नयाँ वर्षको शुरुआतसँगै नगरवासीलाई पाँच स्थानमा स्मार्ट पार्किङ

  • प्रकाशित मिति : Sat-28-Dec-2075
  • - विद्युत संसार संवाददाता
title

काठमाडौँ, २८ चैत । काठमाडौँ महानगरपालिकाले पार्किङको समस्यालाई व्यवस्थापन गर्न नयाँ वर्षको शुरुआत बाट पाँच स्थानमा स्मार्ट पार्किङको व्यवस्था गर्ने भएको छ । 
 नगरवासी तथा सर्वसाधारणले सवारी पार्किङमा खेप्दै आइरहेको समस्यालाई मध्यनजर गर्दै काठमाडौँ महानगरपालिकाले सवारी पार्किङ व्यवस्थापनको समस्याबाट मुक्ति दिलाउन न्यूरोड आसपासका पाँच स्थानमा स्मार्ट पार्किङको व्यवस्थापन गर्न लागेको हो ।       
उपत्यकाभित्र सवारी साधनको अत्यधिक चापले गर्दा व्यवस्थापन हुन नसक्दा सामान्य जीवन पद्धति र शहरी सुविधाको उपलब्धतामा समस्या भएपछि महानगरले स्मार्ट पार्किङ योजना अघि सारेको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले बताए ।     
     कामपाले पहिलो चरणमा दरबारमार्ग, विशालबजार, इन्द्रचोक, प्युखा र खिचापोखरीमा नयाँ वर्षको शुरुआतसँगै स्मार्ट पार्किङ सञ्चालनमा आउने छ । प्रभावकारिता र आवश्यकता हेरी अन्य स्थानमा पनि सवारी साधन राख्नका लागि व्यवस्थापनको काम गर्ने कामपाको योजना रहेको छ । काठमाडौँ शहरको चरित्र, सरल उपयुक्त र दिगो तथा प्रयोगकर्ताको आवश्यकता पूरा गर्ने पार्किङ व्यवस्थापनमा महानगरको प्राथमिकता रहेको प्रवक्ता डङ्गोलको भनाई छ । “पार्किङलाई सहज बनाउन सकियो भने मात्र पनि शहरको यातायात प्रणालीमा ठूलो सुधार हुनेछ”, उनले भने ।     
     
स्मार्ट पार्किङ सञ्चालनमा ल्याइने स्थानमा एक पटकमा करिब ८०० दुईपाङ्ग्रे सवारीसाधन र ४० चारपाङ्ग्रे गाडी पार्किङ गर्न सकिनेछ । सो क्षेत्रमा पार्किङ गर्दा दुईपाङ्ग्रे सवारीका लागि प्रतिघण्टा रु २० लाग्नेछ । त्यस्तै चारपाङग्रेका लागि प्रतिघण्टा रु ५० शुल्क निर्धारण गरिएको छ । पहिलोपटक सञ्चालनमा ल्याउन लागिएको स्मार्ट पार्किङ अन्य पार्किङको तुलनामा निकै फरक हुन्छन् । ती क्षेत्रमा जानुअघि सवारी चालकले मोबाइलबाटै समय र स्थानको सुनिश्चित गर्न सक्नेछन् ।     
     सेन्सरमा आधारित यस प्रणालीमा सवारी प्रवेश गरेको र निस्किएको रेकर्ड हुन्छ । रिजर्भ गरेको समय, पार्किङ गरिएको स्थान, समय र पार्किङ शुल्कजस्ता विवरण आवश्यकताअनुरुप हेर्न सकिनेछ ।     
     

प्रतिक्रिया