‘विद्युतीय अपराध नियन्त्रणमा परिवारको भूमिका महत्वपूर्ण’

  • प्रकाशित मिति : Sat-08-Feb-2076
  • -
title

काठमाडौँ,  जेठ ।  सामाजिक सञ्जालको प्रयोग हुने अपराधको नियन्त्रणमा परिवारको महत्वपूर्ण भूमिका रहेको बताइएको छ । महानगरीय प्रहरी वृत्त गौशाला र तिलगङ्गा आँखा प्रतिष्ठानको संयुक्त आयोजनामा मङ्गलबार यहाँ आयोजित ‘विद्युतीय अपराधसम्बन्धी सचेतना’ कार्यक्रममा सामाजिक सञ्जालको प्रयोगबाट ठूलाठूला अपराध भएको भन्दै यसलाई नियन्त्रण गर्नुपर्ने बताइएको हो ।
 
कार्यक्रममा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीले परिवार सुरक्षित भएमा सिङ्गो समाज र देशकै सुरक्षा गर्न सकिने बताए । “विद्युतीय माध्यमको प्रयोग गर्न समाज धेरै अगाडि रहेकाले सामाजिक सञ्जालको प्रयोगबाट हुने अपराधलाई न्यूनीकरण गर्न समाजमा रहने सबैको समान उत्तरदायित्व रहेको छ”, उनले भने ।
 
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले शान्त, सुरक्षित र सभ्य समाज निर्माण गर्ने इच्छा समाजमा रहने सबैको चाहना भएकाले सामाजिक सञ्जालबाट हुने अपराधलाई न्यूनीकरण गरेमा समाजमा हुने विकृति र विसङ्गतिलगायतका चुनौती सामना गर्न सकिने बताए । 
 
तिलगङ्गा आँखा प्रतिष्ठानका निर्देशक प्रा डा गोविन्द पौडेलले शान्त र सुरक्षित समाज निर्माणका लागि अस्पतालले विभिन्न सङ्घसंस्थासँग सहकार्य गरेर अगाडि बढेको उल्लेख गरे । रासस

प्रतिक्रिया