भर्खरै

गुणस्तयुक्त सामग्री प्रयोग गर्न इलेक्ट्रिसियनहरुलाई प्रोत्साहन गर्नुपर्दछ

  • प्रकाशित मिति : Sat-15-Feb-2076
  • - प्रेमनिधि कँडेल (भारद्धाज) संस्थापक अध्यक्ष,नेपाल इलेक्ट्रिसियन संघ
title

इलेक्ट्रिसियनहरुको हकहित तथा इलेक्ट्रिसियनहरुको पहिचानका लागि लामो समय देखि संंर्घष गर्दै आउनु भएका नेपाल इलेक्ट्रिसियन संघका संस्थापक अध्यक्ष प्रेमनीधि कँडेल (भारद्धाज ) सँग हाल इलेक्ट्रिसियनहरुको अवस्था, संघले इलेक्ट्रिसियनहरुलाई पु¥याएको सहयोग, संघले गर्दै आएका कार्य, सरकारले इलेक्ट्रिसियनहरुका लागि गरेका कार्य लगायतका विषयमा विद्युत संसार साप्ताहिकका भीमलाल श्रेष्ठले गरेको कुराकानीको सम्पादित अंश ः 
 
 
नेपाल इलेक्ट्रिसियन संघको संस्थापक अध्यक्ष हुनुहुन्छ, संघको स्थापना कसरी भयो ? यसको बारेमा बताईदिनुहोस् न । 

वि.स २०६४ सालमा नेपाल इलेक्ट्रिसियन संघको स्थापना भएको हो । विद्युत जस्तो सम्वेदनशील क्षेत्रमा काम गर्ने  इलेक्ट्रिसियनहरुको श्रमको  उचित मूल्याङ्कन नभएसँगै हामी केही इलेक्ट्रिसियनहरुको सक्रियतामा संघको स्थापना गरेका हौ । नितान्त इलेक्ट्रिसियनहरुको हकहितका लागि  स्थापना भएको यस संघले इलेक्ट्रिसियन पेशामा हुने विभिन्न खालका समस्याहरुको समाधान गर्दै इलेक्ट्रिसियन पेशालाई मर्यादित बनाउन सीप विकास तथा प्रशिक्षण कार्यक्रम  सञ्चालन गर्दै आएका छौ । सरकार तथा जनस्तरमा  इलेक्ट्रिसियन पेशा प्रतिष्ठित पेशाका रुपमा स्थापित हुन नसकेको अवस्थामा यसलाई प्रतिष्ठित पेशाका रुपमा चिनाउन संघको स्थापना भएको हो । कुनै पनि राजनीतिक संगठनको प्रभावबाट टाढा रहेको यो संघ नितान्त इलेक्ट्रिसियनहरुको हितका लागि स्थापना भएको हो । 
 
संघको स्थापना गर्न कत्तिको सहज थियो ?

