जनताको जलविद्युतमा कार्यक्रममा थप भयो दुई आयोजना
- प्रकाशित मिति : Fri-20-Dec-2075
- - विद्युत संसार संवाददाता

काठमाण्डौ, चैत । सरकारले जनताको जलविद्युत कार्यक्रममा दुई आयोजना समावेश गरेको छ ।
१ सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजना र ५७.३ मेगावाटको साञ्जेन जलविद्युत आयोजनालाई जनताको जलविद्युत कार्यक्रममा समावेश गरेको हो ।
कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, कोषका कर्मचारी तथा नेपाल विद्युत प्राधिकरणका कर्मचारी र चिलिमे जलविद्युत कम्पनीका कर्मचारीलाई साधारण शेयर बिक्री गरिसकेको यी दुई कम्पनीले आगामी बैशाखमा सर्वसाधारणलाई साधारण शेयर बिक्री गर्ने तयारी गरेको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले सुरु गरेको जनताको जलविद्युत कार्यक्रममा १९ ओटा जलविद्युत आयोजना समावेश गरिएको भए पनि अहिले २ आयोजना थप गरी २१ ओटा आयोजना पुगेको छ । नेपाल धितोपत्र बोर्डले रसुवागढी र साञ्जेन जलविद्युत कम्पनीलाई यही चैत १० गते आम सर्वसाधारणलाई शेयर बिक्रीको स्वीकृति दिइसकेको छ ।
बोर्डले साञ्जेन जलविद्युत् कम्पनी लिमिटेडलाई ५४ करोड ७५ लाख रुपैँया बराबरको ५४ लाख ७५ हजार कित्ता शेयर बिक्रीको अनुमति दिएको छ । यस्तै रसुवागढी जलविद्युत कम्पनी लिमिटेडले १ अर्ब दुई करोड ६३ लाख १५ हजार रुपैयाँ बराबरको १ करोड दुई लाख ६३ हजार १५० कित्ता शेयर बिक्रीका लागि अनुमति दिएको छ ।