गण्डकी गाउँपालिकाका अध्यक्षको एकल निर्णयले चल्यो डोजर ,गाउँ कार्यपालिकाको बहुमत सदस्यको असन्तुष्ट
- प्रकाशित मिति : Thu-23-Jan-2076
- -

काठमाडौं। गण्डकी गाउँपालिकाका अध्यक्ष होमबहादुर रानामगरले एकलौटी निर्णय गर्दै गाउँपालिकाको केन्द्र तोकेका छन् । अध्यक्ष रानामगरले आफ्नो घर नजिकै केन्द्र राख्ने एकलौटी निर्णय लिएका हुन् ।
२०७४ कात्तिक ३० गतेको निर्णयअनुसार गाउँपालिकाको केन्द्रपालिकाको बहुमत सदस्यले पारित गरेको निर्णयलाई अटेर गरी अध्यक्ष रानामगरको एकल निर्णयमा गाउँपालिका केन्द्रको भवन निर्माणको लागि ओखलडाँडामा डोजर लगाइएको छ । स्रोतका अनुसार यस विषयमा वडाका वडाअध्यक्षलाई समेत जानकारी नदिई अध्यक्ष रानामगरले डोजर लगाएका हुन् ।
गाउँ कार्यपालिकाको निर्णयले पास हुनुपर्नेमा अध्यक्ष रानामगरले पालिकामा छलफल नगरी एकलौटी निर्णयबाट जर्बजस्त डोजर लगाएको गण्डकी गाउँपालिका नेकपाका प्रदेश सदस्य दीपक तिम्लसिना ‘साकार’ ले जानकारी दिए । गण्डकी गाउँपालिकाका अधिकांश जनताहरुको गाउँपालिकाको केन्द्र सार्नुपर्छ भन्ने बलियो मत थियो । तर, अध्यक्ष रानामगरले जनभावना विपरित एकलौटी निर्णय लिएपछि त्यहाँका जनता आक्रोशित बनेका छन् ।
गाउँपालिकाको केन्द्रको लागि आइडाँडा पनि सबै वडालाई मध्यनजर गर्दै उपयुक्त थियो । आइडाँडामा केन्द्रको भवन निर्माणको लागि स्थानीय दानसिंह गुरुङले १२ रोपनी जग्गा दिने कुरा समेत रहेको तिम्लसिनाले बताए ।
यस विषयमा गुरुङले भने, ‘गाउँपालिकाको केन्द्रको लागि सबै जनताको माग यदि हो भने हाम्रो परिवार जग्गा दिन तयार छ ।’
नेकपा गण्डकी गाउँपलिकाका अध्यक्ष सिताराम रसाईलीले सबै वडाका जनतालाई सुगम हुने हिसाबले मुख्य सडक आइडाँडा निर्माणधिन भइरहेको हुँदा आइडाँडादेखि दलभन्ज्याङसम्म जहाँ राखेपनि हुने बताए ।
उनले भने, ‘जनतालाई असुविधा हुने हुँदा अस्थायी केन्द्र तोकिएको भूम्लिचोकमा हाम्रो पार्टीको समर्थन छैन ।’ ८ वटै वडाअध्यक्षहरुको पनि हाइवेको आसपासमा गाउँपालिकाको केन्द्र हुनुपर्ने माग रहेको उनले बताए ।
एकलौटी केन्द्र तोकेको होइन : अध्यक्ष रानामगर
यस विषयमा अध्यक्ष रानामगरले एकलौटी रुपमा पालिकाको केन्द्र नतोकेको बताए । यता गाउँपालिका भवन निर्माणको लागि डोजर लगाइसकेको उनले स्वीकारे ।
आफ्नै निर्णयको विपक्षमा कदम चाल्नुभएछ भन्ने प्रश्नमा उनले भने, ‘विगतको सरकारले नै अस्थायी केन्द्र भूम्लिचोक रहने निर्णय गरेको हो । सो अनुसार आजबाट भवन निर्माणको लागि डोजर लगाएको हो ।’
‘वडा अध्यक्षहरुको असन्तुष्टि छ भने कायर्यपालिकाको बैठकबाट २ तिहाई पुर्याएर ल्याउनु,’ उनले भने, ‘२ तिहाई पुर्याएर ल्याए अहिलेको निर्णय उल्टिन सक्छ ।’
रातोपाटी