भर्खरै

विद्यासुन्दर भन्छन्– खुल्लामञ्च डोजर लगाइन्छ, उपमेयरलाई पर्खेर बसिन्न, उपमेयरले राजनीति गरेको मेयरको आरोप

  • प्रकाशित मिति : Mon-13-Jan-2076
  • - Admin
title

 
१३ बैशाख, काठमाडौं । खुल्लामञ्चमा अतिक्रमण गरेर व्यवसायिक सटरहरु बनाइएको विषय चर्कंदै गइरहे पनि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अहिलेसम्म मुख खोलेका छैनन् ।
 
महानगरपालिकासँग भएको सहमतिका आधार खुल्लामञ्चमा सटरु बनाइएको ठेकेदारले दाबी गरिरहँदा हामीले मेयर शाक्यसँग सम्पर्क गरेर यसबारेमा सोधेका छौं । अनलाइनखबरसँगको कुराकानीमा मेयर शाक्यले उपमेयर हरिप्रभा खडगीमाथि आरोप लगाउँदै उपमेयरले खुलामञ्चमा राजनीति गरिरहेको बताए ।
 
उपमेयरले त्यहाँको रिपोर्ट दिनासाथ त्यहाँ रहेका संरचनाहरु आजै भत्काइदिन सक्ने मेयर शाक्यले अनलाइनखबरलाई बताए ।
 
खुलामञ्च बिक्री प्रकरणबारे काठमाडौं महानगरका मेयर शाक्यको भनाइ यस्तो छ–

खुलामञ्चमा बसपार्क राख्न दिएको सम्झौताभन्दा विपरीत गएर नयाँ संरचना बनाइएको जानकारी मैले चैत २४ गतेको नगरसभामा पाएँ । त्यो जानकारी पाएलगत्तै उपमेयर हरिप्रभा खड्गीलाई त्यहाँ के भएको हो, तत्कालै अनुगमन गरेर रिपोर्ट दिनुस् भनेँ । कानुनले नै उपमेयरलाई अनुगमनको जिम्मा दिएको छ ।
 
यसबीचमा उपमेयरले कुनै रिपोर्ट दिनुभएन । उहाँ आफैं त्यही २८ नम्बर वडाको बासिन्दा हुनुहुन्छ, जहाँ खुलामञ्च छ । त्यहाँका वडाध्यक्षले पनि कुनै जानकारी नदिएपछि तीनअघि शिक्षा समितिको बैठकमा मैले उपमेयरलाई पुनः सोधेँ– खोई रिपोर्ट भनेर । त्यसको साक्षी मुकुन्द रिजाल १६ नम्बर वडाको अध्यक्ष पनि हुनुहुन्छ ।
 
हुन त त्यहाँ अरु वडाध्यक्ष पनि हुनुहुन्थ्यो, तर रिजालकै नाम नै किन लिएको भने उहाँ कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हो । जब उपमेयरले आफ्नो जिम्मेवारी बिर्सेर कांग्रेस कार्यकर्ताको तहमा मिडियाबाजी तथा राजनीति गर्न थालेपछि मैले यो कुरा भन्न बाध्य भएको हुँ । मिडियामा खुलामञ्चको कुरा आएपछि उहाँहरु राजनीति गर्न थाल्नुभयो । मैले चिठी नै पाएको छैन भन्नुभएछ ।
 
आजमात्रै माननीय भीमसेनदास प्रधानसहितलाई राखेर मैले उपमेयरलाई चिठी दिएँ । मेयरले दिएको निर्देशन नमानेपछि अब कांग्रेस कार्यकर्ताको हिसाबले तपाई निर्देशन दिनुस् भनेर मैले प्रधानजीलाई पनि भनेँ । मेयरको विरुद्ध राजनीति गर्न थालिएपछि मलाई दुःख लागेको छ ।
 
उपमेयरले यतिका दिनसम्म खुलामञ्च देख्नुभएन, किन रु उहाँलाई त मैले तत्काल के भएको रिपोर्ट दिनुस भनेको थिएँ । माननीय भीमसेनदासले त मिडियामा आएपछि थाहा पाउनुभएछ, मैले त चैत २४ मै थाहा पाएर एक्सनमा जान्छु भनेको हो । उपमेयरले रिपोर्ट दिनुहोला भन्दाभन्दै उल्टै मेयरविरुद्ध राजनीति गर्न थाल्नुभयो ।
 
खुलामञ्चमा केही समयका लागि बसपार्क राख्न दिइएको हो, त्यो पनि म निर्वाचित भएर आउनुअघि नै रहेछ । मैले त यो रोक्नुपर्छ पनि भनेको हो ।
 
अब जाने त एक्सनमै हो । त्यहाँका सम्झौता विपरीतका सबै संरचना भत्काउने नै हो । उपमेयरले आज रिपोर्ट दिनुभयो भने आजै डोजर लगाइन्छ ।
 
तर, उहाँको नियत खुलामञ्च जोगाउनेभन्दा पनि मिडियाबाजी गरेर मेयरको चरित्रहत्या गर्नेखालको देखियो । उहाँले कहिले रिपोर्ट दिनुहुन्छ, हेर्छु । तर, पर्खेर धेरै बसिन्न । खुलामञ्चमा बनाइएका संरचनाहरु भत्काउछु । त्यहाँ भत्काउनुको विकल्प छैन । अनलाइनखबर

प्रतिक्रिया