भर्खरै

उर्जामन्त्री खड्काद्धारा उर्जा क्षेत्रको विकासका लागि पूर्वमन्त्रीहरुसँग छलफल

  • प्रकाशित मिति : मंगल, भदौ ११, २०८१
  • - विद्युत संसार संवाददाता
title
काठमाडौँ, ११ भदौ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले मुलुकको उर्जा क्षेत्रको विकासका लागि पूर्व उर्जामन्त्रीहरुसँग छलफल गर्नुभएको छ । 
 
उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा आज भएको भेटमा पूर्वमन्त्रीहरुले मुलुकको उर्जा क्षेत्रको विकासमा सबै राजनीतिक दलले एउटै धारणा बनाएर अगाडि बढ्नुपर्ने बताउनुभएको हो । 
 
छलफलमा उर्जामन्त्री खड्काले सरकारले १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएकाले यसलाई पुरा गर्न पूर्वमन्त्रीको आवश्यक राय र सुझाव आवश्यक रहेको बताउनुभयो । 
 
“मुलुकले सबैभन्दा ठूलो आयस्रोतका रुपमा उर्जा क्षेत्रलाई लिएको छ, यसलाई कसरी अगाडि बढाउन सकिन्छ, यहाँहरुजस्ता पूर्वमन्त्रीको अनुभव, राय र सल्लाह मन्त्रालयलाई आवश्यक पर्छ,”उहाँले भन्नुभयो । 
 
मन्त्री खड्काले बुढीगण्डकी, दुधकोशी, नलगाड, फुकोट कर्णाली, पञ्चेश्वर, माथिल्लो अरुण जलविद्युत आयोजनाजस्ता आयोजनालाई लगानी कसरी जुटाएर अगाडि बढाउन सकिन्छ, उच्च क्षमताको विद्युत प्रसारण लाइन निर्माण र विस्तारमा निजी क्षेत्रलाई कसरी आकर्षण गर्न सकिन्छ भन्नेबारे पूर्वमन्त्रीको राय सुझाव माग्नुभएको थियो । 
 
यस्तै, छिमेकी मुलुक भारत, चीन र बंगलादेशसँग विद्युत व्यापारमा सन्तुलन कायम गर्ने र अधिकतम लाभ लिने विषय, विद्युत निर्यातमा भारत, चीनबाहेक अन्य मित्रराष्ट्रसँगको लगानीका लागि सम्भावनाका विषय, संसदमा दर्ता भएको विद्युत विद्येयकसम्बन्धी विषयलाईलाई अगाडि बढाउनेबारे छलफल गर्नुभएको थियो । 
 
छलफलमा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको समृद्धिको क्षेत्र जलस्रोत क्षेत्र भएकाले यसलाई अधिकतम प्रयोग गरेर देशले फाइदा लिनुपर्ने बताउनुभयो । “समयमै आयोजना नसकिँदा लागत बढेर गएको छ, यसलाई सुक्ष्म रुपमा विश्लेषण गरेर समाधानतर्फ लाग्नुपर्छ,” उहाँले भन्नुभयो । 
 
पूर्वमन्त्री कार्कीले जलविद्युत निर्यात गर्ने मुलुकको रुपमा नेपाललाई स्थापित गर्नका लागि मुलुकको ध्यान जलविद्युत क्षेत्रको विकासमा हुनुपर्ने उल्लेख गर्नुभयो । विद्युत क्षेत्रको विकास नभई मुलुकको विकास हुन नसक्ने उहाँको भनाई थियो । 
 
पूर्वमन्त्री डा प्रकाशशरण महतले विद्युत उत्पादनसँगै प्रसारण लाईनको विकासलाई समेत प्राथमिकता दिनुपर्ने बताउनुभयो ।“ जलविद्युत गृहमा समयमै प्रसारण लाइन नजोडिँदा उत्पादित विजुली खेर जाने अवस्था आएको छ, यसलाई सम्बोधन गर्न मन्त्रालयले विशेष ध्यान दिनुपर्छ,”– उहाँले भन्नुभयो । 
 
