भर्खरै

धादिङको गल्छीबाट सूचना महामार्ग निर्माण आयोजना सुरु

  • प्रकाशित मिति : Sat-08-Feb-2076
  • - Admin
title

धादिङ, जेठ । धादिङको गल्छी गाउँपालिका वडा नम्बर ४ मास्टारबाट सूचना महामार्ग ( अप्टिकल फाईबर नेटवर्क)  निर्माण आयोजना सुरु भएको छ ।  सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले सुचना महामार्गको शिलान्यास गरेर  आयोजनाको शुरुवात भएको हो । 
प्रधानमन्त्री ओलीले मध्यपहाडी लोकमार्गको पूर्वको पाँचथरदेखि पश्चिमको बैतडीसम्म सूचना महामार्गको विस्तारले डिजिटल नेपाल बनाउन सहयोगी हुने बताए । कार्यक्रममा प्रधानमन्त्री ओलीले देशलाई आधुनिक, विकसित, सभ्य, अनुशासित , शान्त र स्थिरता बनाउन अब हरेक नेपालीले आनो ठाउँबाट लाग्नुपर्ने  बताए ।  विकास र परिवर्तन हरेक नेपालीको जीवनस्तर उकास्न सहयोगी हुने गरी कार्यान्वयन गर्न तीनै तहको सरकारले एकैसाथ प्रतिबद्धता गरी अघि बढ्नुपर्ने उनले बताएका थिए । सडक खन्नु मात्रै विकास नभएको बताउँदै आर्थिक स्तरमा सुधार आउने खालका कार्यक्रम हरु, कृषिमा आधुनिकीकरण गर्दै कृषि उत्पादनमा वृद्धि, जलविद्युत्त आयोजनाको निर्माण, सीपमुलक शिक्षा जस्ता विषयमा कार्यक्रमहरु बन्नु पर्ने र यस वर्षको बजेटमा केही नयाँ पन ल्याउन सरकारले तयारी गरिरहेको प्रधानमन्त्री 
ओलीले जानकारी दिए । यो आयोजना सम्पन्न भएपछि ट्रान्सपोर्ट नेटवर्कको उच्च क्षमता तथा गुणस्तरका कारण नेपाल टेलिकमको दुरसञ्चार सेवाहरुमा उच्च गुणस्तरको सुधार आउने नेपाल टेलिकमले जनाएको छ ।अप्टिकल फाइबर नेटवर्क बिछ्याउने कार्य सिन्धुलीको खुर्कोट र धनकुटाको हिलेमा समेत गरी एकै पटक तीन स्थानबाट शुरु भएको छ । मध्य पहाडी लोकमार्ग अन्तर्गत चियो भञ्ज्याङदेखि आरुघाटसम्म कुल ८ सय ४ किलोमिटर तथा उक्त मार्गको उत्तर ÷ दक्षिण क्षेत्रमा १ हजार ५ सय ७२ किलोमिटरको स्पर लिंक गरी कुल २ हजार ३ सय ७६ किलोमिटर अप्टिकल नेटवर्कमा जोडिने योजना अघि बढाइएको छ । नेपाल दुरसञ्चार प्राधिकरणका कार्यवाहक अध्यक्ष पुरुषोत्तम खनालले १०० जी क्षमताको पूर्वाधार विस्तार गर्ने योजना रहेकोे बताए । मुलुकभरका जिल्ला सदरमुकाम र यसमार्फत सम्पूर्ण गाउँपालिका, विद्यालय र स्वास्थ्य चौकी आदिमा ब्रोडब्यान्ड नेटवर्क पु¥याउने सरकारी नीति अनुरुप अप्टिकल फाइबर बिछ्याउने कार्य द्रुत गतिमा अघि बढाउन आयोजना संचालन गरिएको हो । ब्रोडब्यान्ड नेटवर्क र एफटीटीएच सेवाको उपलब्धता सँगै विद्यमान कपर (तामा) तारबाट सञ्चालित स्थानीय टेलिफोन सेवालाई अप्टिकल फाइबरमा रुपान्तरण गरिने नेपाल नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले कार्यक्रममा जानकारी दिए ।
