भर्खरै

१० वर्षे वारेन्टीको वाल माउन्ट टेस्ला बजारमा ल्याउँदै छौं

  • प्रकाशित मिति : Sat-08-Feb-2076
  • -
title

किरण आचार्य / प्रमुख कार्यकारी अधिकृत,टेस्ला कम्पनी
 
युवावस्थामा नै एयर कन्डिस्नर (एसी) व्यवसाय शुरू गरेर छोटो समयमै स्थापित हुनु भयो । कसरी यो व्यवसाय रोज्नुभयो ?
 
म प्रविधि पढेको विद्यार्थी हुँ । एसी पनि प्रविधि सम्बन्धी उत्पादन हो । आजभन्दा ६ वर्ष अगाडि एसी व्यवसाय शुरू गर्दा १८ घन्टासम्म लोडशेडिङ हुने भएकाले त्यति माग थिएन । त्यसैले त्यो बेला एसीको व्यवसाय शुरू गर्नु परिवार र साथीभाइको नजरमा मुर्ख बन्नु थियो । तर, म केही फरक गर्न चाहन्थे । उमेर पनि कम । आफू परिपक्व नभई सकेकोले प्रतिस्पर्धामा जान नपर्ने खालको पेशा अँगालेको हुँ । मैले यो पेशा तत्कालीन समयलाई नभई ५ वर्ष पछाडिको भविष्य हेरेर शुरू गरेको हुँ । नेपालमा नौलो व्यवसाय सञ्चालन गर्ने रहरका साथ एसी व्यवसायमा हात हालेको हो । नेपालमा पनि गर्मी बढिरहेको थियो । केही वर्षमा लोडशेडिङ पनि हट्ने छ भन्ने अनुमान थियो । यो बिल्कुलै पहिलो पुस्ताको व्यवसाय हो ।
 
अब एसीको व्यवसायको सम्भावना कत्तिको छ ?
 
नेपाली बजारमा एसीको बजार भर्खरै शुरू भएकाले टेस्लालाई स्थापित हुन समय लागेन । बजार कम र माग धेरै भएकाले नै सहजै टेस्ला नेपाली बजारमा स्थापित हुन सक्यो । नेपाल विकासशील र पर्यटकीय राष्ट्र भएकाले यहाँ होटल, कर्पोरेट हाउस, मल्टिनेशनल कम्पनी स्थापना हुन्छन् । ती सबैमा एसी आवश्यक पर्ने भएकाले माग बढिरहेको छ । आजभन्दा ५ वर्षअघि नेपालीका लागि एसी विलासिताको वस्तु थियो । तर, आज अनिवार्य वस्तुमा परिणत भएको छ । अहिले धमाधम पाँच तारे होटल र रिसोर्ट स्थापना भइरहेका छन् । ती सबै होटलहरूले एसी जडान गर्छन् । त्यसकारण पछिल्लो समय नेपालमा एसीको माग बढेको छ ।
 
नेपालमा अन्य कम्पनीको एसी पनि पाइन्छ । व्यापारमा कत्तिको प्रतिस्पर्धा छ ?
 
एसीको व्यापारमा चुनौती पक्कै छ । चुनौती भएको ठाउँमा व्यापार गर्न मजा आउँछ । सहज वातावरणमा त जसले पनि व्यापार गर्छ । माग अत्यधिक बढिरहेको अवस्थामा अन्य कम्पनीको पनि व्यापार फस्टाइरहेको छ । टेस्ला ब्रान्डको एसीमात्र बढी बिक्छ भन्न सकिँदैन । अन्य कम्पनीका पनि एसी बजारमा बिकिरहेका छन् । प्रतिस्पर्धात्मक बजारमा व्यापारका नयाँ तरीका ल्याउनु पर्छ । ग्राहकले टेस्ला नै रोज्न हामी सृजनशील हुनुपर्छ । ग्राहकले टेस्ला किन रोज्ने, त्यसको कारण उनीहरूलाई बताउन सक्नु पर्छ । त्यसरी बजारको विश्वास पनि जित्न सक्नुपर्छ । अहिले टेस्लाले ग्राहकको सेवामा जोड दिइरहेको छ । अन्य कम्पनीले ५ वर्षको वारेन्टी दिईरहँदा हामीले १० वर्षे वारेन्टीको कुरा जोडिरहेका छौं । नेपाली ग्राहकले टेस्ला ब्रान्ड रोज्ने  आधारहरू यिनै हुन् । टेस्ला अन्य ब्रान्डभन्दा भिन्न रूपमा बजार खोजिरहेको छ ।
 
चितवनबाट व्यवसाय शुरू गरेर देशभर विस्तार गर्नु भएको छ । टेस्ला ब्रान्डलाई स्थापित गराउन कत्तिको सहज भयो ?
 
भूलक्ष्मी ग्रुपअन्तर्गत ट्रेडमार्क दर्ता गरेको टेस्ला एसी करीब ३ वर्ष अगाडि आधिकारिक रूपमा नेपाली बजारमा छिरेको हो । यसलाई स्थापित गराउन शुरूका दिनमा केही कठिन भए पनि नेपाली बजारमा एसीको व्यापार भर्जिन अवस्थामा रहेकाले खासै हम्मे परेन । स्थापना भएको शुरूका दिनमा सम्पूर्ण टोली टेस्लाको मार्के्टिङमा देश दौडाहा र्गयौं । टेस्ला बजारमा आउनुभन्दा अगाडि नै बजारमा अन्य ब्रान्डका एसीहरू आइसकेका थिए । उनीहरूसँग प्रतिस्पर्धा गर्न थोरै मेहनेत त गर्नु परेकै हो । अहिले टेस्लाका डिलरहरू देशभर गरी २२ ओटा पुगेका छन् ।
 
टेस्ला ब्रान्डको कुनै नयाँ उत्पादन बजारमा सार्वजनिक गर्दै हुनुहुन्छ ?
 
