भर्खरै

मुलुकका सम्भावनाप्रति सकारात्मक सोच र स्वावलम्बी भावना अपरिहार्यः राष्ट्रपति पौडेल

  • प्रकाशित मिति : सोम, साउन २८, २०८१
  • - विद्युत संसार संवाददाता
title
काठमाडौँ, २८ साउन । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकका स्रोत र सम्भावनाअनुरुपको सीप तथा लगनशीलताको निर्माण एवम् राष्ट्रका सम्भावनाप्रति सकारात्मक सोच र देशभक्ति अनुकुल स्वाभिमानी तथा स्वावलम्बी भावनाको विकास आजको अनिवार्य आवश्यकता भएको बताउनुभएको छ ।
 
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय  युवा परिषद् र संयुक्त राष्ट्रसङ्घको संयुक्त आयोजनामा आज यहाँ आयोजित ‘नेपाल युवा सम्मेलन, २०२४’ लाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले मुलुकको सम्भावना पहिचान गरी त्यसको समुचित प्रयोगका लागि राष्ट्रिय भावना जागृत हुन आवश्यक रहेको बताउनुभयो ।
 
“दिनानुदिन विदेश पलायन भइरहेको युवा शक्तिलाई नेपालमै रोकेर राष्ट्र निर्माणमा कसरी प्रयोग गर्ने भन्ने कुरा आज धेरै गम्भीर बनेर आएको छ । हामीसँग भएका प्राकृतिक सम्भावनालाई समुचित ढङ्गले उपयोगमा ल्याउन सके नेपालले समृद्धिका लागि कतै भौतारिन पर्ने छैन”, राष्ट्रपति  पौडेलले भन्नुभयो । उहाँले सूचना प्रविधिको विकास तथा बदलिदो सामाजिक परिवेशअनुसार परिवर्तन भएका युवाका आवश्यकता र भावनालाई सम्बोधन गर्ने गरी नयाँ नीतिको आवश्यकता रहेको स्पष्ट पार्नुभयो । राज्यको सर्वाङ्गिण विकासमा युवाको  विशेष योगदानका लागि उपयुक्त अवसर प्रदान गर्ने नीति आवश्यक रहेको उहाँको भनाइ थियो ।
 
राष्ट्रपति पौडेलले भन्नुभयो, “राष्ट्रिय विकासमा युवा सहभागिता अभिवृद्धि गर्दै राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको पूर्णउपयोगको वातावरण सिर्जना गरी युवाको सशक्तीकरण र विकासका लागि शिक्षा, स्वास्थ्य, रोजगारी, प्रतिनिधित्व, खेलकुद तथा मनोरञ्जनलगायतका क्षेत्रमा विशेष अवसर प्रदान गर्न जरुरी छ ।” उहाँले औपचारिक रुपमा युवाको सरोकार सम्बोधन गर्न २०५२ सालदेखि सरकारले युवा, खेलकुद तथा संस्कृति मन्त्रालयको स्थापना गरी संस्थागत प्रयास थालेको स्मरण गर्नुभयो । 
 
नवौँ पञ्चवर्षीय योजनादेखि पहिलो पटक युवासम्बन्धी विषयलाई योजनावद्ध विकास प्रयासमा समेट्ने प्रयास भएको राष्ट्रपति पौडेलले उल्लेख गर्नुभयो । विसं २०६६ मा नेपाल सरकारले १६ देखि ४० वर्ष उमेर समूहलाई युवाको रूपमा परिभाषित गरेपछि पहिलोपटक युवा नीति, २०६६ जारी गरिएको थियो । पछि राष्ट्रिय युवा नीति, २०७२  जारी भएको थियो ।
 