डा महतले डेडिकेटेड र ट्रंकलाईन क्षेत्रमा देखिएको विवादलाई कानूनबमोजिम टुङ्ग्याउनुपर्ने बताउनुभयो । उहाँले जलस्रोतसँगै सोलार इनर्र्जीलाई समेत प्राथमिकता दिनुपर्ने उल्लेख गर्नुभयो । 
 
पूर्वमन्त्री जनार्दन शर्माले प्रसारण लाइन निर्माणको जिम्मा निजी क्षेत्रलाई दिनुपर्ने बताउनुभयो । राज्यको नेतृत्व रहने गरी प्रसारण लाइन निर्माणको जिम्मा निजी क्षेत्रलाई दिनुपर्ने उहाँको भनाई थियो । “प्रसारण लाईनको जिम्मा निजी क्षेत्रलाई दिनु उपयुक्त हुन्छ, किनकी हामीलाई हाई भोल्टेज आवश्यकता छ,”– उहाँले भन्नुभयो । 
 
उहाँले देश समृद्धितर्फ अघि बढाउने हो भने बिजुली कसरी देशभित्रै खपत गर्न सकिन्छ भन्नेतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । 
 
पूर्वमन्त्री वर्षमान पुनले मुलुकको राष्ट्रिय प्राथमिकता उर्जा क्षेत्र भएकाले उर्जा विकासमा सबै पार्टीको एउटै धारणा हुनुपर्ने बताउनुभयो । उहाँले उर्जा क्षेत्रको विकासका लागि आवश्यक नीतिलाई ग्यारेन्टी गरेर अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभयो । 
 
पूर्वमन्त्री पुनले भुराजनीतिकको संवेदनशीलता हेरेर छिमेकी मुलुकबाट लगानी भित्र्याउन सरकार लाग्नुपर्ने बताउनुभयो । विद्युत विद्येयकलाई तत्काल अगाडि बढाउनुपर्ने उहाँको भनाई थियो । 
 
पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको उर्जा क्षेत्रको विकासका लागि मन्त्रालय, नेपाल विद्युत प्राधिकरण र विद्युत विकास विभागबीच समन्वय आवश्यक रहेको बताउनुभयो । उहाँले उर्जा क्षेत्रलाई अगाडि बढाउन जलाशययुक्त आयोजनालाई अगाडि बढाउनुपर्ने उल्लेख गर्नुभयो । 
 
पूर्वमन्त्री गोकर्ण विष्टले मुलुकमा उर्जा सन्तुलनका लागि जलाशययुक्त आयोजनालाई अगाडि बढाउनुपर्ने बताउनुभयो । उहाँले उर्जा क्षेत्रको समस्या समाधानका लागि उर्जा विद्येयकलाई चाँडो पास गर्नुपर्ने उल्लेख गर्नुभयो । 
 
पूर्वमन्त्री विष्टले आन्तरिक खपत बढाउने गरी सरकारले उर्जा क्षेत्रको विकासमा ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो । कम बोल्ने र परिणाम दिनेगरी काम गर्नुपर्ने उहाँको भनाई थियो । 
 
पूर्वमन्त्री महेन्द्रबहादुर शाहीले निजी क्षेत्रलाई उर्जा क्षेत्रमा आकर्षण गर्न जरुरी रहेको उल्लेख गर्नुभयो । नेपालको ठूलो आर्थिक स्रोत जलस्रोत भएकाले यसको विकासमा मन्त्रालय योजना बनाएर अगाडि बढ्नुपर्ने उहाँको भनाई थियो । 
 
उहाँले विद्युत विद्येयकलाई तयार गर्दा विद्युत क्षेत्रका विज्ञसँग छलफल गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । पूर्वमन्त्री शाहीले उर्जाको विकासका लागि बैकल्पिक उर्जालाई समेत ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago