३० खर्व लगानी आउने सरकारको अपेक्षा
- प्रकाशित मिति : Sat-14-Dec-2075
- - रुपा तुलाधर

काठमाण्डौ, चैत । चैत १५ र १६ गते हुने लगानी सम्मेलनमा रु ३० खर्व लगानी प्रतिवद्धता आउने अपेक्षा सरकारले लिएको सञ्चार तथा सूचना मन्त्री गोकुल प्रसाद बाँस्कोटाले बताए । सिंहदरबार स्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज भएको पत्रकार सम्मलेनमा स्वदेशी तथा विदेशी लगानी सहीत उक्त रकम बराबर लगानी प्रतिवद्धता आउने अपेक्षा गरीएको उनले बताएका हुन् ।
सम्मेलनमा ४० देशका उच्चस्तरीय प्रतिनिधिमण्डलको सहभागिता हुने बताए । मन्त्री बाँस्कोटाले भने “सम्मेलनमा सरकारका ५० र निजी क्षेत्रका २५ गरी कूल ७७ परियोजनालाई ‘शो केश’ मा राखिने छ ।”
सम्मेलनका क्रममा १२ देखि १५ ओटा सम्म परियोजनासँग समझदारीमा हस्ताक्षर गर्ने तयारी समेत भएको उनले जानकारी दिए । नेपाल महानिर्माणको अभियानमा सहभागी बन्नु पर्ने बताउदै मन्त्री बाँस्कोटाले भने “हामी परनिर्भर हुन चाहन्नौ तर अन्र्तनिर्भर भई अघि बढ्नु पर्छ ।” सम्मेलनमा ६ सय भन्दा बढी विदेशी लगानीकर्ताको सहभागी हुने र सोही संख्यामा स्वदेशी लगानीकर्ताको उपस्थिति हुने उनले जानकारी दिए ।
सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा हुने छ । वैदेशिक लगानी भित्र्याउने उद्देश्यले गत वर्ष पनि ’नेपाल लगानी सम्मेलन’ को आयोजना गरीएको थियो । उक्त सम्मेलनमा स्वदेशी तथा विदेशी गरी करिब रु १४ खर्बको (१३.५२ विलिएन अमेरिकी डलर) लगानी प्रतिबद्धता आएको थियो । यद्यपि उक्त लगानी सम्मेलनमा आएको प्रतिबद्धता अनुरुप काम हुन सकेको छैन ।