भर्खरै

प्रधानमन्त्री ओलीले तामझामका साथ उद्घाटन गरेको बिजुली बस ६ महिनादेखि ग्यारेजमै

  • प्रकाशित मिति : Sat-18-Jan-2076
  • - Admin
title

 
 काठमाण्डौ, बैशाख । सरकारले ल्याएको बिजुली बस ६ महिनादेखि ग्यारेजमै थन्किएका छन् ।  विद्युतीय सवारी साधनलाई प्रवर्द्धन गर्न सरकारले गत कात्तिकमा भित्राएका पाँचवटा बिजुली बस ६ महिनादेखि ग्यारेजमै थन्किएका हुन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले लुम्बिनी विकास कोषका लागि एशियाली विकास बैंकको रू. २ करोड १० लाख सहयोगमा ती बस नेपाल ल्याएको थियो । सबै बसका लागि मूल्य अभिवृद्धि कर र भन्सार महसुलमा छूट दिइएको थियो । साझा यातायातले सञ्चालन गर्ने भनिएका ती बस बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता सिमेक्स इन्कर्पोरेटेडले चीनबाट नेपाल ल्याएको थियो ।
 
पर्यटन मन्त्रालयले भने सम्झौता अनुसार गुणस्तरीय नभएकाले सार्वजनिक यातायातमा प्रयोग गर्न नसकिएको बताएको छ । पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यका अनुसार गुणस्तरहीन बस फिर्ता लिएर सम्झौता अनुसारको गुणस्तरका बस उपलब्ध गराउन पत्राचार गराएको जानकारी दिए ।  उनले भने, ‘कम्पनीले गरेको सम्झौता अनुसार बस उपलब्ध नगराए ठेक्का रद्द हुन्छ ।’ मन्त्रालयले चिनियाँ कम्पनीसँग २० सीट क्षमताका पाँचओटा बस र सात सीट क्षमताका ११ वटा विद्युतीय कार भित्र्याउन सम्झौता गरेको थियो । नेपाल आइसकेका बस सञ्चालन नहुँदा कार आउने र नआउने टुंगो लाग्न सकेको 
छैन ।कम्पनीले भने ती बस सम्झौता अनुसार नै गुणस्तरीय रहेको दाबी  गरेको छ । भारतको सेन्ट्रल इन्स्टिच्युट अफ रोड ट्रान्सपोर्ट (सीआईआरटी) ले गरेको परीक्षणमा ती बसमा कुनै समस्या नदेखिएको  
सिमेक्स इन्कर्पोरेटेडका परियोजना प्रमुख साहिल श्रेष्ठले बताए । 
‘सम्झौतामा ३ वर्षको वारेन्टी हुनुपर्ने भनिएको छ, हामीले बसको सबै प्रमुख पार्टस्को ८ वर्षको वारेन्टी दिएका छौैं,’ उनले भने, ‘पैसा भुक्तानी नगरिकनै कम्तीमा सञ्चालन गर, कमजोरी भेटिए साटिदिन्छौं भनिरहेका छौं । तर पनि सरकार किन सञ्चालन गर्न इच्छुक छैन हामीले बुझ्न सकेका छैनौं ।’ आफूहरू बसको जुनसुकै परीक्षण गराउन तयार रहेको उनले बताए । त्यस्तै साझा यातायातका प्रमुख कार्यकारी अधिकृत भूषण तुलाधर पनि बसमा कमजोरी नभएको बताए ।  उनका अनुसार फिनिसिङ राम्रो  नभए पनि विद्युतीय बसको प्रमुख कुरा भनेको ब्याट्री रहेको र त्यसको परीक्षण गर्दा ब्याट्रीमा कुनै समस्या नदेखिएको बताए । 

प्रतिक्रिया