ब्याट्रीको परिचय
- प्रकाशित मिति : Sat-15-Feb-2076
- - भीमलाल श्रेष्ठ
रासायनिक शक्तिलाई विद्युतीय शक्तिमा परिवर्तन गरी विद्युतिय ऊर्जा संचय गर्न सक्ने उपकरणलाई ब्याट्री भनिन्छ । घरेलू सौर्य विद्युत प्रणालीमा साधारणतया लिड–एसिड (Lead-Acid) टाइपको ब्याट्री प्रयोग गरिन्छ । ब्याट्रीको डिब्बा (Container)भित्र पोजिटीभ प्लेट, नेगेटीभ प्लेट, सेपरेटर र गन्धकको तेजाबको (sulphuric Acid ) हल्का घोल अर्थात ईलेक्ट्रोलाईट (Electrolyte) रहन्छ । ब्याट्री बाहिर पोजिटीभ टर्मिनल (positive Terminal) नेगेटीभ टमिनल (Negative Terminal) र भेन्ट प्लगहरु (Vent Terminal) रहन्छन् ।
ब्याट्रीमा दिउँसो भरी सोलार प्यानलबाट उत्पादन भएको करेन्ट वा विद्युतिय शक्ति जम्मा हुन्छ । ब्याट्रीमा शक्ति जम्मा गर्ने प्रक्रियालाई ब्याट्रीको चार्जिङ (charging) भनिन्छ ।
बेलुकीपख ब्याट्रीमा जम्मा भएको शक्ति बत्ति बाल्न, रेडियो सुन्न वा टेलिभिजन हेर्न प्रयोग गर्न सकिन्छ । जति ऊर्जा (Energy) सोलार प्यानेलले दिनभरिमा दिन्छ त्यो भन्दा बढी सामान्यतः खपत गर्नु हुदैँन । आफुमा संचित भएको शक्ति दिने प्रक्रियालाई ब्याट्रकिो डिस्चार्जिङ (Dischargiong) भनिन्छ ।
साधारणतया, ब्याट्रीहरुमा जम्मा भएको शक्तिको २० प्रतिशत भन्दा बढी शक्ति खपत गर्नु हुदैन । यदि यो प्रतिशत धेरै भयो ब्याट्रीको आयु पनि घट्दै जान्छ । यदि २० प्रतिशत जति मात्र प्रत्येक दिन खर्च गर्ने र त्यति नै वा त्यो भन्दा अलि बढी जम्मा गर्ने हो भने साधारणतया ब्याट्री पनि ५–६ वर्ष राम्रोसित काम गर्न सक्छ । संचित क्षमता धेरै प्रतिशत (८० प्रतिशत) प्रयोग गर्न सकिने ब्याट्रीलाई डिपसाईकल ब्याट्री (Deep-cycle Battry) भनिन्छ । २० प्रतिशत मात्र शक्ति खपत गरेमा यी ब्याट्रीहरु १० बर्षसम्म पनि टिकाउ हुन्छन् भनी ब्याट्री उत्पादकहरु दावी गर्दछन् । तरपनि साधारण तया संचित क्षमताको ३५ प्रतिशत भन्दा बढि ऊर्जा खपत गर्न मनसिक हुँदैन । कुनै कुनै किसिमको ब्याट्रीहरु जसलाई मेन्टेनेन्स फ्री ब्याट्री (Maintrnance Free Battry) भनिन्छ, त्यसमा पानी थपी राख्नु पर्दैन । त्यस्ता ब्याट्रीहरुमा पानी हाल्ने बिर्कोहरु पनि हुदैनन् ।
ब्याट्रीमा तेजाब पानी हाली सकेपछि धेरै अवधिका लागि त्यत्तिकै छोडी राख्नु हुँदैन । यसरी छोडिराखेमा ब्याट्री विस्तारै आफै डिस्र्चाज (self-Dicharge) भएर बिग्रन सक्छ । एक महिना भन्दा बढी समय राख्नु परेमा प्रत्येक महिनाको एक पटक ब्याट्री चार्ज गर्नु पर्दछ । कुनै पनि वस्तुको निश्चित आयु हुन्छ । त्यस्तै ब्याट्रीको पनि एक निश्चित आयु हुन्छ । ब्याट्रीको आयु सिध्द्धिन
थालेपछि एकदमै चाँडै चार्ज हुने र बत्ती बालेको केही छिन मै डिस्चार्ज भएर बत्तिहरु निभ्ने हुन थाल्दछ । यस्तो अवस्थामा नयाँ ब्याट्री फेर्नु पर्ने हुन्छ । ब्याट्रीहरुको उपयोग सकिएपछि पनि पुराना ब्याट्रीहरु (Recycling) (पुनः प्रयोग÷उत्पादन) हुनसक्छन् । तसर्थ पुराना ब्याट्रीलाई तेजाब नपोखाई राख्नु पर्दछ । सम्बन्धित संकलनकर्तासंग सम्पर्क राखी त्यस्ता ब्याट्रीहरु बेच्न वातावरणीय दृष्टिकोणले उचित एव आर्थिकरुपले लाभदायक पनि हुन्छ ।
ब्याट्रीको क्षमता
एउटा निश्चित दर (Rate)मा अर्थात एम्पिएर (Ampere) मा एउटा निश्चित समय अवधि भित्र कुनै एक चार्ज भएको ब्याट्रीले दिन सक्ने एउटा निश्चित विद्युत परिमाणलाई ब्याट्रीको क्षमता (Capacity) या (Battery) भनिन्छ । यसलाई ऐम्पिएर आवरमा (Ampere-Hour) मा नापिन्छ । उदाहरणको लागि १०० Ampere-Hors क्षमता भएको ब्याट्रीले १ AMP करेन्ट १०० घण्टासम्म वा १० Amp करेन्ट १० घण्टा सम्म दिन सक्छ । ब्याट्री चार्ज हुनलाई ब्याट्रीको पुर्ण क्षमता खाली वा पूर्ण क्षमतामा कमी भएको हुनुपर्दछ । उदाहरणको लागि ७० Amp-hr को ब्याट्री पुरै चार्ज (Full Charge) छ भने यसको थप शक्ति जम्मा गर्न सक्तैन । तर त्यही ब्याट्री अघिल्लो राति प्रयोग भईसकेको छ । र त्यसमा ५० Amp-hr मात्रै शक्ति बाँकी छ भने त्यस्तो ब्याट्रीलाई चार्ज गरेर पुनः ७०Amp-hr मा ल्याउन सकिन्छ । ब्याट्रीको भौतिक निरीक्षण ब्याट्रीको भौतिक निरीक्षण गर्दा त्यसमा लागेको धुलो सफा सुकेको कपडाले पुछ्नु पर्दछ । करिब ३–३ महिनामा पानी लेभल हेरी आवश्यक भएमा (अर्थात माथिल्लो लेभलभन्दा तल भएमा वा तल्लोलेभलसम्म पुगेमा ) सबै बिर्कोहरु खोली प्रत्येक प्वालमा ब्याट्रीवाटर (Battry Water) अर्थात डिस्ट्रील वाटर(Distil Water) वा डिआयोनाइज्ड वाटर (De-ioninized water) थपी माथिल्लो लेभलसम्म पु¥याउनु पर्दछ । त्यसपछि सबै बिर्कोहरु राम्ररी कसिदिनु पर्दछ । यसरी ब्याट्रीमा पानी थप्दा नपोखिने गरी हाल्दै, त्यसको तह कहाँसम्म पुग्यो हेर्दै जानु पर्दछ । क्रैक भएमा वा इलेक्ट्रोलाईट चुहिने सम्भावना भएमा नयाँ ब्याट्री राखी काम लिनु पर्दछ ।
ब्याट्रीको भोल्टेज नाप्ने तरिका
साधारणतया चार्ज नभएको बेला वा ब्याट्रीलाई कतै पनि नजोडेको बेला, ब्याट्रीको भोल्टेज ल१२.६ जति छ भने ब्याट्रीमा ९० प्रतिशत भन्दा बढी ऊर्जा संचित भएको हुन्छ । ब्याट्रीको भोल्टेज ११.५ भन्दा कम भएमा संंचित ऊर्जा ५० प्रतिशत भन्दा कम हुन्छ । त्यसकारण ब्याट्रीको भोल्टेज ११.५ भन्दा कम भयो भने ब्याट्री बिग्रने सम्भावना धेरै हुन्छ । यदि ब्याट्रीको भोल्टेज ११.० भन्दा कम छ भने ब्याट्री विग्रिसकेको भनि ठान्नु पर्दछ । माथि उल्लेखित संख्याहरु अन्दाजी हिसाव मात्रै हुन् । ब्याट्रीको भोल्टेज नापेर संचित ऊर्जा यतिनै छ भनेर ठोकुवा गरेर भन्न सकिदैन । ब्याट्रीको भोल्टेज नाप्न एनालग मल्टीमिटरलाई डि.सी ५० भोल्टको रेञ्जमा राख्ने र माथि वर्णन गरेअनुसार मल्टीमिटरको रातो पोजिटिभ प्रोबलाई ब्याट्रीको पोजिटिभ टर्मिनलमा र कालो नेगेटिभ प्रोबलाई ब्याट्रीको नेगेटिभ टर्मिनलमा जोडी ब्याट्रीको भोल्टेज नाप्नु पर्दछ । डिजिटल मल्टीमिटरले भोल्टेज नाप्दा एनालग मल्टीमिटरले जस्तै गर्नुपर्दछ । तर यस अवस्थामा नापिएको मान (Measured Value) सोझै अंकमा देखिन्छ ।