अँध्यारोमै बस्ती

  • प्रकाशित मिति : Sat-12-Jan-2075
  • - Admin
title

दार्चुला , बैशाख ।  गरिवी निवारण कोषबाट निर्मित जिल्लाका अधिकांश ग्रामीण लघु जलविद्युत् आयोजना बन्द भएका छन् । त्यसैमध्येको एक दुहु गाउँपालिका १ पिपलचौरीको भाडीस्थित भास्कर लघु जलविद्युत् आयोजना अवरुद्ध हुँदा स्थानीय अँध्यारोमै बस्न बाध्य छन् ।
 
 
१८ किलोवाट क्षमताको लघु जलविद्युत् आयोजना २ वर्षदेखि मर्मत नहुँदा सञ्चालनमा आउन सकेको छैन । डेढ सय घरधुरीले उपभोग गर्दै आएको विद्युत् बन्द हुँदा टुकी बालेर रात काटिरहेको स्थानीय मोहनबहादुर बमले बताए ।
 
 
स्थानीयको जनश्रमदान, तत्कालीन गाविस र गरिबी निवारण कोषको झन्डै ५० लाख बजेटमा निर्माण भएको उक्त जलविद्युतको मेसिनमा खराबी आएपछि मर्मत हुन सकेको छैन । निर्माण भएको करिब ९ महिनामै उपकरणमा खराबी आएको थियो । २ वर्षसम्म मर्मत नै नभएको हो ।
 
यस्तै मालिकार्जुन गाउँपालिका २ भगवतीको खुनामा २०६५ मा निर्माण भएको लघु जलविद्युत् आयोजना पनि बन्द छ । कोषको १९ लाख, तत्कालीन गाविसको १३ लाख र ९ लाख स्थानीयको जनश्रमदानमा निर्माण भएको लघु जलविद्युत् आयोजनामा चट्याङका कारण क्षति पुगेको छ । १ सय २५ घरधुरीले बिजुली उपभोग गरिरहेका थिए ।
 
बिजुली मर्मत नहुँदा स्थानीय बासिन्दा विद्युत् सेवाबाट वञ्चित रहेको स्थानीय भुवनसिंह धामीले बताए । विद्युत् सेवा एक महिनादेखि अवरुद्ध भएको हो ।मेसिन मर्मतका लागि बुटवल जानुपर्ने भएकाले सञ्चालन हुन समय लाग्ने धामीको भनाइ छ ।
 
यस्तै लेकम गाउँपालिका ४ बुडाकोटमा सामुदायिक वन उपभोक्ता महासंघले गरिबी निवारण कोषकै सहयोगमा २०६६ मा निर्माण गरेको साढे १० किलोवाट क्षमताको लघु जलविद्युत् आयोजना ६ महिनामै बन्द हुँदा उक्त गाउँका स्थानीय पनि अँध्यारोमा बस्न बाध्य छन् । उक्त आयोजनाबाट सेवा पाएका ७८ परिवार उज्यालोबाट वञ्चित भएको स्थानीय बहादुरराम वादीले बताए ।
 
‘निर्माण भएको ६ महिनामै बन्द भयो,’ वादीले भने, ‘मर्मतमा स्थानीयले चासो नदिँदा अहिले सबै गाउँले अन्धकारमा बसेका छन् ।’ उनले लघु जलविद्युत् निर्माण गर्न स्थानीयले करिब ३० प्रतिशत श्रमदान गरेको सम्झिए । ६ महिनापछि टुकी नै बाल्नुपरेको उनको भनाइ छ । गरिबी निवारण कोषको आर्थिक सहयोगमा सामुदायिक वनले उक्त लघु जलविद्युत् निर्माण गरेको हो ।
 
बिग्रेका आयोजनाहरू आर्थिक अभावमा धमाधाम बन्द हुँदै गएका छन् । डेढ वर्षदेखि अवरुद्ध रहेको आयोजना बन्द हुँदा दार्चुलाको लेकम गाउँपालिका १ सर्मोलीका १ सय २० घरपरिवार पनि अन्धकारमा बस्न बाध्य छन् । सर्मोलीको चौडमा रहेको ११ दशमलव ५ किलोवाट क्षमताको दानुगाड लघुजलविद्युत् आयोजना ५ महिनादेखि बन्द छ । मेसिनमा समस्या आएपछि जलविद्युत् आयोजना बन्द भएको हो । साभार ः कान्तिपुर 

प्रतिक्रिया