रोल्पाको ३३.११ केभी कोइलाचौर सबस्टेसन सञ्चालनमा
- प्रकाशित मिति : Sat-22-Feb-2076
- - Admin

रोल्पा, जेठ । रोल्पाको कोइलाचौरमा अवस्थित ३३.११ केभी कोइलाचौर सबस्टेसन सञ्चालनमा आएको छ । विद्युत आपूर्तिलाई गुणस्तरीय बनाउन निर्माण गरिएको कोइलाचौर सबस्टेसन सञ्चालनमा आएसँगै रोल्पा र सल्यानमा विद्युत आपूर्ति सहज हुने भएको छ । सबस्टेसनबाट ११ केभी का तीनवटा फिडरमार्फत रोल्पाको त्रिवेणी गाउँपालिका, कोइलाचौर जुँगार, सिम्पानी, पाखापानी, जिनाबाङ, बुढागाउँ र सल्यानको उत्तर–पूर्वी भेगमा विद्युत आपूर्ति हुने हो । कर्णाली प्रदेश र प्रदेश नं. ५ को सीमामा पर्ने कोइलाचौर सबस्टेसनबाट करिब ३० हजार जनता लाभान्वित हुने नेपाल विद्युत् प्राधिकरण नेपालगन्जले जनाएको छ । दाङको तुलसीपुरबाट करिब २० किलोमिटर ३३ केभी प्रसारण लाइनबाट कोइलाचौर सबस्टेसन विद्युत आपूर्ति गरिएको छ । सबस्टेसन निर्माणका लागि प्राधिकरण र इस्टइन्डिबा इन्फ्राटेक जेभीबीच आव ०७१÷७२ मा ठेक्का सम्झौता भएको थियो । कुल लागत ९ करोड ३८ लाख रुपैयाँमा निर्माण ठेक्का पाएको कम्पनीले ०७२ असारबाट काम थालेको थियो ।