भर्खरै

भैरहवामा नयाँ पेट्रोलियम भण्डारणका लागि जग्गा व्यवस्थापनको काम अन्तिममा चरणमा

  • प्रकाशित मिति : सोम, भदौ १७, २०८१
  • - विद्युत संसार संवाददाता
title
भैरहवा, १७ भदौ । रुपन्देहीको भैरहवामा नयाँ पेट्रोलियम भण्डारण गृह निर्माणका लागि जग्गा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ । नेपाल आयल निगमले रुपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकाको सीमा क्षेत्रस्थित रोहिणी खोला किनारमा करिब १४ बिघा जग्गामा लुम्बिनी प्रदेशस्तरीय इन्धन भण्डारण डिपो निर्माणको तयारी गरिरहेको छ ।
 
पहिलो चरणमा जग्गा व्यवस्थापन र दोस्रो चरणमा भण्डारण ट्याङ्क निर्माण गरिने परियोजना संयोजक इन्जिनियर प्रदीप यादवले जानकारी दिनुभयो । पहिलो चरणअन्तर्गत जग्गाको पश्चिमी र उत्तरी क्षेत्रमा रोहिणी खोलामा आउने बाढीबाट हुनसक्ने क्षति रोक्न ‘ग्याबिन’ र ‘रिटेनिङ’ पर्खाल लगाउने काम ८० प्रतिशत सम्पन्न भएका छन् ।
 
निगमले तीनवटा ठेकेदारमार्फत गत जेठ १८ गतेदेखि भण्डारण गृहको जग्गा व्यवस्थापनका काम गरिरहेको छ । भण्डारण गृह निर्माणस्थलमा पर्खाल लगाउने र जमिन सम्याउने कार्य गत असार मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिए पनि लगातारको वर्षा र रोहिणी खोलमा आएको बाढीले केही समय ढिला भएको निगमको भनाइ छ ।
 
“बर्खायाममा रोहिणी खोलामा पानीको सतह बढेको तथा ढुङगाको सहज उपलब्धता नहुँदा पहिलो प्याकेजमा केही ढिलाइ भएको हो”, साइट इन्जिनियर अङ्कित रिमालले भन्नुभयो, “अन्य प्याकेजका काम अन्तिम चरणमा छन्, अबको एक महिनाभित्र पहिलो चरणका सबै काम सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।”
 
        रोहिणी खोलाको समानान्तर छ मिटर अग्लो छ सय २० मिटर ग्याविन र जग्गाको उत्तरतर्फ चार दशमलव दुई मिटर अग्लो एक सय ५० मिटर लामो रिटेनिङ पर्खाल लगाइएको छ । भण्डारणस्थल प्रस्तावित जग्गालाई रोहिणी खोलामा आउने बाढीबाट सुरक्षित बनाउन परियोजनास्थलभन्दा माथि करिब एक सय ८० मिटर अर्को ग्याबिन पर्खालसमेत लगाइएको छ । रोहिणी खोलामा पछिल्लो ५० वर्षमा आएको बाढीको अवस्थालाई आकलन गरेर तटबन्ध निर्माण गरिएको निगमले जनाएको छ ।
 
ग्याविन पर्खालका लागि छ र जग्गा पुर्नका लागि एक गरी सात वटा प्याकेजमा विभाजन गरेर ठेक्का लगाइएको थियो । सात वटा प्याकेज आठ करोडमा ठेक्का लागेको थियो । प्याकेज नं ७ अन्तर्गत जग्गा पुर्ने तथा सम्याउने कार्य लगभग सम्पन्न भएको छ ।
 
प्याकेज नं ४, ५ र ६ मा ग्याबिन पर्खाल लगाउने काम सम्पन्न भइसकेका छन् । प्याजेक नं ३ अन्तर्गत करिब ७० प्रतिशत काम सकिएको छ । काठमाडौँस्थित शुभश्री सर्वश्री जेभीले पहिलो र दोस्रो, वीरगन्जस्थित उज्यालो निर्माण सेवाले तेस्रो तथा प्रिजन कन्ट्रक्सनले बाँकी चार वटा प्याकेजमा काम गरिरहेको छ ।
 
        अबको एक महिनाभित्र जग्गाको सुरक्षाका लागि पर्खाल लगाउने र सम्याउने काम सम्पन्न गरी ‘कम्पाउण्ड’ निर्माणको काम थालिने इन्जिनियर रिमालको भनाइ छ ।
         
        रुपन्देहीको भलबारी डिपोको भण्डारण क्षमता न्यून तथा घनाबस्ती नजिक रहेकाले परासी–भैरहवा सडक खण्डमा खरिद गरिएको करिब १४ बिघा जग्गामा नयाँ भण्डारण गृह निर्माण गर्न लागिएको निगमले जनाएको छ । उक्त भण्डारण निर्माण भएसँगै लुम्बिनी प्रदेशका लागि पेट्रोलियम पदार्थको आपूर्तिमा सहज हुने अपेक्षा गरिएको छ । सो भण्डारणले लुम्बिनी प्रदेशको २० दिनको माग धान्नेछ ।
 
        निगमले पेट्रोलियम पदार्थको भण्डारण क्षमता अभिवृद्धिका लागि देशका विभिन्न स्थानमा नयाँ भण्डारण गृह निर्माण तथा क्षमता विस्तार गर्दै आइरहेको छ । रोहिणी क्षेत्रमा करिब रु तीन अर्ब लागतमा नयाँ भण्डारण गृह निर्माण गरिने परियोजना संयोजक यादवले जानकारी दिनुभयो । सो स्थानमा डिजेल भण्डारणका लागि २१०० किलोलिटर तीन, पेट्रोल भण्डारणका लागि १६०० किलोलिटर दुई र मट्टितेल भण्डारणका लागि ७० किलोलिटरका तीन वटा ट्याङ्क निर्माण गरिनेछ ।
 
        भण्डारण निर्माण भएसँगै हालको भलबारी डिपो रोहिणी खोला किनारमा सर्नेछ । असोजभित्र परियोजनाको डिजाइन सम्पन्न हुने निगमले जनाएको छ । परियोजनाको डिजाइन काठमाडौँ विश्वविद्यालयले गरिरहेको छ । आगामी मङ्सिरमा भण्डारण गृह निर्माणको शिलान्यास गर्ने र विसं २०८३ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 11 months ago

७६ औं कम्युनिष्ट स्थापना दिवसको अवसरमा विद्यार्थी तथा जेष्ठ कम्युनिष्ट योद्धाहरु सम्मानित

नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा नेकपा एमाले गण्डकी गाउँपालिका कमिटिले विद्यार्थी तथा जेष्ठ 1 year ago

वर्षान्त २०८१ः गतिमा ऊर्जा क्षेत्र

काठमाडौँ, ३१ चैत । मुलुकको आर्थिक विकासको प्रमुख आधारका रूपमा स्थापित ऊर्जा क्षेत्रमा यस वर्ष 1 year ago

नयाँ बर्षको उपलक्ष्यमा डिलरहरुलाई ५ दिने बाली इन्डोनेसिय भ्रमण

चैत२८, काठमाडौं । प्रकाश ग्रुप ट्रेडिङ्ग प्रालिले आफ्नो डिलरहरुलाई नयाँ बर्ष २०८२ को उपलक्ष्यमा ४ 1 year ago

नौ अर्ब ५० करोड नाफामा नेपाल आयल निगम

काठमाडौँ, २९ चैत । नेपाल आयल निगमले गत आर्थिक वर्ष २०८०/८१ मा रु नौ अर्ब 1 year ago