त्यो समयमा संघको स्थापना गर्न हामीलाई निकै नै असहज भएको थियो । जिल्ला प्रशासन कार्यलयमा गएर संघ दर्ता गराउने प्रक्रिया झन्झटिलो रहेको थियो भने संघको स्थापनाका क्रममा कतिपय इलेक्ट्रिसियन साथीहरुलाई इलेक्ट्रिसियन संघको महत्व बुझाउन निकै नै कठिन भएको थियो । यद्यपि  संस्थापक सदस्यहरुको सक्रियातामा अघि बढेको यस संघको  महत्व अहिले भने इलेक्ट्रिसियनहरुले बुझ्दै गएका छन् । इलेक्ट्रिसियनहरुको महत्व आममानिसलाई बुझाउन संघ क्रियशील रुपमा लागि परिरहेको छ । संघको स्थापनाका समयमा मुकेश केसी, भीमलाल श्रेष्ठ लगायतको भूमिका निकै नै महत्वपूर्ण रहेको थियो । स्थापनाका सुरुवाती चरणमा जति अप्ठ्यारा र असहज स्थितिहरु थिए ती सबै अहिले सहज हुँदै गएका छन् । स्थापनाको समय देखि नै हामीले इलेक्ट्रिसियनका हितका लागि विभिन्न माग राख्दै आएका थियौ । ती मागहरु केही हद सम्म पुरा भएका छन् भने कति समय अनुसार परिमार्जित हुँदै गएका छन् ।  इलेक्ट्रिसियनहरु बीच प्रतिस्पर्धा  बढ्दै गएको र न्यून शुल्कमा काम गर्नुपर्ने तथा पेशाबाट नै पलयान हुनुपर्ने सम्मको अवस्था रहेको बेला संघको स्थापना भए पश्चात हामीले इलेक्ट्रिसियनहरु निश्चित  पारिश्रमिक  निर्धारण गरी दररेट प्रकाशन गर्यौ ।  त्यस्तै इलेक्ट्रिसियनहरुका लागि अनुमति पत्र र भवन निर्माण गर्दा इलेक्ट्रिक  नक्शाङकन अनिवार्य हुनुपर्ने हामीले माग गर्दै आएका छौ । 
 
काठमाण्डौमा त्यस समयमा इलेक्ट्रिसियनहरुको अवस्था र अहिले इलेक्ट्रिसियनहरुको अवस्थामा कत्तिको अन्तर पाउनुहुन्छ ?

संघको स्थापनाको समयमा र अहिलेको इलेक्ट्रिसियनहरुको अवस्थामा केही परिवर्तन भएको छ । पछिल्लो समय संघमा आवद्ध कार्यकारी समितिको निरन्तर प्रयासले नेपाल विद्युत प्राधिकरण, नेपाल गुणस्तर तथा नापतौल विभाग, विद्युत व्यवसायी संघहरुले इलेक्ट्रिसियनहरुलाई चासो दिदै गएका छन् । हाम्रो क्षेत्रमा भएका समस्या, मागकाविषयमा राय सुझाव संकलनमा सरकारी निकायले चासो देखाएको छ ।  त्यस्तै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले पनि  संघसँग सहकार्य गरी विभिन्न तालिमहरु प्रदान गर्दै आएको छ ।  इलेक्ट्रिसियनहरुलाई  आफ्नो पेशाको दक्षताका आधारमा सीप परीक्षण गरी प्रमाण पत्र प्राप्त गर्नका लागि संघले सिटिइभिटीसँग सहकार्य गर्दै आएको छ ।  त्यस्तै काम गर्ने क्रममा इलेक्ट्रिसियन माथि हुने अन्याय तथा र्दुव्यवहार  लाई निरुत्साहित गराउनका लागि हामी केही हद सम्म सफल भएका छौ । तथापि यस्ता घटनाहरु संघमा आईरहेका हुन्छन् र यसका समाधानका लागि हामी निरन्तर लागि पर्दै आएका छौ । त्यस्तै संघलाई गैर राजनीतिमुलक बनाउने हाम्रो उद्धेश्य पनि सफल भएको छ । नितान्त स्वतन्त्र र पेशागत साथीहरुको साझा संगठनका रुपमा सबैले विश्वास गर्न सक्ने  संघका रुपमा स्थापित हुन सफल भएको छ । 
 
इलेक्ट्रिसियन पेशालाई व्यवस्थित र मर्यादित बनाउन सरकार तथा स्थानीय निकायले के गर्नुपर्ला ?

हामीले इलेक्ट्रिसियनहरुका हक हितका लागि सरकार तथा सम्बन्धित निकायमा पहल गर्दै आएका छौ । तर नेपाल सरकार तथा सम्बन्धित निकायले यसलाई दिनुपर्ने महत्व भने दिएको हामीले पाएका छैनौ । निर्माण क्षेत्रका काम मध्ये सबै भन्दा जोखिमपूर्ण र राष्ट्रिय अर्थतन्त्रमा समेत प्रत्यक्ष भूमिका रहने इलेक्ट्रिक क्षेत्रमा सरकारले महत्व दिएको अनुभव भएको छैन ।  जलविद्युतमा धनी मुलुकका रुपमा स्थापित भइसकेको नेपालमा यस क्षेत्रमा काम गर्ने काउन्सिल  सरकारले गठन गर्नुपर्दछ । त्यस्तै सम्बन्धित निकायले यसलाई सचेत ढंगबाट अघि बढाउनु पर्दछ । अहिले स्थानीय सरकार आएपछि हामी केही आशावादी भएका छौ । स्थानीय सरकारले पनि यसलाई प्राथमिकता दिनुपर्छ जस्तो मलाई लाग्छ । 
 
इलेक्ट्रिसियनहरु आफ्नो पेशाप्रति इमान्दार छैनन् भन्ने सुनिन्छ नि के यो सत्य हो ?

अहिलेको यो खुला तथा प्रतिस्पर्धी बजारमा हरेक कार्य गर्नेवर्ग तथा समुहमा विभिन्न कमी कमजोरी हुन्छन् । त्यस्तै इलेक्ट्रिसियन पेशामा संलग्न सबै इलेक्ट्रिसियनहरु इमानदार नै हुन्छन् भन्ने छैन ।  एक जना इलेक्ट्रिसियनको कमजोरीका कारण सम्पूर्ण इलेक्ट्रिसियन तथा संघलाई नै आरोप लगाउने काम भईरहेको छ यो हाम्रो लागि दुराग्रह हो, अन्याय हो ।  यस्तो नगर्न संघले पटक पटक आग्रह गर्दै आएको छ । यद्यपि हाम्रो संघमा आवद्ध इलेक्ट्रिसियनहरुले कहि कतै कमीकमजोरी तथा बेइमानीपूर्वक काम गरेको छ भने इलेक्ट्रिसियनलाई नै हामीले कारर्वाही समेत गर्दै आएका छौ । त्यस्तै इलेक्ट्रिसियनहरु अन्यायमा परेका छन् भने हामीले न्याय पनि दिलाउँदै आएका छौ । यस सम्बन्धमा स्थानीय सरकार संघीय सरकार ,नेपाल सरकार ,सम्बन्धित निकायहरु  र नेपाल विद्युत प्राधिकरण सबै सचेत भए सम्बन्धित क्षेत्रको रुपान्तरणमा सहयोग पुग्ने थियो । 
 
गुणस्तरीय  विद्युतीय सामग्रीहरुको प्रयोगका सम्बन्धमा इलेक्ट्रिसियनहरुको भूमिका कस्तो रहन्छ ?

गुणस्तरीय  विद्युतीय सामग्रीहरुको प्रयोगका सम्बन्धमा इलेक्ट्रिसियनहरुको भूमिका महत्वपूर्ण हुन्छ । विद्युतीय सामग्रीहरु उपभोक्ता सम्म पुग्ने माध्यम पुलको काम इलेक्ट्रिसियनहरुनै  हो । तर बजारमा सामग्री आउँदा असहज अवस्था आउँछ । नागरिक हक संरक्षण, उपभोक्ता हक संरक्षण मञ्च बनेका छन् तर विद्युतीय सामग्रीहरुको उपभोगका सन्र्दभमा यी मञ्चहरुले खासै काम गरेका छैनन् । 
मानिसको जीवन र मृत्युसँग प्रत्यक्ष सम्बन्ध राख्ने विद्युतीय सामग्रीहरुको गुणस्तरका सम्बन्धमा नेपाल गुणस्तर तथा नापतौल विभाग अझ सचेत तथा बलियो हुन जरुरी छ । काम गर्ने क्रममा यदि गुणस्तरयुक्त सामग्री प्रयोग गर्न लगाइएको छैन र कमसल तथा गलत सामग्री प्रयोग गर्न लगाइएको छ भने त्यसमा इलेक्ट्रिसियनलाई जिम्मेवार बनाउन सम्बन्धित निकायले बाध्य बनाउन आवश्यक छ । त्यस्तै इलेक्ट्रिसियनहरुलाई गुणस्तरीय सामग्री प्रयोगका लागि प्रोत्साहन गर्नुपर्दछ भने सम्बन्धित निकायले गुणस्तरयुक्त विद्युतीय सामग्री बजारमा आएको छ छैन तथा निर्माणाधिन भवनमा गुणस्तरयुक्त सामग्री प्रयोग भएको छ छैन सो विषयमा सम्बन्धित निकायले अनुगमन गर्न जरुरी छ । 
 
संघको स्थापनाका समयमा इलेक्ट्रिसियनहरुको दक्षता तथा तालिमका लागि कस्ता कार्य भएका थिए ?

संघको स्थापनाका समयमा इलेक्ट्रिसियनहरुको सीप परीक्षण गर्ने प्रचलनको प्रारम्भ भइसकेको थियो । तर त्यसको कार्यान्वयन प्रक्रिया भने अहिलेको जस्तो थिएन । इलेक्ट्रिसियनहरुले अहिलेको जस्तो बजार पाएका थिएनन् । धेरै जसो इलेक्ट्रिसियन
हरुलाई सीप परीक्षणका बारेमा जानकारी समेत थिएन । इलेक्ट्रिसियनहरुलाई हामी यो विधाका हौ, हामीलाई यस्ता अवसरहरु छन् भन्ने समेतको ज्ञान थिएन ।  संघ स्थापना भए पश्चात अहिले संघमा आवद्ध  भएका तथा नभएका  इलेक्ट्रिसियनहरुलाई सीप परीक्षणको अवसर प्रदान गर्दै आएको छ । 
 
आगामी दिनमा संघले कस्ता कार्ययोजनाहरु ल्याउनु पर्ला ?

इलेक्ट्रिसियनहरु लाई  प्रमाणपत्रधारी इलेक्ट्रिसियन बनाउन संघले नेपाल सरकारसँग जुन किसिमकको पहल गर्दै आएको छ त्यसलाई संघले छिट्नै पुरा गर्नु पर्दछ भने इलेक्ट्रिसियनहरुको सीप अभिवृद्धि गर्नका लागि नेपाल सरकारसँग समन्वय गरी समय समयमा सीप अभिवृद्धि तालिमहरु सञ्चालनमा ल्याउनुपर्दछ । त्यस्तै इलेक्ट्रिसियनहरु अझै पनि अपमानित हुने गरेका छन् , यस्ता घटनाहरुको अन्त्यका लागि  तथा  आत्मसम्मान र कार्य प्रति सम्मान भाव जगाउनका लागि  संघले विभिन्न सरकारी निकायहरु सँग समन्वय गर्न जरुरी छ ।  त्यस्तै  इलेक्ट्रिसियनहरु वैदेशिक रोजगारका लागि विदेशीने क्रममा मेनपावर कम्पनीहरुले नक्कली सर्टिफिकेट बनाइदिने र अन्र्तराष्ट्रिय बजारमा नेपालको नै बदनाम हुने गरेको छ  । यस प्रति संघको ध्यान जान आवश्यक छ । काम गर्ने क्रममा  इलेक्ट्रिसियनहरु लाई गुणस्तयुक्त सामग्री प्रयोग गर्न संघले प्रोत्साहन  गर्नुपर्दछ ।
 
अन्त्यमा यस पत्रिका मार्फत के भन्न चाहनुहुन्छ ?

इलेक्ट्रिसियन पेशा लाई मर्यादित बनाउन, श्रमको उचित मूल्याङकनका लागि नेपाल सरकार र सम्बन्धित निकायले ध्यान दिनुपर्छ ।  इलेक्ट्रिसियनहरु पनि आफ्नो पेशामा समर्पित भई लाग्न,  काम गर्ने क्रममा गुणस्तरयुक्त सामग्री प्रयोग गर्न आग्रह गर्दछु ।

प्रतिक्रिया