भर्खरै

झोलामा बोकेर हिडेका १० जलविद्युत् आयोजनाको इजाजत खारेज

  • प्रकाशित मिति : Sat-12-Jan-2075
  • -
title

चरिकोट,बैशाख ।  झोलामा खोला बोकेर काम नगर्ने दोलखाका १० वटा खोलाको विद्युत उत्पादन अनुमतिपत्र (इजाजत)  खारेज भएको छ । 
 
सर्वेक्षण अनुमतिपत्र (इजाजत) लिएर समयमा काम नगर्ने विभागलाई प्रतिवेदन नबुझाउने र बढेको नवीकरण दस्तुरसमेत नबुझाउने दोलखाका १० खोलाको इजाजत विद्युत् विकास विभागले खारेज गरेको हो ।
 
विभागले खारेजीको सूचीमा राखेको १ सय ५४ वटामध्ये दोलखा जिल्लाका मात्र १० वटा परेका छन् । इजाजत खारेजीको सूचीमा एक सय किलोवाट देखि एक हजार किलोवाट सम्मका आयोजना छन् । १० वटाको इजाजत खारेज गर्दा ७ मेगावाट पाँच सय ८२ किलोवाट क्षमताका आयोजना अनिश्चित बनेका छन् । १ मेगावाट क्षमता भएका ग्लोबल हाइड्रोपावर एसोसिएटेड प्रालिको नाममा रहेको अपर खिम्तीखोला–१, सास्कोन पब्लिक लिमिटेडको नाममा रहेको गुमुखोला र गरिबी निवारण विद्युत् निर्माण कम्पनी प्रालिको नाममा रहेको घट्टेखोला खारेज भएका छन् ।
 
यसैगरी १ मेगावाटभन्दा कम क्षमता भएका आयोजनामा गोपी विनायक हाइड्रोपावर प्रोजेक्ट प्रालिको नाममा रहेको ९ सय ९६ किलोवाट, हेमराज गुभाजुको नाममा रहेको एक सय ४० किलोवाटको येलुङखोला र हिमाल पावर लिमिटेडको नाममा रहेको छ सय ३५ किलोवाटको झाँक्रेखोला पनि खारेज भएको छ ।
 
यसैगरी दिपककुमार बुढाथोकीको नाममा रहेको ८ सय किलोवाटको अँधेरीखोला, सनसाइन हाइड्रोपावर कर्पोरेशन पब्लिक लिमिटेडको नाममा रहेको आठ सय ११ किलोवाटको अँधेरीखोला, ग्लो टेक सोलुसनको नाममा रहेको छ सय किलोवाटको ओपन रिभर टाइप टर्वाइन सुनकोसी र ग्लो टेककै नाममा रहेको अर्को छ सय किलोवाटको ओपन रिभर टर्वाइन हाइड्रो खारेज भएको छ ।
 
अध्ययनका क्रममा एक अर्काबीच जुधेपछि सम्भाव्यता अध्ययन नगरी प्रवद्र्धकले काम गर्न छाडेको पाइएको छ । आयोजना सर्वेक्षणका लागि सुरुमा २ वर्ष र पटक–पटक गरेर ५ वर्षसम्म इजाजतको म्याद थप्न पाउने व्यवस्था छ । खारेजीमा परेका अधिकांश आयोजना २०५० बैशाखदेखि २०७० चैत मसान्तसम्म सर्वेक्षण अनुमति लिएका छन् । खोला केही व्यक्ति र कम्पनीले ओगटेका कारण काम नहुँदा देशले हाल दैनिक १२ घण्टासम्म लोडसेडिङ्गको मार भोग्दै आएको छ । भारतबाट बिजुली र पेट्रोलियमको आयात थपिँदै जाँदा नेपालको व्यापार घाटासमेत वृद्धि हुँदै गएको छ ।

प्रतिक्रिया