भर्खरै

विद्युत् नहुँदा तीन महिनादेखि डोल्पा अन्धकार

  • प्रकाशित मिति : Thu-16-Jan-2076
  • -
title

जाजरकोट, बैशाख ।  तीन महिनादेखि डोल्पाको सदरमुकाम दुनैमा विद्युत् सेवा नहुँदा यहाँका स्थानीय अन्धकारमा बस्न बाध्य छन् । 
 
विद्युत् सेवा अवरुद्ध भएपछि सबैभन्दा बढी समस्या जिल्ला अस्पताल डोल्पामा परेको छ । एक्सरे मेशिन चलाउने विद्युत् नहुँदा जिल्ला अस्पतालको एक्सरे मेशिन चलाउन समस्या भएको हो । अस्पतालमा जोडिएका सौर्य ऊर्जा (सोलार)बाट आपूर्ति भएको विद्युत्ले काम नगर्दा दैनिक समस्या भएको अस्पतालले जनाएको छ । स्थानीय जैरीगाड जलविद्युत् आयोजनाको नहर सुक्खा पहिरोले तीन महीना अघि भत्किएपछि डोल्पा सदरमुकामलगायत एक हजार २०० घरधुरीमा विद्युत् सेवा ठप्प हुँदै आएको छ । विद्युत् नहुँदा जिल्ला अस्पतालमा एक्सरे गर्ने बिरामीका आफन्त आफै जेनेरेटर भाडामा लिएर एक्सरे गर्दै आएका छन् । 
 
स्थानीयवासी जयकृष्ण बुढाले छोराको हात भाँचिएपछि भाडामा जेनेरेटर लिएर एक्सरे मेशिन चलाएको बताए । मोटो रकम तिरेर जेनेरेटर भाडामा लिई एक्सरे मेशिन सञ्चालन गरेको उनको भनाइ छ । डोल्पा अस्पतालमा अहिले डिजिटल एक्सरेसमेत नभएको चिकित्सकले बताएका छन् । विद्युत् नभएकाले विद्यार्थीलाई अध्ययनमा समस्या भएको छ । त्यस्तै डोल्पाका रहेका बैंक सञ्चालन गर्न समस्याा भएको छ । स्थानीय रेडियोले जेनेरेटर प्रयोग गरी समाचार मात्र प्रसारण गर्दे आएका छन् । 
     अवरुद्ध विद्युत् सेवा सञ्चालन गर्नका लागि नेपाल विद्युत् प्राविकरणबाट रु ५९ लाख रकम विनियोजन भएको डोल्पाका प्रमुख जिल्ला अधिकारी मुकेश केसरीले बताए । उनले भने, “विद्युत् नहुँदा जिल्लाको सबै विद्युत्बाट हुने काम ठप्प भएको छ”, अहिले प्राधिकरणबाट रकम विनियोजन भई आउन थालेको छ, उपभोक्ता समितिमार्फत् काम गरेर छिटो विद्युत् सञ्चालन गरिने छ ।  
 
विद्युत् सञ्चालन गर्नका लागि निरन्तर सम्पर्कमा रहेर दैनिक पहल गरिएकाले रकम प्राप्त भएको छ, काम एक, दुई दिनमा शुरु हुने प्रतिनिधिसभा सदस्य सत्य पहाडीले  बताए । रासस 

प्रतिक्रिया