राष्ट्रपति पौडेलले परिवर्तित विश्व परिवेश, विज्ञान प्रविधिमा आएको नविनतम विकासको सन्दर्भमा युवासम्बद्ध समस्या तथा चुनौतीलाई सम्बोधन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “यी चुनौतीलाई सम्बोधन गर्न युवालाई राष्ट्र र राष्ट्रियताप्रति समर्पित, वैयक्तिक स्वतन्त्रता, विश्वव्यापी मानवअधिकारको सिद्धान्त, लोकतान्त्रिक मूल्य मान्यता, विश्वशान्ति, सह–अस्तित्वको भावना जगेर्ना, वातावरणीय सम्पदाको संरक्षण र संवर्धन तथा विभिन्न जातजाति, भाषा,  धर्म,  संस्कृतिबीच सहिष्णुता कायम गर्दै  युवाको शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका आवश्यकताको परिपूर्ति समानता एवं समतामूलक वितरणको सिद्धान्तको आधारमा गर्न आवश्यक छ ।”
 
युवा राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणका अग्रदुत तथा परिवर्तनका संवाहक र राष्ट्रको अमूल्य सम्पत्ति रहेको राष्ट्रपति पौडेलको भनाइ थियो ।
 
सोही कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले आजको विश्व परिवेशमा सूचना प्रविधिको विकास र दिगो विकासको अवधारणालाई युवासँग जोडेर अगाडि बढाउन सक्नुपर्ने बताउनुभयो । यसवर्षको अन्तर्राष्ट्रिय युवा दिवसले पनि यीनै दुई कुरालाई जोड दिएको उहाँको भनाइ थियो । 
 
“आजको विश्व परिवेशमा डिजिटल पुर्वाधारसँगै हाम्रो समाज र दैनिक जीवन द्रुतगतिमा परिवर्तन भइरहेको छ । दिगो विकासका लक्ष्य प्राप्तिका लागि भएका प्रयासमा डिजिटल रुपान्तरणको महत्वलाई स्वीकार्दै प्राविधिक जनशक्ति निर्माण र जलवायु परिवर्तनको अवस्थासमेतलाई आत्मसाथ गर्दै अगाडि बढ्नुपर्नेछ”, मन्त्री चौधरीले भन्नुभयो । युवालाई शिक्षा, स्वास्थ्य, रोजगारजस्ता आधारभूत आवश्यकता उपलब्ध गराई मुलुकको विकास र समृद्धितर्फ उन्मुख हुने कुरामा प्रति सरकार गम्भीर रहेको उहाँको भनाइ थियो ।
 
नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासिय संयोजक हाना सिङ्गर हम्दीले विश्वभरका युवालाई जोड्ने उद्देश्यले आगामी सेप्टेम्बरमा अमेरिकाको न्युयोर्कमा आयोजना हुने ‘समिट अफ दि फ्युचर’का लागि यो सम्मेलनमा उठान हुने विषय र जारी हुने घोषणापत्र महत्वपूर्ण रहेको बताउनुभयो । जलवायु परिवर्तनका मुद्दा र दिगो विकासका लागि युवाले अग्रपङ्क्तिमा रहेर वकालत गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । सीप र प्रविधि विकासमा लगानीसँगै लैंगिक समानता र जलवायु परिवर्तनका मुद्दामा गम्भीर हुन उहाँले आग्रह गर्नुभयो ।
 
कार्यक्रममा काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले युवालाई प्रवर्दन गर्ने सरकारको नीति तथा कार्यक्रम हुने गरेपनि त्यसको प्रभावकारी कार्यान्वयन र मुख्यगरी आन्तरिक रोजगारी सिर्जनामा समस्या भएको बताउनुभयो । 
 
“युवाहरुभित्र सम्भावना, जोश जाँगर र सिर्जनशीलता छ तर, नेपालको मुख्य चुनौती रोजगारी सिर्जना हो । रोजगारीबाटै समृद्धि हासिल हुन्छ”, उहाँले भन्नुभयो, “युवाले आजका लगि मात्र नभई भविष्यका लागि पनि सोच्नुपर्ने बेला छ । इतिहासबाट सिकेका कुराबाट वर्तमानमा कर्म गर्ने र त्यसबाट न्यायपूर्ण समाज निर्माण गरी दिगो भविष्य निर्धारण गर्नेतर्फ हामी लक्षित हुनुपर्छ ।” 
 
युवालाई मुलुकको सम्पत्तिका रुपमा लिइनुपर्ने उल्लेख गर्दै उपप्रमुख डङ्गोलले पछिल्लो समय युवाको राजनीतिमा सकृयताले आशाको बिम्ब देखाएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago