जनताको जलविद्युत् : माथिल्लो त्रिशूली थ्री बी मा रु ६६ करोडको आवेदन

  • प्रकाशित मिति : Wed-11-Dec-2075
  • - विद्युत संसार संवाददाता
title

काठमाडौँ, ११ चैत । जनताको जलविद्युत् कार्यक्रम अन्तर्गतको माथिल्लो त्रिशुली थ्री बी मा रु. ६६ करोड ३३ लाख ६३ हजार २०० करोड बराबरको आवेदन परेको छ । 
यही चैत ७ गतेदेखि प्रधानमन्त्री केपी शर्मा ओलीबाट बिक्री शुरु भएको त्रिशूली गङ्गा जलविद्युत् कम्पनीको जम्मा ३७ लाख ५ हजार कित्ता शेयरमा आज साँझ ५ बजे सम्म रु ६६ करोड ३३ लाख ६३ हजार २०० बराबरको आवेदन परेको हो । 
कार्यक्रमको पहिलो सहभागीका रुपमा प्रधानमन्त्री ओलीले १० हजार कित्ता शेयरका लागि आवेदन दिइएको थियो । उनकी धर्मपत्नी राधिका शाक्यले १० हजार, ऊर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले एक हजार र पूर्वसभामुख ओनसरी घर्तीले दुई हजार कित्ताका लागि आवेदन दिएको थियो ।
 शेयर बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालका अनुसार आज साँझ ५ बजेसम्ममा रु ६६ करोड ३३ लाख ६३ हजार २०० को आवेदन परेको छ । उनले भने बैंक तथा वित्तीय संस्थाले केही शेयर आवेदन प्रविष्ट गर्न बाँकी रहेका कारण केही विवरण थप हुन सक्नेछ । कूल एक लाख ५५ हजार ४७४ आवेदकले छ करोड ६३ लाख ३६ हजार ३२० कित्ता आवेदन गरेका छन् ।  
कूल रकमका आधारमा करिब दुई गुणा बढी र आवेदन भएको शेयर संख्याका आधारमा भने करिब १८ गुणा आवेदन परेको शेयर बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । कम्पनीको जारी पूँजी रु दुई अर्ब ४७ करोड को १५ प्रतिशत अर्थात् रु ३७ करोड पाँच लाख बराबरको रु १०० अङ्कित दरका ३७ लाख पाँच हजार साधारण शेयरमध्ये तीन प्रतिशत कम्पनीका कर्मचारीका लागि छुट्याई बाँकी ३५ लाख ९३ हजार कित्ता शेयर सर्वसाधारणका लागि बिक्री शुरु भएको हो । 
 
आवेदकले न्यूनतम १०० कित्तादेखि बढीमा एक हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको थियो । रु १०० अङ्कित मूल्यमा हाल त्यसको १० प्रतिशत हुन आउने रु १० मात्रै आवेदनका साथ उपलब्ध गराउनुपर्ने व्यवस्था थियो । बाँकी रकम भने आयोजनाको भौतिक निर्माण ५० प्रतिशत सम्पन्न भएपछि मात्रै तिर्दा हुनेछ । अग्रिमरूपमा लगानी गरिएको रकमको समेत सरकारले ब्याज उपलब्ध गराउने प्रावधान राखिएको छ । सो कम्पनीको शेयरमा लगानीकर्ताको उल्लेख्य आकर्षण रहेको छ । 
 
मन्त्रालयले १९ आयोजनालाई जनताको जलविद्युत् कार्यक्रममा समावेश गरेको छ । ती आयोजनाबाट तीन हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य सरकारले राखिएको छ । कार्यक्रमको पहिलो आयोजनाका रूपमा त्रिशूली गङ्गा जलविद्युत् कम्पनीले निर्माण गरिरहेको माथिल्लो त्रिशूली थ्री बी आयोजना छनोट गरिएको हो । गत फागुन २ गते प्रधानमन्त्री ओलीबाट जनताको जलविद्युत् कार्यक्रम घोषणा गरेको थियो । कूल ३७ मेगावाट क्षमताको उक्त आयोजनाको निर्माणसमेत शुरु भइसकेको छ ।
कम्पनीका प्रबन्ध सञ्चालक मोहनप्रसाद गौतमका अनुसार सो आयोजना विसं २०७८ फागुन १७ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजना निर्माणमा रु आठ अर्ब २२ करोड ७४ लाख ४१ हजार (निर्माण अवधिको ब्याजसमेत) लाग्ने प्रक्षेपण गरिएको छ ।

प्रतिक्रिया