महानगरले गर्यो सडक सुरक्षा सम्बन्धि फोटो प्रदर्शनी शुरु
- प्रकाशित मिति : Sun-27-Jan-2075
- - रुपा तुलाधर

काठमाडौँ, २७ वैशाख । काठमाडौँ महानगरपालिकाले सडकमा हुने सवारी दुर्घटना कम गर्नका लागि सडक सुरक्षासँग सम्बन्धित फोटो प्रदर्शनी शुरु गरेको छ । महानगरले रत्नपार्कस्थित शान्तिबाटिकामा उक्त प्रदर्शनी शुरु गरेको हो । 

आज देखि सुरु भएको उक्त प्रदर्शनी आगामी आइतबारसम्म सञ्चालनमा रहनेछ । प्रदर्शनीमा सडक दुर्घटना, नियमको पालना र नागरिक सचेतना गरी तीन विधाका तस्बीर प्रदर्शनमा राखिएको छ ।
प्रदर्शनीको शुभारम्भ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले गरेका थिए । महानगरले सडक सुरक्षासँग सम्बन्धित तस्बीर सङ्कलन गर्न सार्वजनिक सूचना जारी गरेको थियो करीब एक महीना लामो तस्बीर सङ्कलनको समयमा २०२ वटा तस्बीर प्राप्त भएका थिए । प्राप्त तस्बीरमध्ये निर्णायक मण्डलले छनोट गरेका उत्कृष्ट १०० वटा तस्बीर प्रदर्शनमा छन् । यससँग सम्बन्धित तस्बीर विभिन्न मिडियाका फोटो पत्रकार सर्वसाधारण नागरिकबाट पनि प्राप्त भएको थियो ।

प्रदर्शनीमा राखिएका तस्बीर मध्ये मीन रत्न बज्राचार्यको तस्बीर प्रथम, मीन लामाले खिचेको तस्बीर दोस्रो र प्रविन कोइरालाले खिचेको तस्बीर तृतिय भएको थियो भने अन्य तीन ब्यक्तिले खिचेका तस्बीरलाई प्रोत्साहन गरीएको थियो । प्रदर्शनीमा राखिएका तस्बीर मध्ये प्रथम, दृतिय, तृतिय र प्रोत्साहन हुने तस्बीरलाई नगदसहिदको पुरस्कार पाउने व्यवस्था गरिएको छ ।