भर्खरै

गणतन्त्र नागरिकको जीवनपद्धतिका रुपमा स्थापित हुनुपर्ने’

  • प्रकाशित मिति : Sat-15-Feb-2076
  • - Admin
title

प्रदेश नं ५ प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्र शासन प्रणालीका रुपमा मात्र नभई नागरिकको जीवनपद्धतिका रुपमा स्थापित र संस्थागत हुनुपर्ने बताउनुभएको छ । 
 
उहाँले नेपाली समाजमा जनताका बीचमा रहेको गरीबी, अशिक्षा, पछौटेपन, विभेद र असमानतालाई निर्मूल गरेर गणतन्त्रलाई नेपाली समाजको जीवनपद्धतिका रुपमा स्थापित गर्नु आवश्यक रहेको बताउनुभयो । 
 
गणतन्त्र स्थापना दिनका अवसरमा आज प्रदेश सरकारद्वारा आयोजित मूल समारोहलाई सम्बोधन गर्नुहँुदै उहाँले सबैले आ–आफ्नो जीवन पद्धतिलाई बदल्न नसक्दासम्म राष्ट्रलाई समृद्ध बनाउन र जनताको जीवनस्तरमा खुशियाली ल्याउन नसके गणतन्त्रले सार्थकता नपाउने उल्लेख गर्नुभयो । 
 
उहाँले नेपालको संविधान राजनीतिक परिवर्तनका लागि सबैभन्दा उदार रहेकाले अब हिंसाको माध्यमबाट राजनीतिमा आफूलाई स्थापित गर्न खोज्ने प्रवृत्ति जनताका लागि अस्वीकार्य हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “अहिले पनि हिंसालाई राजनीतिको अस्त्रका रुपमा प्रयोग गर्ने मान्यता राजनीतिक हुनै सक्दैन, यो जनताका बीचमा त्रास सिर्जना गरेर पैसा असुल गर्ने माध्यमका रुपमा मात्र रहने छ ।”
 
उहाँले निरासाको कुरा गर्नेबाट राष्ट्रको समृद्धिको अपेक्षा गर्न नसकिने बताउनुभयो । उहाँले नेपाल उच्च आर्थिक वृद्धिदरको बाटोमा प्रवेश गरिसकेकाले मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउन सबैले आशाको सन्देश सम्प्रेशण गर्नुपर्नेमा जोड दिनुभयो । 
 
कार्यक्रमस्थलमा प्रदेशका प्रदेश प्रमुख उमाकान्त झालाई मुख्यमन्त्री पोखरेल, प्रदेशसभाका सभामुख पुर्णबहादुर घर्ती, प्रदेशका मन्त्रीहरु, उच्च पदस्थ अधिकारीले स्वागत गर्नुभएको थियो । कार्यक्रम परिसरमा प्रदेश प्रमुखझालाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टुकडीले सलामी अर्पण गरेको थियो । कार्यक्रम अघि बुटवलमा विभिन्न समुदाय, जातजाति र वेषभूषाका कला संस्कृतिसहितका झाकी प्रस्तुत गरिएको थियो । रासस

प्रतिक्रिया