३१ घरधूरीमा पाँच वर्षपछि उज्यालो
- प्रकाशित मिति : Wed-08-Jan-2076
- - विद्युत संसार संवाददाता

हुम्ला,बैशाख । हुम्लाको सिमकोट गाउँपालिका–७ टुलिङ्गका ३१ घरका स्थानीयले पाँच वर्षपछि उज्यालो देख्न पाएका छन् ।
विसं २०७० मा हिल्दुम वितरण केन्द्रले टुलिङ्ग गाउँका ३१ घरधूरीलाई अन्धकारमुक्त बनाउने लक्ष्य राखेता पनि हिल्दुम वितरण केन्द्रका कर्मचारीकै लापर्वाहीका कारण अन्धकारमा बस्न बाँध्य त्यहाँ स्थानीयले शनिबार साँझबाट मात्र उज्यालो देख्न पाएका छन् ।
हिल्दुम वितरण केन्द्रको ढिलासुस्तीका कारण पाँच वर्षपछि उज्यालो देख्न पाएको स्थानीय नन्द शाहीले बताए ।
टुलिङ्ग गाउँका स्थानीयले पाँच वर्षसम्म उही पुरानो परम्पराअनुसार सल्लाको दियालो बालेर दिन चलाएको उनको भनाई छ । ढिलै भए पनि अन्धकारबाट उज्यालो देख्न पाउँदा खुसी लागेको त्यहाँका स्थानीयवासीले बताएका छन् । गाउँमा पाँच वर्षपछि हिल्दुम वितरण केन्द्रको लाइन पुग्दा त्यहाँका स्थानीयको दैनिकीमा निकै सहज भएको र बालबालिकालाई पनि रातिको समयमा अध्ययन गर्न सहज भएको स्थानीय वीरबहादुर शाहीले बताए ।
टुलिङ्ग गाउँका स्थानीयलाई अन्धकारबाट उज्यालो बनाउनका लागि पहिलो किस्ता रु ९० हजार र दोस्रो किस्ता रु एक लाख ५७ हजार खर्च गरेर त्यहाँका स्थानीयले उज्यालो देख्न पाएका हुन् ।