ताव आह्वान गरिएको थियो । तर, जग्गा बिक्रीका लागि प्रस्ताव नै नपरेको आयोजना प्रमुख नारायण रेग्मीले बताउनुभयो । 
 
अब प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने जग्गा प्राप्ति सहजीकरण समितिले जग्गा प्राप्त नभएको सिफारिस वन तथा भू–संरक्षण विभागमा गरिदिनु पर्नेछ । त्यसपछि आयोजनाले वन क्षेत्रको जग्गा प्रयोग गरेबापत तोकिएको रकम वन विकास कोषमा जम्मा गरेपछि मात्र विभागसँग सम्झौता हुने छ । त्यसपछि मात्र वन क्षेत्रको जग्गा प्रयोग र रुख कटानको प्रक्रिया अगाडि बढ्ने छ । प्राधिकरणको टोलीले जग्गा प्राप्ति सहजीकरणको बैठक तत्काल राखी विभागमा सिफारिस गरिदिन आग्रह गरेको हो । 
 
मार्कीचोक–नयाँ भरतपुर खण्डमा ८० वटा टावर निर्माण गर्नुपर्ने छ । त्यसमध्ये ३५ वटा टावरको जग हालिएको छ । पाँच वटा टावर खडा गरिएको छ । 
 
मस्र्याङदी करिडोर प्रसारण लाइन आयोजनाअन्तर्गत २२० केभी क्षमताका चारवटा सबस्टेसनहरुको निर्माण हुँदैछन् । चितवनमा नयाँ भरतपुर सबस्टेसनको निर्माण सम्पन्न भइसकेको छ । लमजुङको उदीपुर तथा खुदी र मनाङको धारापानीमा सबस्टेसन निर्माणाधीन छन् ।  
 
मस्र्याङ्दी र त्यसका सहायक नदीबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाहका लागि मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना सुरु गरिएको हो । प्रसारण लाइनबाट करिब एक हजार छ सय मेगावाट विद्युत् प्रवाह गर्न सकिने छ । आयोजनाअन्तर्गत चितवनको भरतपुरदेखि  मनाङको धारापानीसम्मको एक सय १३ किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माणाधीन छ । 
 
आयोजनालाई तीन प्याकेजमा विभाजन गरी काम भइरहेको छ । पहिलो प्याकेजअन्तर्गत उदीपुरबाट नयाँ भरतपुर सबस्टेसनसम्मको करिब ६७ किलोमिटर प्रसारण लाइन निर्माण भइरहेको छ । दोस्रो प्याकेजअन्तर्गत नयाँ भरतपुर र उदीपुर सबस्टेसन निर्माण गरिएको छ । तेस्रो प्याकेजअन्तर्गत खुदीबाट धारापानीसम्मको ४६ किलोमिटर प्रसारण लाइन र दुई वटा सबस्टेसन निर्माण भइरहेका छन् । 
 
नेपाल सरकारको लगानी र युरोपेली लगानी बैकको सहुलितपूर्ण ऋणमा निर्माणाधीन आयोजनाको अनुमानित लागत करिब रु १६ अर्ब छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago