सातै प्रदेशमा सिसी क्यामरा जडान
- प्रकाशित मिति : Fri-20-Dec-2075
- - विद्युत संसार साप्ताहिक

काठमाण्डौँ, चैत । अपराध नियन्त्रण गर्न नेपाल प्रहरीले सातै प्रदेशमा सिसी क्यामरा जडान गरेको छ । आर्थिक वर्ष शुरुवातदेखि अहिलेसम्म विभिन्न संघ संस्थासँगको सहकार्यमा सातै प्रदेशका संवेदनशील क्षेत्रमा एक हजार ३ सय ५७ स्थानमा सिसी क्यामरा जडान गरेको हो ।
प्रहरी प्रवक्ता उत्तमराज सुवेदीका अनुसार प्रदेश नं १ मा १५७, प्रदेश नं २ मा १९१, प्रदेश नं ३ मा ८५, गण्डकी प्रदेशमा १४५, प्रदेश नं ५ मा २२५, कर्णाली प्रदेशमा २१२ र सुदूरपश्चिम प्रदेशका १६५ स्थानमा क्यामरा जडान भएका छन् । महानगरीय प्रहरी कार्यालयअन्तर्गत १७७ स्थानमा सिसी क्यामरा जडान गरिएको जानकारी दिए ।
सिसी क्यामराका कारण गम्भीर अपराधका घटनामा दोषी पत्ता लगाउन सहज भएको उल्लेख गर्दै प्रहरीले अन्य क्षेत्रमा समेत क्यामरा राख्ने योजना बनाएकोे उनले बताए ।
अहिलेसम्म विभिन्न संघ संस्थाको सहयोगमा एक हजार १२३ र प्रहरीको आफ्नै बजेटबाट २३४ स्थानमा क्यामरा राखिएकोमा ९२५ क्यामरालाई भने प्रहरीले आफैँ निगरानी गर्दै आएको छ ।
समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत विभिन्न स्थानीय तहबाट आवश्यक बजेट छुट्याएर क्यामरा राख्ने कामसमेत भइरहेको छ । अहिलेसम्म ७५१ स्थानीय तहसँग सम्झौता गरी प्रहरी र समुदायले शान्ति सुरक्षा तथा अपराध नियन्त्रणमा समाजमा सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको प्रहरी जनाएको छ ।