हामी यही बैशाख तेस्रो सातामा टेस्ला इन्भर्टर नामक वाल माउन्ट एसी सार्वजनिक गर्दैछौं, जुन नेपाली बजारमा बिल्कुलै नयाँ उत्पादन हुनेछ । उक्त उत्पादन एकदमै थोरै भोल्टेजमा पनि सहजै चल्ने क्षमता राख्छ । यस्तै वाल माउन्टले अन्य एसीको तुलनामा ६० प्रतिशतसम्म विद्युत् बचत गर्छ । हामीले वाल माउन्ट खासगरी काठमाडौंभन्दा बाहिरका ग्राहकलाई लक्षित गर्दै ल्याएका हौं । काठमाडौंमा बाहेक नेपालका सबै स्थानमा एकदमै कम भोल्टेज हुने र एकै छिनमा चाहिनेभन्दा बढी भोल्टेज पनि आउने भएकाले त्यस्तो वातावरणमा पनि वाल माउन्टले काम गर्न सक्छ । यसको मतलब काठमाडौंमा वाल माउन्टले काम गर्दैन भन्ने हैन । कम्पनीले वाल माउन्ट १० वर्ष वारेन्टीका साथ सार्वजनिक गर्दै छ ।
 
 
वाल माउन्टको मूल्य रू. ६५ हजारदेखि शुरू हुनेछ । यस्तै जेठको दोस्रो सातामा भीआरएफ इन्भर्टर एसी सार्वजनिक गर्ने योजना बनाएका छौं । ठूला व्यापारिक मल, पाँच तारे होटल, हस्पिटल र ठूला कर्पोरेट हाउस लक्षित गरेर भीआरएफ सार्वजनिक गर्न लागिएको हो । इन्भर्टर भन्नाले इन्भर्टरबाट चल्ने नभई पछिल्लो समय एसीमा आएको उत्कृष्ट प्रविधि हो, जसले थोरै विद्युत् खपत गर्छ । यस्तै अबको केही महीनामा टेस्लाले आनै एप्लिकेशन सार्वजनिक गर्नेछ, जसबाट ग्राहकहरूले कम्पनीको ब्रान्ड र सेवामा आएको समस्याबारे जानकारी दिन सक्छन् ।

आगामी दिनमा टेस्ला कम्पनीलाई अगाडि बढाउने कार्ययोजना कस्तो बनाउनु भएको छ ?
 
भूलक्ष्मी ग्रुप दुईरचार वर्ष सञ्चालन गरिने होइन । यो ग्रुप दीर्घकालीन व्यावसायिक सोच लिएर नेपाली बजारमा स्थापना भएको हो । पहिलो पुस्ताको रूपमा शुरू गरिएको कम्पनी भविष्यमा अर्को पुस्तालाई हस्तान्तरण गरिँदै जानेछ । ग्रुप अन्तर्गतको टेस्लाले उत्पादित सबै प्रकारका एसीका उत्पादनलाई नेपाली बजारमा सार्वजनिक तथा बिक्री वितरण गर्दै आएको छ । टेस्लाले भविष्यमा सम्पूर्ण इलेक्ट्रोनिक उत्पादन विक्री वितरण गर्ने योजना बनाएको छ । चितवनको रामपुरमा एसीको एसेम्बल गर्ने एउटा फ्याक्ट्री स्थापना गर्ने लक्ष्य लिएका छौं । त्यसका लागि जग्गा तयारी अवस्थमा रहे पनि क्रिकेट रंगशाला निर्माण भइरहेकाले स्थानीय सरकारको योजना पर्खिरहेका छौं । स्थानीय सरकारले टुरिजम शहर निर्माण गर्ने योजना अगाडि र्सायो भने चितवनमा टेस्लाको कारखाना स्थापना हुने छैन । त्यसैले पर्ख र हेरको स्थितिमा छौं । स्थानीय सरकारले उद्योग स्थापना गर्न दिने भन्यो भने अबको केही वर्षमा नेपालमै टेस्ला ब्रान्डका विद्युतीय सामग्री एसेम्बल गरिन्छ । हामीले वैज्ञानिक निकोला टेस्लाको नामबाट नेपालमै यो ब्रान्डको ट्रेडमार्क दर्ता गरेका हौं ।

आगामी दिनमा कम्पनीले कति लगानी थप गर्दै छ ?
 
भूलक्ष्मी ग्रुप एकल लगानीमा स्थापना गरिएको हो । यसमा हालसम्म अरू कसैको लगानी छैन । तर, आगामी दिनमा अरू लगानीकर्तालाई पनि भूलक्ष्मीको टेस्लासँग जोड्ने योजनामा कम्पनी रहेको छ । नेपालमा एसीको माग ह्वात्तै बढिरहेकोले थोरै पूँजीबाट माग धान्न सकिँदैन । टेस्लालाई कर्पोरेट कल्चरमा लगिसकेका छौं । कम्पनीले करिब एक वर्ष अगाडि आईएसओ (९००१–२०१५) सर्टिफिकेट पाइसकेको छ । कम्पनीले अबको पाँच वर्षसम्म टेस्ला ब्रान्ड नेपालको हो भनेर विश्वभर चिनाउने कोसिस गर्नेछ । भारत र चीनजस्ता एसीका ठूला बजार भएका देशमा यसलाई विस्तार गर्ने योजना कम्पनीको छ । आगामी दिनमा चीनमा उत्पादन गरेर भारत र दुबई पठाउने गरी योजनाका साथ कम्पनीले काम गरिरहेको छ । 
साभार : आर्थिक अभियान

प्रतिक्रिया