आयोजना अन्र्तगत नेपाल टेलिकमले मध्यपहाडी लोक मार्गमा ९६ कोर क्षमताको अप्टिकल फाइबर बिछ्याउने छ । त्यसैगरी लोकमार्गबाट जिल्ला सदरमुकाम जोड्ने अप्टिकल फाइबर ४८ कोर र विभिन्न नगरपालिका जोड्ने अप्टिकल फाइबर २४ कोरको हुने बताईएको छ । उक्त सडक खण्डको उत्तर–दक्षिण क्षेत्रमा पर्ने प्रदेश नम्बर १, २ र ३ अन्तर्गतका ३२ जिल्लाका सदरमुकाम तथा नगर र गाउँपालिकाहरुमा अप्टिकल नेटवर्क विस्तार गरिनेछ । मध्य पहाडी लोकमार्ग अन्तर्गत पूर्वको पाँचथर जिल्लाको चियो भञ्ज्याङदेखि पश्चिममा गोर्खा र धादिङको सिमाना आरुघाटसम्म अप्टिकल फाइबर बिछ्याउनका लागि नेपाल टेलिकम र नेपाल दूरसञ्चार प्राधिकरणबीच २०७३ असोज १२ गते सम्झौतामा हस्ताक्षर भएको थियो । सोही सम्झौता अनुसार टेलिकमले अप्टिकल फाइबर बिछ्याउने काम शुरु भएको हो ।आयोजना समयमै सम्पन्न गर्नका लागि टेलिकमले ५ वटा कम्पनीसँग सम्झौता गरेको छ । 
सम्झौता अनुसार प्रदेश १ को ५ सय ९६ किलोमिटरका लागि कोरियाको एलएस केबुल्स र प्रदेश २ को १ हजार २८ किलोमिटरको काम आरोग्य कन्स्ट्रक्सन नेपाल, चाइना रेलवे र चाइना युलको ज्वाइन्ट भेन्चरले जिम्मा लिएका छन् ।यसैगरी प्रदेश ३ को ५ सय ५५ किलोमिटर फाइबर बिछ्याउने काम हङकङको सीसीएसआई (चाइना कम्युनिकेसन सर्भिस इन्टरनेसनल)ले गर्ने भएको छ । डिडव्लुडिएम इक्विपमेन्टका लागि हङकङको सीसीएसआईसँग सम्झौता भएको छ भने राउटर इक्विपमेन्टका लागि सिंगापुरको सिटियस कम्युनिकेसन्ससँग सम्झौता गरिएको टेलिकमका प्रबन्ध निर्देशक अधिकारीले जानकारी दिए । एफटीटीएच सेवा अन्र्तगत एउटै अप्टिकल फाइबर मार्फत प्रयोगकर्ताहरूलाई टेलिफोन, उच्च गतिको इन्टरनेट तथा आइपी प्रविधिमा आधारित टेलिभिजन तथा भिडियो सेवा पनि प्रदान गर्न सकिनेछ । चरणबद्ध रूपमा हाल इन्टरनेट प्रयोगको लागि प्रदान गरिएको एडीएसएल सेवालाई एफटीटीएचमा रुपान्तरण गरिने र नयाँ ग्राहकहरूलाई पनि एफटीटीएच सेवा उपलब्ध गराउने लक्ष्यका साथ आयोजना शुरु गरिएको सूचना प्रविधि तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले बताए । कार्यक्रममा प्रदेश नम्बर ३ का मुख्य मन्त्री डोरमणि पौडेल, संघीय सांसदहरु खेमप्रसाद लोहनी, भूमीप्रसाद त्रिपाठी, प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेल, प्रदेश सभा सदस्य राजेन्द्र पाण्डे, नेपालका लागि चिनियाँ राजदुत हौ वाङ छि ले सम्बोधन गरेका थिए । कार्यक्रममा जिल्लाका प्रदेश सभा सदस्यहरु, विभिन्न स्थानीय तहका पदाधिकारी, विभिन्न राजनैतिक दलका प्रतिनिधि,संघसंस्थाका प्रतिनिधि एवम सर्वसाधरणको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया