भर्खरै

माथिल्लो त्रिशुली ३ बी जलविद्युत आयोजनाको शेयर धनीले ८ प्रतिशत ब्याज पाउने

  • प्रकाशित मिति : Fri-20-Dec-2075
  • - मोहन प्रसाद गौतम, प्रबन्धक,संचालक, त्रिशुली जलविद्युत कम्पनी
title

सरकारले ल्याएको ‘जनताको जलविद्युत कार्यक्रम’ अन्र्तगत माथिल्लो त्रिशुली ३ बी जलविद्युत आयोजनाको सर्वसाधारण समूहको शेयर निष्कासन भएको छ ।  ‘नेपालको पानी जनताको लगानी, हरेक नेपाली जलविद्युत शेयर धनी’ भन्ने मूल नाराका साथ सरकारले ल्याएको जनताको जलविद्युत कार्यक्रम मार्फत सम्पूर्ण नेपाली जनतालाई जलविद्युतको शेयर धनी बनाउने सरकारको लक्ष्य रहेको छ । यसै बीच त्रिशुली जलविद्युत कम्पनी लिमिटेडका प्रबन्ध संचालक मोहन प्रसाद गौतमस“ग विद्युत संसार साप्ताहिकका भीमलाल श्रेष्ठले गरेको कुराकानीको केही अंश :
 
माथिल्लो त्रिशुली ३ बी जलविद्युत आयोजनाका बारेमा बताइदिनु होस् न् । 
३७ मेगावाट क्षमताको माथिल्लो त्रिशुली ३ बी जलविद्युत आयोजना नेपाल सरकारले घोषणा गरेको ‘जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गत १९ वटा जलविद्युत आयोजना मध्ये पहिलो आयोजना हो ।  यस आयोजना प्रवर्दन गर्ने उद्धेश्यले नेपाल विद्युत प्राधिकरण र नेपाल दूरसंचार कम्पनी लिमिटेडको सहकार्यमा वि. सं. २०६८ साल बैशाख २९ गते त्रिशुली जलविद्युत कम्पनी लिमिटेड स्थापना भएको थियो ।  नुवाकोट र रसुवा जिल्लामा निर्माणाधीन यस आयोजनाको प्रवर्द्धक त्रिशुली जलविद्युत कम्पनी लिमिटेड रहेको छ । यस कम्पनीले आयोजनाको विद्युत उत्पादन अनुमति पत्र वि.सं. २०७२ जेठ २४ गते प्रात गरेको थियो । आयोजना EPC मोडलमा निर्माण गर्नका लागि अन्र्तराष्ट्रिय प्रतिस्पर्धीबाट छनौट भएका निर्माण व्यवसायी चिनियाँ कम्पनी सिचुवान आन्हे हाइड्रोलिक तथा हाइड्रो इलेक्ट्रिक इन्जिनियरिङ कम्पनी लिमिटेड संग निर्माण सम्झौता भएको छ ।  रन अफ रिभर प्रकारको यस आयोजना नेपाल विद्युत प्राधिकरणद्वारा निर्माणाधीन ६० मेगावाट क्षमताको माथिल्लो त्रिशुली ३ ए जलविद्युत आयोजनाको क्यासकेड प्रकारको आयोजना हो ।  ‘जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गत यस आयोजनाको पहिलो चरणमा सर्वसाधारण समूहको शेयर आवेदनका लागि आवेदनकर्ताले न्यूनतम १०० देखि १० हजार सम्म शेयर खरिद गर्न पाउने व्यवस्था गरिएको थियो । शेयर धनीले अहिले शेयरको १० प्रतिशत रकम मात्र बुझाएका छन्  । बाँकी ९० प्रतिशत रकम आयोजनाको सम्पूर्ण कार्य ५० प्रतिशत भएपछि बुझाउनुपर्ने कार्यवधि रहेको छ । आवको करिब १० महिनाभित्र आयोजनाको ५० प्रतिशत काम सकिने अनुमान रहेको छ । 
 
कम्पनीको शेयर संरचना बारे केहि प्रकाश पारिदिनु हुन्छ कि ?
आयोजना निर्माणको लागि आवश्यक लगानी ऋण र स्वपूँजी (ऋण ७० प्रतिशत र स्वपूँजी ३० प्रतिशत) बाट जुटाउने योजना रहेको छ । सरकारको लक्ष्य नै आम जनतालाई जलविद्युत आयोजनाको शेयरधनी बनाउने रहेको छ । सरकारको सोही लक्ष्य अनुसार नै जलविद्युत आयोजनाहरुमा जनताले लगानी गर्न पाउने भएका छन् ।  माथिल्लो त्रिशुली ३ बी जलविद्युत आयोजनामा सर्वसाधारण समूह अन्तर्गत जारी पुँजी ( रु. २ अर्ब ४७ करोड) को १५ प्रतिशतले हुन आउने ३७ लाख ५ हजार कित्ता शेयर रहेको छ । कम्पनीको प्रबन्ध पत्र तथा नियमावली अनुसार बाँकी जारी पूंजीको ३० प्रतिशत नेपाल विद्युत प्राधिकरण, ३० प्रतिशत नेपाल दूरसंचार कम्पनी लिमिटेड, १० प्रतिशत आयोजना प्रभावित क्षेत्र नुवाकोट र रसुवा जिल्लाका स्थानीय बासिन्दाहरु, ५ प्रतिशत नुवाकोट र रसुवा जिल्लाका स्थानीय तहहरु, ५ प्रतिशत जलविद्युत आयोजनाहरुमा लगानी गर्ने उद्धेश्यले आयोजना रहेको नुवाकोट र रसुवा जिल्लाका स्थानीय बासिन्दाहरुले संस्थापन गरेका कम्पनीहरु र ५ प्रतिशत शेयर धनी सम्झौता भएका बखत २०६८/०१/२९ देखि शेयर  निष्कासन गरेका बखत सम्ममा नेपाल विद्युत प्राधिकरण र नेपाल दूरसंचार कम्पनी लिमिटेड मा कार्यरत स्थायी कर्मचारीहरुका लागि छुट्याई बाँडफाँड गर्ने व्यवस्था रहेको छ । ऋण लगानीका लागि त्रिशुली जलविद्युत कम्पनी लिमिटेड र नबिल बैंकको अगुवाई, जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडको सह–अगुवाई तथा नेपाल बैंक लिमिटेड सहभागी रहने गरी गठन गरिएको सह–वित्तियकरण समूहसंग ऋण सम्झौता (Credit Facilities Agreement) मिति २०७५/०५/०४ मा  सम्पन्न भएको  छ ।   
 
यो आयोजनाको शेयर निष्कासन प्रक्रिया अरु आयोजना भन्दा किन फरक बनाईयो ?
जलविद्युत आयोजनाको साधारण शेयर निष्कासनका लागि धितोपत्र बोर्डले स्वीकृति दिनुपर्दछ ।  कुनै पनि जलविद्युत आयोजनाको ५० प्रतिशत भौतिक कार्य सम्पन्न भएपछि मात्र शेयर निष्कासन गर्न धितोपत्र बोर्डले स्वीकृति दिने गर्दछ ।  तर गत फाल्गुन २ गते सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओली ज्यूले ‘जनताको जलविद्युत कार्यक्रम’ को विधिवत घोषणा गरी ३५ दिन भित्रमा सर्वसाधारण शेयर निष्कासन गर्ने घोषणा गर्नुभएको थियो । ‘जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गत (संचालक तथा व्यवस्थापन) कार्यविधि २०७५ फाल्गुन २७ गते माननीय ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्री श्री वर्षमान पुन ‘अनन्त’ ज्यूबाट स्वीकृत भएको छ ।  सो कार्यविधिमा उल्लेख भए अनुरुप अहिले पहिलो चरणमा शेयरको १० प्रतिशत रकम तिरेर नै कम्पनीको शेयर आवेदन गर्न सकिने भएको हो । आयोजनाको ५० प्रतिशत काम सम्पन्न भएपछि बाँकी ९० प्रतिशत शेयरको रकम तिर्नुपर्ने हुन्छ । आयोजना सम्पन्न भएर प्राधिकरणलाई विद्युत बिक्री गरेपछि मात्र प्रतिफल आउन शुरु हुन्छ ।  यस आयोजनाको ५० प्रतिशत भौतिक कार्य सम्पन्न नहुँदा सम्म वा शेयरको ९० प्रतिशत रकम नबुझाउँदा सम्म शेयरधनीले शेयर किनेको रकमको वार्षिक ८ प्रतिशत ब्याज समेत पाउँनेछन् । 
 
यो आयोजना कहिले सम्म सम्पन्न गर्ने लक्ष्य लिनुभएको छ ?
माथिल्लो त्रिशुली ३ बी जलविद्युत आयोजनाको  निर्माण कार्य  २०७४ फाल्गुन देखि शुरु भएको हो ।  आयोजनाको मुख्य कार्यहरु साईट आवास र कार्यालय भवन, जग्गा अधिग्रहण, टेस्ट अडिट सुरुङ, वन क्षेत्र प्रयोग गरी रुख कटान तथा हस्तान्तरण लगायतका कार्य सम्पन्न भईसकेका छन् । यस आयोजना वि.सं. २०७७ फाल्गुन भित्र सम्पन्न गर्ने लक्ष्य हामीले राखेका छौँ । आयोजना निर्माणका लागि निर्माण अवधिको ब्याज ७८ करोड रुपैँया समेत गरी ८ अर्ब २२ करोड ७४ लाख ४१ हजार रुपैया लाग्ने अनुमान गरिएको छ ।  
 
यस आयोजनाको मुख्य आकर्षक पक्षहरु के के रहेका छन् ? यस बारे बताईदिनुहोस न् । 
यो आयोजना अन्य जलविद्युत आयोजनाको तुलनामा निकै नै आकर्षक आयोजना रहेको छ । यो आयोजना क्यास्केड प्रकारको आयोजना भएको कारण यसका लागि छुटै बाँध बनाउन पर्दैन तथा अन्य आयोजनामा जस्तै पानीमा गएर कुनै संरचना बनाउन पर्दैन, खोला फर्काउन पर्दैन र बालुवा थिग्राउने पोखरी (डीसेट्लिंग बेसिन) जस्ता संरचना बनाउन पर्दैन । यस आयोजनाको मुख्य सुरुङ पनि अन्त्यन्त छोटो (करिब ३.८ कि.मि.) रहेको छ । साथै आयोजनाको ३ कि.मि. लम्बाई रहेको विद्युत प्रसारण लाईन नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा निर्माण हुनेछ ।   यस आयोजनाको मुख्य आकर्षक पक्ष क्यु ७० मा डिजाईन हुनु हो ।  क्यु ७० मा डिजाईन हुने भएकाले यो आयोजना वर्षको करिब ८.५ महिना पूर्ण क्षमतामा संचालन हुनेछ । जस अनुसार सुक्खा याममा यस आयोजनाबाट उत्पादन हुने विद्युत कुल वार्षिक उत्पादन  (२९२.५८ गिगावट घण्टा) को ४६.१५ हुनेछ जुन नेपालका अन्य जलविद्युत आयोजनाहरुको तुलनामा अत्याधिक रहेको छ । विद्युत खरिद सम्झौता (पि.पि.ए.) अनुसार सुक्खा याममा विद्युत खरिद दर रु. ८.४० प्रति युनिट रहेकोले सोही अनुपातमा विद्युत बिक्री वापत हुने आम्दानी पनि बढी रहेको छ ।
 
आयोजना प्रभावितहरुको मुआब्जा वितरण प्रक्रिया के हुँदैछ ?
हामीले आयोजना निर्माणका लागि आवश्यक करिब ९६ रोपनी ०७ आना जग्गा अधिग्रहण गरी मुआब्जा समेत वितरण गरिसकेका छौँ । साथै आयोजना स्थलमा पर्ने करिब ५.१ हेक्टर वनक्षेत्र बढीमा ३० वर्षका लागि प्रयोग गर्ने गरी मन्त्रिपरिषद्बाट निर्णय प्राप्त भई, नुवाकोट जिल्ला वन कार्यालयसँग सम्झौता सम्पन्न गरी उक्त वनक्षेत्रमा पर्ने १७८१ वटा रुख कटान गरी वन उपभोक्ता समितिलाई हस्तान्तरण गर्ने कार्य समेत सम्पन्न गरिसकेका छौँ ।  
 
जनताको जलविद्युत कार्यक्रम अन्तर्गत यो आयोजनाका लागि कति सर्वसाधारणले आवेदन दिएका छन् ?
‘जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गत साधारण शेयरका लागि हामीले २०७५ चैत्र ७ गते देखि चैत्र ११ गते सम्म शेयर आवेदन खुल्ला गरेका थियौ । साधारण शेयरका लागि कुल १ लाख ५६ हजार ७ सय ११ आवेदकले ६ करोड ६९ लाख ९ हजार ९ सय २० कित्ता आवेदन दिएका थिए । प्रति कित्ता १० रुपैयाँका दरले ६६ करोड ९० लाख ९९ हजार २ सय रुपैयाँ सर्वसाधारण शेयर वापत संकलन भएको छ । हामीले यस कार्यक्रमको शेयर पनि गत बिहिबार बाँडफाँट गरिसकेका छौ । प्रधानमन्त्री,ऊर्जामन्त्री लगायतका सबै उच्चपदस्थमा लगायत आवेदक सबै सर्वसाधारणहरुलाई २०/२० कित्ता शेयर परेको छ भने ५ लाख २ हजार ६ सय ७० जनालाई जनही ३० कित्ता शेयर परेको छ । 
 
नेपाल विद्युत प्राधिकरणसँगको विद्युत खरिद (पि.पि.ए.) का बारेमा केही बताईदिनुहोस् न ?
नेपाल विद्युत प्राधिकरणसँग वि.सं. २०७४ भाद्र ६ गते विद्युत खरिद सम्झौता (पि.पि.ए.) सम्पन्न भएको छ पि.पि.ए. अनुसार व्यापारिक उत्पादन सुरु हुने मिति वि.सं. २०७८ साल फाल्गुन १७ गते तोकिएको छ । हाम्रो कुल वार्षिक उत्पादन हुने विद्युत २९२.५८ गिगावाट आवर रहेको छ जस अन्तर्गत सुक्खा याममा १३४.८८ गिगावाट आवर र वर्षा याममा १५७.७० गिगावाट आवर विद्युत उत्पादन हुनेछ । सुक्खा याममा प्रति युनिट रु. ८.४० र वर्षा याममा प्रति युनिट रु. ४.८० का दरले विद्युत खरिद बिक्री गरिनेछ । वार्षिक विद्युत बिक्री वापत माथिल्लो त्रिशुली ३ बी जलविद्युत आयोजनाले उत्पादन शुरु गरेको पहिलो वर्ष रु. १ अर्ब ८८ करोड ९९ लाख ९९ हजार आम्दानी गर्ने अनुमान रहेको छ । सोही अनुपातमा आयोजना सम्पन्न भएको करिब ४.५ वर्ष देखि मुनाफा आउने अनुमान हामीले गरेका छौँ । 
 
जलविद्युत आयोजना निर्माण प्रकृयामा सरकारले कस्तो सहयोग प्रदान गर्दै आएको छ ?
पछिल्लो  समय ऊर्जा क्षेत्रलाई सरकारले प्रमुख प्राथमिकता दिंदै आएको छ । ऊर्जालाई देशको समृद्धिको आधार मान्दै आएको  छ । ऊर्जा क्षेत्रको विकास गर्नु सरकारको प्रमुख लक्ष्य रहेको छ । आयोजनाहरु निर्माण प्रकृया अघि बढाउन सम्बन्धित निकायहरुमा सहजीकरण भईरहेको छ । 
 
अन्त्यमा यस पत्रिका मार्फत के भन्न चाहनुहुन्छ ?
यो आयोजना समयमा नै सम्पन्न गर्ने हाम्रो प्रमुख लक्ष्य रहेको छ । आयोजना निर्माणका क्रममा बाधा अवरोध र प्राकृतिक विपत्तिहरु नआएको खण्डमा समयमा नै सम्पन्न हुने कुरामा विश्वस्त छौँ ।   

प्रतिक्रिया