भर्खरै

यी ८ स्थानमा अब ट्राफिकले होइन लाइटले सवारीसाधन मिलाउने

  • प्रकाशित मिति : Sun-26-Jan-2076
  • -
title

काठमाडौं । जेठबाट ८ स्थानमा ट्राफिक लाइट सञ्चालनमा आउने भएको छ । संचालनमा आएसँगै अहिले ट्राफिकले धुलो खाँदै गर्नुपरेको काम लाइटले गर्नेछ ।
प्रजिल कन्स्ट्रकले ठेक्का लिएको उक्त ट्राफिक लाइट जडान गर्ने काम अन्तिम चरणमा रहेको छ । 
कन्स्ट्रकका प्रोजेक्ट प्रमुख रामचन्द्र खड्काका अनुसार अब ३ स्थानमा ट्राफिक लाइट जडान गर्न बाँकी रहेको छ । गौशला, मित्रपार्क र पुरानो बानेश्वरमा ट्राफिक लाइट बैशाख २७ गते जडान गर्ने उनले जानकारी दिए । ‘हामी जडानको अन्तिम चरणमा छौँ, अब गौशला मित्रपार्क र पुरानो बानेश्वरमा मात्र ट्राफिक लाइट राख्न बाँकी छ, ती स्थानमा भोलिबाट लाइट राख्ने काम थालिने छ,’ खड्काले भने । 
ट्राफिक लाइट जडान सम्पन्न भइसकेपछि उक्त लाइटको परिक्षण गरि यातायात विभाग स्थित सडक सुरक्षा तथा ट्राफिक शाखामा हस्तान्त्रण गरिने उनले बताए । उनले जेठ १ गतेसम्ममा सडक विभागलाई हस्तान्त्रण गरिसक्ने जानकारी दिए । सडक विभाग अन्तर्गत रहेको ट्राफिक शाखाले उक्त हस्तान्त्रणपछि ८ स्थानका ट्राफिक प्रहरीलाई तालिम दिने छ । 
उक्त तालिम सकिए लगतै परिक्षणका रुपमा १ हप्ता सञ्चालन गरिने र फंसनको चेक जाँच गरिने शाखाका सिनियर डिभिजनल इन्जिनियर दीप बाराहीले जानकारी दिए । ‘हामी हस्तान्त्रण लगतै ट्राफिकलाई लाइटको विषयमा तालिम दिएर यसलाई सञ्चालनमा ल्याउने छौँ, ट्राफिक लाईटमा समस्या नआओस भनेर १ हप्ता परिक्षणका रुपमा प्रयोगमा ल्याइने छ,’ बाराहीले भने । निर्माण कम्पनीले ८ स्थानमा ट्राफिक लाइट राख्ने ठेक्का लिएको हो । हालसम्म सिंहदरबार, पद्मोदयमोड, तिनकुने, कालिमाटी, बागबजार र पुरानो बानेश्वरमा ट्राफिक लाइट जडान गर्ने काम सम्पन्न भइसकेको प्रोजेक्ट प्रमुख खड्काले जानकारी दिए । सडक सुरक्षा तथा ट्राफिक शाखाले ९७ लाख ५० हजार रुपैयाँमा उक्त टेन्डर प्रजिल कन्स्ट्रक्सनलाई दिएको हो । मेरोअटो

प्रतिक्रिया