भर्खरै

विपन्न वर्गको लागि निःशुल्क विद्युत् मिटर वितरण

  • प्रकाशित मिति : Sat-14-Dec-2075
  • - Admin
title

काठमाडौँ, चैत ।  नेपाल विद्युत प्राधिकरणले आर्थिक अवस्था कमजोर भएका विपन्न नागरिकलाई निःशुल्क विद्युतको मिटर वितरण गर्न थालेको छ । 
 एक अभियानकै रुपमा प्राधिकरणले आफ्नो वितरण केन्द्र अन्र्तगत देशभरका विपन्न वर्गका नागरिकहरुलाई निःशुल्क रुपमा विद्युत मिटर वितरण गर्ने कार्य सुरु गरेको हो ।   
चालू आर्थिक वर्षको बजेटमा समेत आर्थिकरुपमा विपन्न समुदायलाई निःशुल्क रुपमा मिटर दिने व्यवस्था गरिएको छ । सोही व्यवस्थालाई देशव्यापी रुपमा नै कार्यान्वयन गर्न थालिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । विपन्न वर्गले प्राधिकरणको मापदण्डअनुसारको पाँचदेखि ३० एम्पिएर क्षमताको बक्ससहितको सिङ्गल फेज विद्युत् मिटर, एमसिबी बक्स निःशुल्क पाउने छन् । प्राधिकरणले मिटर जडानका लागि सेवा शुल्क लिँदैन । सम्बन्धित स्थानीय तहले उपलब्ध गराएको विपन्न वर्गको सिफारिसका आधारमा प्राधिकरणले निःशुल्क मिटर जडान गरिदिने छ । 
 
मिटरको रु एक हजार ९३५, एमसिबीको मूल्य, अधिकतम दुईवटा पोल ९करीब १०० ९मिटर० सम्मको सर्भिस केबल, जडान गर्दा लाग्ने सेवा शुल्कसहित नयाँ मिटर जडान गर्दा लाग्ने जम्मा रु तीन हजारदेखि तीन हजार ५०० बराबरको सामान वर्गले निःशुल्क पाउने छन् । यो रकम जुटाउन नसक्दा त्यस्ता समुदायले चोरीमार्फत् विद्युत् प्रयोग गर्दै आएका थिए । 
 
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मुलुकभर रहेका वितरण केन्द्रका सञ्जालमार्फत विभिन्न वर्गलाई निःशुल्क वितरण भइरहेको जानकारी दिए । “पैसा अभावमा मिटर राख्न नसकेपछि विपन्न वर्गले हुकिङ गरी विद्युत् प्रयोग गर्दै आएका थिए, निःशुल्क मिटर वितरणपछि चोरी नियन्त्रण भई विद्युत् चुहावट घट्ने र अनाधिकृत प्रयोगमार्फत् हुने विद्युतीय दुर्घटना कम हुने छ”, घिसिङले भने, “यस कार्यक्रमले विद्युतको पहुँच विपन्न वर्गसम्म विस्तार भएको छ ।” 
 
सरकारले चालू आवमा विपन्न वर्गलाई निःशुल्क मिटर जडान कार्यक्रम कार्यान्वयन गर्न रु ४० करोड विनियोजन गरेको छ । सरकारले उपलब्ध गराएको रकमलाई प्राधिकरणले आफ्ना आठ क्षेत्रीय कार्यालयलाई रु पाँच/पाँच करोडका दरले बाँडफाँट गरेको थियो । क्षेत्रीय कार्यालयले प्राप्त रकमलाई विपन्न वर्गको सङ्ख्याका आधारमा शाखा कार्यालयलाई बाँडफाँट गरेका छन् । 
 
प्राधिकरण जनकपुर क्षेत्रीय कार्यालयका निर्देशक ओमप्रकाश महतोले निःशुल्क मिटर जडान कार्यक्रम प्रभावकारी देखिएको र लक्षित समुदायबाट राम्रो प्रतिक्रिया प्राप्त भएको जानकारी दिए । कार्यालयले तीन हजारभन्दा बढी घरधुरीमा निःशुल्क मिटर जडान गरिसकेको छ । रासस

प्रतिक्रिया