जेठदेखि मुग्लिनको आर्क ब्रिज सञ्चालनमा आउने, ९५ प्रतिशत काम सम्पन्न
- प्रकाशित मिति : Sat-04-Jan-2076
- - विद्युत संसार साप्ताहिक

मुग्लिन, बैशाख । चितवनको इच्छाकामना गाउँपालिकास्थित मुग्लिन र तनहुँको आँबुखैरेनी गाउँपालिकाको बेनीटार जोड्ने त्रिशूली नदीमा निर्माण भइरहेको मोटरेवल पुल ‘आर्क ब्रिज’ जेठदेखि सञ्चालनमा आउने भएको छ । आर्क ब्रिजको ९५ प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको निर्माण कम्पनीले जनाएको छ । रेलिङ, फुटपाथ र वायरिङको काम मात्र बाँकी रहेको निर्माण कम्पनी इ–राइड एडभेञ्चर लोहनी जेभीका प्रबन्ध निर्देशक मोतीलाल शर्माले बताए ।
नयाँ प्रकृतिको काम, नदीमा पानीको बहाव ठूलो हुनु र नारायणगढ–मुग्लिन सडक स्तरोन्नतिको समयमा सडक अवरुद्ध भई सामान ढुवानीमा समस्या हुँदा निर्धारीत समयमा पुल निर्माण सम्पन्न हुन नसकेको शर्माको भनाइ छ । विसं २०७१ बाट निर्माण कार्य शुरु गरिएको हो ।नेपाली इञ्जिनीयरले डिजाइन गरेको यो दोस्रो आर्क ब्रिज हो । पहिलो चोभारमा परीक्षणका रूपमा निर्माण गरिएको छ । यो पुल नेपालमा निर्माण हुँदै आएका पुलका डिजाइनभन्दा फरक भएको निमार्णकर्ताको दावी छ । मुग्लिन र तनहुँ जोड्ने निर्माणाधीन आरसिसी मोटरेवल आर्क ब्रिज पूरा भएपछि दुईतर्फी आवगमन सहज हुने अपेक्षा गरिएको छ ।